ताजा अपडेट »

ओली पक्ष सदस्यता नविकरणको अन्तिम चरणमा, माधव पक्ष विस्तार अभियानमा

शुक्रबार, ०४ भदौ २०७८, १३ : १२
7 Shares

बुटवल । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशपछि नेकपा एमाले विभाजित बनेका छ । ओली समूह र माधव समूह विभाजित बन्दा माधव समुहले नयाँ पार्टी गठनको कामहरु गरिरहेका छन् । राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण स्थान राख्ने लुम्बिनी प्रदेशका अधिकांश नेताहरु अध्यक्ष केपी ओलीको पक्षमा बस्दा माधव नेपाललाई केही सकस देखिएको छ ।

परिवर्तन र ठूला राजनीतिक आन्दोलनहरुको उठाउन हुने साविकको लुम्बिनी प्रदेशबाट केन्द्रमा नेतृत्व गर्ने प्रभावसाली नेताहरुको साथ माधव पक्षले नपाउने भएपछि केही सकस देखिएको छ । विगतमा नेपाल खेमामै खुलेर लाखेका गोकर्ण विष्ट, घनश्याम भूसाल, सोमप्रसाद पाण्डे, ठाकुर गैह्रे लगायतका प्रभावसाली नेताहरुले अन्मिमा आएर नेपालको साथ छाडेपछि सकस देखिएको हो । माधव नेपाल समूहले प्रस्ताव गरेको नेकपा एमाले(समाजबादी)को लुम्बिनी प्रदेशसभामा समेत उपस्थिती कमजोर हुँदा संगठन विस्तारमा थप कठिनाईहरु देखिएका छन् ।

हाल लुम्बिनीमा नेकपा एमालेका दुईजना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलिरहेका छन् । विगतदेखि नैं नेपाल समूहमा रहेको बताइएपनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन् । लुम्बिनीमा कुलप्रसाद केसीको नेतृत्व आएसंगै उनीहरु माधव नेपाल नेतृत्वमा सहभागी हुने बताउँछन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् । सांसद पन्थीले आफू सूरुदेखि नैं माधव नेपाल समूहमै रहेको बताए । ‘म त पुस ५ पछि निरन्तर नेपाल समूहमै छु नि’ पन्थीले भने ।

माधव समुह नेतृत्वको एमालेका रुपन्देही अध्यक्ष राजु गुरुङले लुम्बिनी प्रदेश सभा सदस्य बिस्तार तथा पालिका प्रमुख उपप्रमुख पनि बिस्तार प्रक्रियामा लागेको उनले बताए। ‘केन्द्रमा हाम्रो पार्टी दर्ताको प्रक्रियामा रहेको छ, केही दिनमा नै वैधानिकता पाउनेछ, यो हुँदासम्म प्रदेशसभा सदस्यहरुलाई हामी तिर ल्याउन र पालिका प्रमुख तथा उपप्रमुखलाई हामीतिर ल्याउन पहल गरिरहेका छौँ।’ उनले भने । उनले पार्टीको नाम, चुनाव चिन्ह लगाएतका कुराहरु टुंगिएपछि धेरै प्रदेशसभा सदस्यहरु आफूसँग आउने दाबी गरे । लुम्बिनीका सांसदलाई खुल्न नदिनको लागि एमाले ओली पक्षले अपहरण समेत गर्ने गरेको आरोप लगाउँदै उनले अहिले खुलेका र आउने निश्चित भएका सांसदको नाम भन्न नसक्ने प्रतिक्रिया दिए ।

उनले यदि अहिले छलफल र सम्झौता भएअनुसारका लुम्बिनीमा माधव समुहमा १५ जना सम्म सांसद पुग्ने बताए। यदि अहिले आउने कुरा भएका सांसदहरु नआएपनि न्युनतम पनि ६ जना सांसद माधव समुहमा हुने दावी गरे। उनले भने –‘सुर्य चिन्हबाट चुनाव लडेकोले एमालेमा बसेपनि हामीसँग सम्बन्ध र निकटता भएका धेरै हुनुहुन्छ, हेरौँ कति आउनुहुन्छ ।’

लुम्बिनी प्रदेशमा अहिले गठबन्धनको सरकार रहेको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजबादी पार्टी (जसपा)को गठबन्धनको सरकार रहेको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभा पार्टी परिवर्तनको कारणले ८० सदस्यीय रहेको छ । जसमा नेकपा एमालेका ३८(२ माधव समुहमा खुलेकासंगै) माओवादी केन्द्रमा सभामुख सहित १९ जना, नेपाली कांग्रेसमा १९ जना, जनता समाजवादी पार्टी(जसपा)का ३ जना सांसद रहेका छन् ।

रुपन्देहीका स्थानीय तहमा प्रमुख–उपप्रमुख पनि बिस्तारको तयारी
रुपन्देहीका स्थानीय तह प्रमुख–उपप्रमुखमा एमाले मध्यबाटै ओली समूहको बाहुल्यता रहेको छ । आफ्नो स्थान बनाउन माधव समूहले पनि योजना बनाएको छ । हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख, उपप्रमुख र तिलोत्तमा नगर उपप्रमुख मात्रै माधव समुहमा खुलेका छन् ।

अन्य पालिका प्रमुख तथा उपप्रमुख पनि ल्याउन प्रयास भईरहेको जिल्ला अध्यक्ष राजु गुरुङ्ग बताउँछन् । उनले रोहिणी गाउँपालिका उपप्रमुख पनि केही समयमा आफूहरुकै समूहमा आउने दाबी गरे । उनले निर्वाचनमा उम्मेद्वारको टिकट दिँदापनि एकपक्षिय भएकाले आफूहरुको समुहमा धेरै संख्या नबढेपनि अबको निर्वाचनमा आफूहरुको उल्लेख्य संख्या रहने दाबी गरे ।

नेकपा एमाले (ओली) पक्षका रुपन्देही अध्यक्ष शिवराज सुवेदीले भने जिल्लामा पार्टी विभाजनको असर त्यति धेरै नपर्ने बताएका छन् । जिल्लामा पार्टीको सदस्यता नविकरणलाई तीब्रता दिएको एमालेले ७० प्रतिशत बढी नविकरण सम्पन्न गरिसकेको सुवेदीले बताए । विगतमा वर्षहरुमा पनि ७० देखि ७५ प्रतिशत कार्यकर्ताहरुले मात्रै सदस्यता नविकरण गर्ने गरेको बताउँदै उनले यो अवस्थामा पनि ७० प्रशित बढी सदस्यता नविकरण हुनुले सकारात्मक सन्देश जाने उल्लेख गरे । ‘केही व्यक्तिहरु हामीसँग छुट्न सक्छन् । त्यसलाई स्वभाविक प्रक्रियाकै रुपमा लिनुपर्छ ।’–सुवेदीले भने ।

आचार्य प्रदीप
लेखकको बारेमा
आचार्य प्रदीप