ताजा अपडेट »

नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा

शनिबार, १२ माघ २०७५, ०१ : ३९
74 Shares

माघ १२ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वमा सरकार गठन भएपछि भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । संविधान निर्माणको क्रममा बिग्रिएको सम्बन्धमा निकै सुधार आएको कूटनीतिक जानकारहरूको भनाइ छ । सम्बन्धलाई अझ घनिष्ठ बनाउँदै नेपाल समृद्धिको दिशामा अग्रसर हुन पनि उहाँहरूको सुझाव छ ।

भारतले ६९आँै गणतन्त्र दिवस मनाइरहेको छ । नेपालमा गणतन्त्र स्थापना भई संविधान निर्माण भएको चारवर्ष मात्र भएको छ । नेपालमा भर्खर आएको गणतन्त्र र ६९ वर्षदेखि गणतन्त्रको अभ्यास गरेको भारतसँग अरू देशको तुलनामा राम्रो सम्बन्ध रहेको परराष्ट्रविज्ञ डा.भेषबहादुर थापाले बताउनुहुन्छ । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा स्थिर सरकार छ । यता नेपालमा पनि केपी शर्मा ओलीको नेतृत्वमा स्थिर सरकार रहेकाले दुई देशको सम्बन्धमा क्रमिक सुधार भइरहेको उहाँको भनाइ छ ।
सामाजिक र सांस्कृतिकरूपमा पनि भारतसँग नेपालको नजिकको सम्बन्ध छ । भारतसँग कूटनीतिक मात्र नभएर भूगोल, अर्थतन्त्र र संस्कृतिले युगैदेखि सम्बन्धलाई अनेक आयाम दिएको छ । नेपाल र भारतबीचको खुला सिमानाका कारण दुई देशबीचको आपसी सम्बन्ध समाजिक स्तरमा उच्च छ । त्यसलाई नेताहरूले बेलाबेलामा ‘रोटीबेटी’ को सम्बन्ध भन्ने गरेका छन् ।
घनिष्ठ सम्बन्ध भए पनि दुई देशबीच बिगतमा समस्या नै नआएको भने होइन । संविधान निर्माणको क्रममा नेपाल र भारतबीच सम्बन्धमा चिसोपना आएको थियो र त्यसले नेपालमा नाकाबन्दीका परिस्थितिसम्म आएको थियो । विसं. २०७२ असोज ३ गते संविधान निर्माण भइसकेपछि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो, केही महिना अवस्था जटिल बने पनि विस्तार सम्बन्धमा सुधार हुँदै आयो ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि दुई देश बीचको सम्बन्धमा आशातित सुधार आउन सकेको थिएन । तर २०७४ फागुन ३ गते तत्कालीन एमालेका अध्यक्ष अ‍ोलीको नेतृत्वमा दुईतिहाइको वामपन्थी सरकार गठन भयो । त्यसपछिको सम्बन्ध क्रमशः सुधारतिर गयो । 
प्रधानमन्त्री ओलीले गएको चैत २२ गतेदेखि २५ गतेसम्म भारतको भ्रमण गर्नु भएपछि दुई देशको बीचमा रहेका असमझदारी क्रमशः फाट्दै गए । सम्बन्ध सुधारले नयाँ गति लियो ।
हुन पनि नेपालमा र भारत दुबै देशमा स्थिर सरकार पनि सम्बन्ध सुधारको कडी बनेको छ । 
अलिकति विगत हेर्ने हो भने गत वर्षको निर्वाचनपछि नेकपाका अध्यक्ष समेत रहनुभएका ओली प्रधानमन्त्री नियुक्त नहुँदै भारतीय प्रधानमन्त्री मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर उहाँलाई बधाई तथा शुभकामना दिनुभयो । भारतले नेपालसँग सम्बन्ध सुधार्न चाहेको यो स्पष्ट सङ्केत थियो । 
नेपाल भारत प्रवुद्ध समूहले यो बीचमा धेरै काम ग¥यो र प्रतिवेदन तयार पनि भइसकेको छ । त्यो समूहले पनि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सकिने बताउँदै डा. थापा दुई देश बीचको सम्बन्धलाई सुधार गरेर नयाँ आयाममा दिनुपर्ने सुझाव दिनुहुन्छ ।
प्रवुद्ध समूह नेपालतर्फका संयोजक समेत रहनुभएका डा. थापाले भारतले पनि नेपालको आर्थिक विकास चाहेको बताउनुहुन्छ । नेपालले समृद्धिलाई नै मुख्य लक्ष्य बनाएका हुनाले दुवै देशको लक्ष्य मिलेको छ र त्यसले सम्बन्धलाई झन बलियो बनाउने उहाँको भनाइ छ । 
भारतले नेपालकोे विकासमा साझेदारी गर्न चाहेको बताउँदै उहाँले प्रवुद्ध समूहले बुझाएको प्रतिवेदन सार्वजनिक कार्यान्वयन भए सम्बन्ध नयाँ उचाइमा पुग्ने विचार व्यक्त गर्नुहुन्छ ।
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे दुई देशबीचको सम्बन्ध सुधारन्मुख रहेको र कटुतताहरू हट्दै गएको बताउनुहुन्छ । नेपाल–भारतबीचको सम्बन्धलाई अन्य देशको सम्बन्धसँग तुलना गर्न नसकिने बताउँदै बेलाबेलामा उतार चढाव भए पनि त्यो चाँडै नै समाधान भएको स्पष्ट गर्नुहुन्छ । ‘ अब त सम्बन्धले नयाँ उचाइ लिँदै छ,’’ पाण्डेको भनाइ छ । उहाँ थप्नुहुन्छ,‘‘ नेपालले राष्ट्रिय हितलाई आधार बनाउँदै भारतसित आर्थिक विकासमा सहयोग लिन सक्नुपर्छ , भारतको चाहना पनि नेपालले समृद्धि हासिल गरोस् भन्ने छ ।’’

भारतका लागि पूर्वराजदूत लोकराज बराल पछिल्लो समय दुई देशको बीचमा देखिएको तिक्तता हट्दै गएको र नयाँ ढङ्गबाट सम्बन्धमा विकास भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘सोचेको जस्तो सम्बन्ध अझै बन्न सकेको छैन तर क्रमिक रूपमा सुधार भइरहेको छ ।’’ दुई देशबीचका सम्बन्ध सुधारका लागि सरकारीस्तरबाट अझै प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।-
सुरेशकुमार यादव /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।