ताजा अपडेट »

पूर्व गोर्खा सैनिककाे मागमा बेलायत वार्ता गर्न तयार, अनशन तोडियो

शुक्रबार, ०४ भदौ २०७८, १२ : ३४
6 Shares

लण्डन । आफूहरु विरुद्ध असमान व्यवहार गरेको भन्दै १३ दिनदेखि लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका भूतपूर्व गोर्खा सैनिकहरुले बिहीबार अनशन तोडेका छन । गोर्खा सैनिकका मागका सम्बन्धमा बेलायतको रक्षा मन्त्रालयले बेलायतस्थित नेपाली राजदूतलाई पत्र पठाएपछि अनशन तोडिएको आन्दोलतरत गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले जानकारी दिए । यसअघि गोर्खा सैनिकहरु साउन ६ गतेदेखि १७ दिनसम्म रिले अनशनमा बसेका थिए ।

आमरण अनशन बसेका भूतपूर्व गोर्खाहरु ज्ञानराज राई, धनबहादुर गुरुङ तथा गोर्खा एकल महिला पुष्पा राना घलेलाई बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टी र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलले जुस पिलाएर अनसन तोडाएका थिए । पत्रमा नेपाल र संयुक्त अधिराज्य तथा पूर्व गोखाका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता समिति गठन गर्ने र सो समितिले २०२१ डिसेम्बरसम्ममा पहिलो औपचारिक वार्ता शुरु गर्ने उल्लेख गरिएको छ । प्रमुख संयोजन राईले त्यसअघि सेप्टेम्बर ८ मा वार्ताको तयारीका लागि एउटा बैठक राखिने पनि जानकारी दिए ।

प्रमुख संयोजक राईले राजदूत लोकदर्शन रेग्मीको पहलमा वार्ताको सकारात्मक वातावरण बनेको बताउँदै यस अभियानमा ऐक्यबद्धता जनाउने ब्रिटीश भेर्टान्स, बेलायत र नेपालका सांसद, नागरिक समाज, सञ्चारमाध्यम, बेलायत र नेपालमा रहेका सिङ्गो समूदायलाई धन्यवाद दिए । राजदूत रेग्मीले राजदूतावासले गोर्खा सैनिकको मागको सम्बन्धमा बेलायतको परराष्ट्रय मन्त्रालय, रक्षा मन्त्रालय र सङ्घर्ष समितिसँग शुरुदेखि नै आन्तरिक रुपमा छलफल गर्दै आएकोले वार्ताले सार्थकता पाएको बताए ।

गोर्खा अनशनले बेलायतसहित नेपालमा चौतर्फी चर्चा पाएसँगै यो सबैको चासोको विषय बनेको थियो । नेपालको सङ्घीय संसद, राजनीतिक दल, नागरिक समाजका साथै बेलायतका सञ्चार माध्यम र सांसदहरुले समेत यस विषयमा चासो दिदै समाधानका खोज्न आग्रह गरेका थिए ।
भूतपूर्व गोर्खा सैनिकले सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट अवकाश प्राप्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन् । भूतपूर्व गोर्खाहरुले १९४७ नोभेम्बर ९ को त्रिपक्षीय सन्धिको भावना अनुसार समान अधिकार पाउनुपर्छ भन्ने माग राख्दै आएका छन् ।

उनीहरूले बेलायती सेनाबाट सेवा निवृत्त सबैलाई समान पेन्सन र सुविधा, नेपालीलाई पनि ब्रिटिशसरह निःशुल्क स्वास्थ्य सुविधा, जागिर कटौतीमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, विधवाहरूलाई समान पेन्सनको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै आएका छन् । नेपाल तथा बेलायत दुवै मुलुकले तत्काल वार्ता समिति गठन गर्नुपर्ने, वार्ताको मिति र स्थान तोक्नुपर्ने माग भूपू गोर्खा सैनिकको रहेको थियो ।-करुण अर्याल/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।