ताजा अपडेट »

केन्द्रीय बैंकको अध्ययन : तीन करोड ६३ लाख निक्षेप खाता

शुक्रबार, ०४ भदौ २०७८, २१ : १६
8 Shares

काठमाडौं । देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पुर्‍याएका छन् । धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन । ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार २०७८ चैत मसान्तसम्म इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या पाँच हजार ९७८ पुगेको छ ।

प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । विवरणअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तसम्म कायम भएका निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन गरिएको जनाएको छ । वित्तीय साक्षरताको प्रवद्र्धन, शाखा विस्तार, शाखा रहित बैंकिङ भुक्तानी प्रणालीको आधुनिकीकरणलगायतका कारणले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा दिने नागरिकको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको पाइएको छ ।

निक्षेप खातामा महिलाको हिस्सा बढी

केन्द्रीय बैंकका अनुसार कूल निक्षेप खातामध्ये महिलाको खाता सङ्ख्या बढी रहेको छ । कूल निक्षेप खाता ६७.७ प्रतिशत खाता सक्रिय छन् । त्यसमा पुरुषको हिस्सा ६५.२ प्रतिशत र महिलाको हिस्सा ७२।३ प्रतिशत रहेको छ । कूल निक्षेप खातामध्ये बचत निक्षेप खाता ९०.६ प्रतिशत रहेको छ । यस्तै, मुद्दती निक्षेप खाताको हिस्सा ३१ प्रतिशत छ । ग्रामीण क्षेत्रका नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको छ । व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्तिको छ ।

केन्द्रीय बैंकका अनुसार २०७७ जेठ मसान्तसम्म तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएका छन् । तीनपुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तसम्म कम्तीमा एक निक्षेप खाता भएका नेपालीको सङ्ख्या ६०.९ प्रतिशत रहेको अध्ययनमा देखिएको छ ।

प्रतिहजार व्यक्ति ९९८ खाता रहेकामा पुरुषको प्रतिहजार व्यक्ति एक हजार ३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति एक हजार ८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता छन् । महानगरमा प्रतिहजार व्यक्ति तीन हजार २९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता छन् ।

प्रति एक लाख जनसङ्ख्यालाई सेवा पुर्‍याउने बैंकका शाखा सङ्ख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त सङ्ख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ मा ९.७३ प्रतिशत छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसङ्ख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ प्रतिशत

केन्द्रीय बैंकका अध्ययनअनुसार मोबाइल प्रयोगकर्ताको सङ्ख्या ३२.०३ प्रतिशत छ । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत मात्रै छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी वाग्मती प्रदेशमा छन् ।

त्यसमा एटीएम २६.११, मोबाइल बैंकिङ ३३.१२ र इन्टरनेट बैंकिङ ६.४० प्रतिशत छन् । प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत छन् ।

महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत छन् । गाँउपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाँउपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत छ ।

उमेरगत हिसाबमा २० वर्ष उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः बढ्दै गएको देखिन्छ । सो उमेरभन्दा माथि प्रविधिको प्रयोग अध्ययनअनुसार कम देखिन्छ । युवापुस्तामा प्रविधिको प्रयोग उच्च रहेका हुँदा आगामी दिनमा प्रविधिको माग थप बढ्दै जाने देखिन्छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।