ताजा अपडेट »

निरास नभएका तिरास भन्छन्- 'कफी हबलाई ब्राण्ड बनाउँछु'

शुक्रबार, ०४ भदौ २०७८, १९ : ५४
8 Shares

बुटवल । आजकल 'भेटौं, कफी पिउँ' प्रचलनमा रहेको छ । व्यस्तताका वावजुद केहि समय निकालेर होस् या फुर्सदमा भेट्ने र कफी पिउने बहाना नै बनेको छ । त्यति मात्रै नभई कफी पिउने धेरैको बानी वा लतनै बसेको छ । शहरका विभिन्न स्थानमा कफी सप स्थापना भएका छन् । त्यसैगरी प्राय रेष्टूरेष्ट,क्याफे,होटलमा पनि कफीका परिकार बन्छन् । कफी पेय पदार्थ मात्रै नभई पछिल्लो समयको माग र संस्कार पनि बनेको छ । परम्परागत चियाभन्दा माथि र आधुनिक जीवनशैलीको संकेतका रुपमा पनि लिइएको पाइन्छ ।

सफा, आकर्षक सजावट र विभिन्न फ्लेवरमा उपलब्ध हुने कफी पिउन र फोटो खिच्नका लागिनै पनि कफी सपमा जाने चलन पनि छ । कफीको यस्तै माग, आवश्यकता र महत्वलाई मध्यनजर गरी एक युवाले रुपन्देहीको तिलोत्तमा–३ योगीकुटी,शान्तिचोकमा ‘द कफी हब’ को शुभारम्भ गरेका छन् । होटल म्यानेजमेण्टमा स्नातक गरी एक दशक विभिन्न ५ तारेमा काम गरेका र विगत ६ वर्षदेखि शिक्षण गर्दै आएका तिरास लामटाङ्गेले सुरुवात गरेको ‘द कफी हब’लाई ब्राण्ड बनाउने लक्ष्यसहित सञ्चालन गरेका छन् ।

पाल्पाका लामटाङ्गेले स्थानीय कालिका माध्यमिक विद्यालयमा यमा अध्ययन गरेका थिए । त्यसैगरी उनले पाल्पाकै न्यू होराइजन कलेजमा होटल व्यवस्थापन अध्ययन गरेका थिए । किशोरावस्थादेखि नै हस्पिटलिटी क्षेत्रमा रुचि भएका लामटाङ्गे काठामण्डौंतर्फ लागे । उनले त्यहाँस्थित ‘इन्टरनेशनल स्कूल अफ टूरिजम अफ होटेल म्यानेजमेन्ट’ मा भर्ना भए । अध्ययनकै क्रममा उनी इन्टर्नसिपको लागि चाइना गए । चाइनामा उनले ‘शान्या एभिएशन एण्ड टूरिजम कलेज’ मा एक वर्ष इन्टर्नसिप गरे । एक वर्षको इन्टर्नसिप पछि उनले इन्टरनेशनल शान्या रिसोर्टमा १ वर्ष काम गरे । उनले विदेशमा सिकेको सीपलाई नेपालमा उपभोग गर्ने उद्देश्य थियो । त्यही अनुरुप सन् २०१३ डिसेम्बर १४ मा उनी नेपाल फर्के ।

नेपाल फर्किपछि उनले शेर्पा रेष्टूरेण्टमा सुपर भाइजरको रुपमा एक वर्ष काम गरे । त्यसैगरी उनले सोल्टी क्राउन प्लाजा र रेडिशन होटेल जस्ता पाँचतारे होटलमा काम गर्दै अनुभव सम्हाले। सानैदेखि पढाइमा अब्बल उनी आइएलटिएसमा पनि नाम निकालेको बताउँछन् । आइएलटिएसको परीक्षमा ६.५ अंक लयाएर प्रक्रिया अगाडि बढाउँदा पारिवारीक आर्थिक अवस्थाले गर्दा ४० लाखको सम्पत्ति विवरण देखाउन नसक्दा अष्ट्रेलिया जानबाट बञ्चित भएको उनी बताउँछन्। उनले भने ‘तराई/शहरमा हाम्रो घर/जग्गा थिएन पहाडको खेतबारीको मूल्यांकन नआउने गर्दा ४० लाख देखाउन सकिएन र अष्ट्रेलिया जान पाइन।’

होटल म्यानेजमेण्ट अध्ययन गरेर चाइनामा गई इन्टर्नसीप गरेर आएका लामटाङ्गेसँग देशकै उत्कृष्ट मानिने,चलेका पाँच तारे होटलमा काम गरेको अनुभव छ । उनी सन् २०१५ मा काठमाण्डौंबाट बुटवल आए । बुटवलको सुख्खानगरमा एशियन भिलेज होटल खोले । होटेल सञ्चालन गरेपनि उनी बुटवलको हस्पिटलिटीको अवस्था नबुझ्दा ६/७ महिनामै उनले उक्त होटेल बन्द गरे । तर, आफ्नो होटलमा नियमित आइरहने गेष्ट चक्रबहादुर श्रेष्ठसँग तिरासको राम्रो चिनजान थियो । तिरासको काम र क्षमतालाई नजिकबाट देखेका श्रेष्ठले उनलाई विद्यालयमा पढाउन प्रस्ताव राखे।

उनले बुटवलस्थित क्यान माविका सह–प्रध्यापक गगांलाल प्रधानसँग कुराकानी गराइदिए । अन्ततः तिरासले कलेजमा होटेल म्यानेजमेण्ट पढाउन थाले।विगत ६ वर्षदेखि उनले सोही कलेजमा होटल म्यानेजमेण्ट अध्यापन गर्दै आएका छन् । अध्यापनकै शिलशिलामा उनी अक्सफोर्ड कलेजमा अध्यापन गर्ने शर्मिला गलामीसँग जोडिए। गलामीसँग केहि समयको प्रेमपछि उनले विवाह गरे । गुल्मीमा जन्मिएकी गलामीले अक्सफोर्ड कलेजमा ‘ह्यूमन रिसर्च एण्ड मार्केटिङ’ अध्यापन् गर्थिन्।

होटल तथा रेष्टूरेण्टमा रुचि राखेर अध्ययन,काम र अध्यापन गरेका उनलाई कफी निकै मन पर्छ । उनी स्वयम् कफीका पारखी हुन् । ‘ म नियमित दैनिक २/३ पटक कफी पिउँछु, मलाई कफी निकै मन पर्छ ।’ उनले भने । पछिल्लो समयमा फकी पिउने ट्रेण्ड बढेको र त्यसलाई आफूले अझै विस्तार गर्ने बताए । उनले भने‘नेपालमा अहिले कफी पिउने चलन बसेको छ । यसैलाई मध्यनजर गर्दै थप विस्तार गरेर कफीलाई प्रर्वद्धन गर्ने लक्ष्य रहेको छ । हामीकहाँ कफीका विभिन्न परिकारहरु पाइनुका साथै गुणस्तरीय एवम् कफीको स्वादनै फरक हुन्छ ।’ आर्थिक जुटाउन नसक्दा १० वर्ष अघि अष्ट्रेलिया जानबाट बञ्चित र आँफै लगानी गरेर सञ्चालन गरेको होटल बन्द हुँदा उनी कहिल्यै निरास नभएको बताउँछन् ।

२ वर्ष अघिनै आँफैले कफी सप सञ्चालन गर्ने योजना भएपनि कोरोना महामारी अवरोध बन्यो । अन्ततः महामारीकै त्रासबीच उनले कफी सप स्थापना र सञ्चालन गरेका छन् । केहि ऋण गरेर सुरु गरेको बताउँदै निरन्तरता दिने उनी बताउँछन् । उनी भन्छन्, 'कफी र हस्पीटलिटी मेरो सौंख र पेशा हो । स्थापना गर्दै सुरु गरेको छु । यसलाई जसरी पनि चलाउनु छ, चल्छ । यतिमै रोकिने होइन । पाल्पा, भैरहवा लगाएतका स्थानमा ब्राञ्च पनि खोल्ने लक्ष्य छ । द कफी हबलाई ब्राण्ड बनाउने अभियानका साथ अगाडि बढेको छु ।'

करिब ३५ लाख लगानी रहेको शान्तिचोक स्थित तिरासको 'द कफी हब' मा कफी, बेकरी र कन्फेक्सनरीका विभिन्न परिकारहरु पाइन्छन् । पर्यटन र हस्पिटालिटी क्षेत्रमा निकै समभावना देखेका तिरासले कफी हबमा कफी समबन्धी कक्षा तथा प्रशिक्षणहरु पनि सञ्चालन गर्ने बताएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहन नसकेको अवस्थामा पनि हिम्मतका साथ नयाँ व्यवसाय सुरु गरेका छन् ।

लामटाङ्गेले महामारीले धराशायी भएपनि ऋण खोजेर सञ्चालन गर्ने बताउँछन् । उनले विजनेसमा रिस्क हुने बताउँदै हार नमान्ने बताए । उनी 'कि जितिन्छ, कि सिकिन्छ' भन्ने भनाईलाई आत्मसाथ गर्दै अगाडि बढ्ने योजना बनाएका छन् । आफ्नो कफी हबमा कफी पिउनेहरु नियमित गहक बन्ने उनको विश्वास छ । खानपिनका लागि घरबाहिर निस्कने संस्कृतिको विकास भएको हुँदा हस्पिटलिटी क्षेत्रमा धेरै सम्भावना रहेको उनको तर्क छ । उनी भन्छन्, 'घुम्ने र खानपीन गर्ने चलन बढेको छ । महामारीका कारण अहिले समस्या छ तर, धैर्य गरेर अघि बढियो भने अवस्य सफल भइन्छ ।' आकर्षक सजावट र व्यवस्थापनसहित उनले सुरु गरेको कफीमा धेरै सेल्फी जोन छन्। कफी, बेकरी र कन्फेक्सनरीका लागि पारिवारनै सहभागी हुन मिल्ने उनी बताउँछन् ।

सुरज घिमिरे
लेखकको बारेमा
सुरज घिमिरे