ताजा अपडेट »

लगातारको वर्षाले ३४ घर पहिराको जोखिममा

आइतबार, ०६ भदौ २०७८, १३ : १३
6 Shares

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए ।

पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गर्नुभयो । वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए । यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । उनले भूर्गवविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए ।

१७ परिवारलाई राहत वितरण

पहिराले प्रभावित मेलम्ची–६ नेपाने बगरटोलका १७ परिवारलाई राहत वितरण गरिएको छ । स्थानीयवासी भीमसेन थापाको आग्रहमा मेलम्ची–४ थकनी निवासी गरिमा भोएज ट्राभलका सञ्चालक हाल इटालीमा रहनुभएका रवीन्द्र अर्यालमार्फत प्राप्त रु एक लाख १७ परिवारलाई वितरण गरिएको हो । घरवारविहीन, आर्थिक अवस्था कमजोर भएका तथा परिवार सङ्ख्याका आधारमा पीडित घरपरिवारलाई नगर प्रमुख डम्बर अर्यालले हस्तान्तरण गरे । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।