ताजा अपडेट »

बोलबमधामको मेलामा तीन करोड बढीको कारोबार

आइतबार, २६ साउन २०७६, २० : २८
2 Shares

एन.बी.कंडेल
बुटवल । धार्मिक क्षेत्रलाई विशेषगरी धर्म,आस्था र विश्वासको दृष्टिकोणले मात्र हेर्ने गरिन्छ । तर,धार्मिक क्षेत्रमा स्वरोजगार र आर्थिक कारोबारको पनि छुुट्टै महत्व रहेको छ । अर्थात् धार्मिक क्षेत्रलाई पर्यटन र अर्थसँग जोडेर व्यवस्थित गर्ने हो भने स्वरोजगार र अर्थतन्त्रमा अहम् भूमिका खेल्नेछ । जसको उदाहरण यतिबेला चलिरहेको श्रावणी मेलालाई लिन सकिन्छ । रुपन्देहीको सैनामैना–१ स्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधामा प्रत्येक वर्ष श्रावणमा लाग्ने मेलामा करोडौंको कारोबार हुने गरेको छ भने सयौं स्वरोजगार हुने गरेका छन् । प्रत्येक वर्ष गुुरुपूर्णिमादेखि ऋषितर्पणीसम्म लाग्ने मेलामा २ सय ५० बढी साना तथा ठूला व्यवसायीले तीन करोड बढीको पूजा सामग्रीको कारोबार गर्दै आएका छन् ।


एक महिना चल्ने उक्त मेलामा भारत,प्यूठान,दाङ्ग,गोरखा,काठमाण्डौं,गुुल्मी,अर्घखाँची,नवलपरासी लगाएत विभिन्न जिल्ला तथा धार्मिक स्थलका व्यवसायीहरु आउने गर्दछन् । यस वर्षपनि ति जिल्लाहरुबाट एक सय बढी व्यापारीहरु आएका छन् भने त्यति कै संख्यामा स्थानीय व्यवसायी पनि रहेका छन् । विशेषगरी फुुल,प्रसाद,मालाको कारोबार हुने धार्मिक मेलामा बेलपत्र,नरिवल, रेवडी,केरा, अम्बा,मिठाइँ , सजावट,खेलौना लगाएतका समाग्रीहरुको बिक्री बढी हुने गर्दछ ।

मेलामा लुुम्बिनीबाट आउने व्यवसायीको संख्यापनि धेरै छ । बाल्यकादेखिनै नजिकबाट मेलालाई प्रतक्ष्य देखेका व्यवसाय गरेका स्थानीय मुक्ति मुरावले एक महिने श्रावणी मेलामा सयौं व्यवसायी मार्फत करोडौं कारोबार हुने बताउँछन् । केही समय रोजगारका लागि कोरिया गएका उनी अहिले त्यस क्षेत्रमा पसल सञ्चालन गरेर बसेका छन् । उनको स्थायी किराना पसलमा साउनको समयमा २० लाख भन्दा बढीको कारोबार हुने बताउँछन् । उनी भन्छन्‘ हाम्रो किराना पसलमा पनि माला , प्रसादको राम्रो बिक्री हुन्छ । तर, बिक्री धेरै भएपनि अन्य किराना सामानमा मुनाफा कम हुन्छ । एक महिने अवधीमा मेलामा धेरै व्यवसायीद्वारा ठूलो कारोबार हुन्छ ।’

लुम्बिनीबाट विगत २० वर्षदेखि निरन्तर बोलबमधामको एक महिने मेलामा आउने मध्ये राजकुमार बाँनिया एक हुन् । उनले पछिल्ला वर्षहरुमा एक महिने मेलामा दुुई लाख बढीको कारोबार गर्ने बताए । माला,प्रसाद,मूर्ति र सजावटका सामग्री बिक्री गर्ने उनले गत वर्ष २ लाख बढीको कारोबार गरेको बताए । त्यस्तै दाङ्गका दिनेश क्षेत्री पनि विगत २० वर्षदेखि बोलबमधाममा लाग्ने मेलामा सहभागि हुुँदै आएको उनका भाई सुरेश क्षेत्रीले बताए । दाजुसँग आफूपनि आउन लागेको १० वर्ष भएको बताउने उनले राम्रो आम्दानी हुनाले निरन्तर आउने गरेको बताए ।

रुपन्देही कदबुन निशापनि विगत ३० वर्षदेखि बोलबमधामको श्रावणी मेलामा व्यवसाय गर्दै आएकी छन् । बैंशमा नै व्यवसाय सुुरु गरेकी उनी अहिले ५० वर्ष बढी भएको र सक्दासम्म धाममा लाग्ने मेलामा सहभागि हुने बताइन् । उनले पनि राम्रो आम्दानी हुनाले निरन्तरता दिएको बताउँछिन् । बुटवलका हजरत सिद्धिकी पनि विगत १७ वर्षदेखि बोलबमधामको श्रावणी मेलामा आफ्नो व्यवसाय लिएर सहभागि हुुँदै आएका छन् । खेलौनाको व्यापार गर्ने उनी पनि दुई लाख भन्दा बढीको कारोबार गर्दछन् । भारतबाट एक महिने व्यसायका लागि आएका माधव मुराव पनि विगत १० वर्षदेखि टिका,माला,प्रसादका सामग्री लिएर निरन्तर आउने गरेको बताउँदै हरेक पटक २ लाख बढीको कारोबार गरेको बताए ।


श्रावणी मेला एक महिनासम्म चलेपनि विशेषगरी सोमबार राम्रो कारोबार हुने व्यसायी बताउँछन् । सोमबार भगवान शिवजीको पूजाको लागि श्रद्धालु भक्तजनहरुको निकै भिड लाग्ने गर्दछ । यस दिन साना व्यवसायीले २० हजार र ठूूला व्वसायीले एक लाखसम्म वा एकलाख भन्दा बढीको कारोबार गर्दछन् । निरन्तर एक महिनासम्म बस्ने स्थायी व्यवसायीको संख्या १ सय ७५ रहेको गत वर्षको श्रावणी मेला बजार व्यवस्थापन संयोजक तथा यस वर्षका सहसंयोजक डुल बहादुर थारुले बताए ।

त्यसैगरी श्रद्धालुु भक्तजनको भिड लाग्ने दिन सोमबार र शनिबार मात्र आउने व्यवसायीको संख्या करिब ७५ भन्दा बढी हुुन्छ । एक महिने अवधीमा स्थायी तथा अस्थायी गरी करिब २५० व्यवसायीको सहभागिता रहने गर्दछ । जहाँ औषतमा न्यूनतम ५० हजारदेखि अधिकतम ४ लाख सम्मको कारोबार हुने गर्दछ । तर, धामले स्थायी व्यवसायीको विवरण राखेपनि अस्थायी व्यवसायी र कारोबार बारे भने विवरण राख्ने गरेको छैन । यसरी एक महिनामा २५० जना व्यवसायीले तीन करोड बढीको कारोबार गर्दै आएका छन् । यसबाट करिब ३ सयलाई रोजगार प्राप्त भएको छ भने तीन करोड बढीको कारोबार हुने गरेको छ ।


यस वर्ष भने विगतका वर्षहरुमा जस्तो कारोबार नभएको व्यवसायी बताउँछन् । यस वर्ष शुुक्र अन्ध परेको र यस दौरान पूूजा–आजा गर्दा कम पुुण्य प्राप्त हुने धार्मिक मान्यताका कारण भक्तजनको संख्या कम भई कारोबार कम भएको लुम्बिनीबाट व्यवसायका लागि आएका किशुन जयसवालले बताए । एक महिने मेलामा धाम सेराफेरोमा मात्र नभई २ किलोमिटर उत्तर रानीबगिया र पश्चिम मुर्गियामा पनि पूजा–सामग्री तथा गेरु वस्त्रका पसलहरु रहने गरेको धामका कोषाध्यक्ष रामनाथ हरिजनले बताए । उनले भने‘धामदेखि रानीबगीयासम्म र मुर्गियातर्फ पनि विभिन्न व्यवसायीहरु रहने गरेका छन् । साना तथा थोरै लगानीकर्ताले महिनामा ५० हजारदेखि ठूूला लगानी गर्ने व्यवसायीले तीन लाख बढीको कारोबार गर्दछन् । नाफा उनीहरुको खरिद र बिक्री अनुसार भर पर्दछ ।’

शिवजीलाई विशेषगरी बेलपत्र र नरिवल चढाउने गरिन्छ । धाममा श्रावणमा विशेषगरी नरिवल,बेलपत्र, माला र प्रसादको बिक्री बढी हुन्छ । यस्ता सामग्रीमा मुनाफा बढी हुने गर्दछ । सोही स्थानमा घर भएका व्यवसायीहरुको होटल,किराना तथा ठूला व्यसाय रहेका छन् । उनीहरुले एकलाख भन्दा बढी आम्दानी गर्दछन् । एक महिना बस्ने व्वसायीका लागि धाम समितिले बिजुुली र सुरक्षा व्यवस्था मिलाएको कोषाध्यक्ष हरिजनले बताए । बजारको धामले स्वयम् जिम्मा तथा व्वस्थापन गरेको छ । सामान्यतया एउटा व्यवसायीले ६ फिट (खाट बराबार) को क्षेत्र प्राप्त गर्दछन भने स्थान हेरेर न्यूनतम ५००देखि रु १००० सम्म भाडा लिने गरेको बजार व्वस्थापन समतिकिा सहसंयोजक डुल बहादुर थारुले बताए ।

जसअन्तर्गत उठेको रकमबाट जग्गाधनीलाई ४० प्रतिशत र धामलाई ६० प्रतिशत प्रदान गरिने उनले बताए । धार्मिक आस्थाको केन्द्रबिन्दु बन्दै गएको नेपालको एकमात्र स्वयम् उत्पत्तिमान तथा पहिलो बोलबम धामको उचित प्रवद्र्धन,विकास र प्रचार–प्रसार गर्न सके श्रावणी एक महिनामा मात्र नभई निरन्तर श्रद्धालु भक्तजनको आवत–जावत हुनुका साथै स्वरोजगार र अर्थतन्त्रमा पनि टेवा पुुग्नेछ । सैनामैना नगरपालिकाको मुख्य धार्मिक पर्यटन र अर्थतन्त्रको आधार बनाउन सकिने यस धाममा धामसँग सम्बन्धित बस्तु उत्पादन तथा बिक्री वितरण गर्न सके नगरको पहिचान विस्तार हुँदै जानेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।