ताजा अपडेट »

झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

आइतबार, ०६ भदौ २०७८, १५ : १३
8 Shares

झापा । इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको मुहानमा उक्त झरना छ । झरनामा नुहाउन र रमाइलो गर्न झापा र इलामबाट दिनहुँ सयौँ आन्तरिक पर्यटक ओइरिन थालेका छन् । यसबाट पिउने पानी धमिलिएको उपभोक्ताको आरोप छ ।

पानीको मुहानमा आन्तरिक पर्यटक रमाउने नाममा फोहरमैला गरिदिँदा उपभोक्ता दूषित पानी पिउन बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताए । उनले मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी आयोजनाको मुहान भनेकै त्यही झरना हो । मुहान दूषित हुँदा तीन हजार उपभोक्ता शुद्ध पिउने पानीबाट बञ्चित हुने अध्यक्ष अधिकारीको भनाइ छ । उनले फोहरमैला नहुने गरी तत्काल सो स्थानमा आउने आन्तरिक पर्यटकलाई व्यवस्थित गर्न नगरपालिकासँँग माग गरेका छन् ।

वडा नं १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ खानेपानी आयोजना सञ्चालित छन् । नन्दा खानेपानी समितिका अध्यक्ष इन्द्र ढकालले पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा खानेपानीको विकराल समस्या पैदा हुने बताए । स्थानीयवासीले मुहान धमिलिएको भन्दै झरनामा भीड रोक्न माग गरेपछि मेचीनगरका नगर प्रमुख विमल आचार्यले सो क्षेत्रको अनुगमन गरे । पर्यटन क्षेत्रको विकाससँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा आचार्यले स्थानीय सरकार सक्रियरुपमा लाग्ने जानकारी दिए ।

पहिलो प्राथमिकता खानेपानी भएको भन्दै उनले मुहान सफा राख्न सोही स्थानमा डस्वीन राखेर पर्यटकलाई सूचित गरिने विकल्पका बारेमा पनि सोचिरहेको बताए । पर्यटकीय क्षेत्रका रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगी झरनाको उचित व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरिने उनको भनाइ छ ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।