ताजा अपडेट »

स्वास्थ्य मापदण्ड पालना गर्दै नागपूजा

शुक्रबार, २९ साउन २०७८, १४ : ०४
12 Shares

काठमाडौं । नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले राससलाई जानकारी दिए । कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा कोरोनाबाट बच्न बिहान नित्य पूजा गरेर बन्द गरिएको हो ।
 
पोखरी बन्द गरेपछि पनि भक्तजनले बाहिरबाटै दर्शन गर्नेक्रम भने जारी छ । यसैगरी कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको भीड लागेको हो । बिहान नित्यपूजापछि केहीबेर बन्द गरिएको टौदह फेरि भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिए  । टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै नाग नागिनीको पूजा, आराधना हुने गरेकामा विसं २०७० पछि बन्द भएको थियो । विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उनले बताए । 
 
टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ । विगतवर्षमा जस्तो भक्तजन टौदहमा नआएको समाजका अध्यक्ष जयराम कार्कीले जानकारी दिए । आएका भक्तजनलाई भने पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । रासस 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।