ताजा अपडेट »

लुम्बिनीमा राजनीतिक सरगर्मी, मुख्यमन्त्रीको काठमाण्डौं उडान

विहीबार, २१ साउन २०७८, १८ : ५८

बुटवल । लुम्बिनी प्रदेशमा राजनीतिक माहोल तातिरहेका बेला मुख्यमन्त्री शंकर पोखरेल संघीय राजधानी काठमाण्डौं पुगेका छन् । एमाले पार्टी भित्रको आन्तरिक विवाद तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न मुख्यमन्त्री पोखरेल काठमाण्डौं प्रस्थान गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रदेशमा सत्ता पक्ष र प्रतिपक्ष दलहरु बीच राजनीतिक सरगर्मी बढीरहेका बेला मुख्यमन्त्रीको काठमाण्डौं उडानलाई अर्थपूर्ण रुपमा लिइएको छ । मुख्यमन्त्री पोखरेल बिहीबार दिउँसो भैरहवा विमालस्थलबाट काठमाण्डौंका लागि उडेका हुन् । त्यहाँ रहेर एमाले भित्रको आन्तरिक विवाद तथा लुम्बिनीको राजनीतिक विषयमा समेत छलफल हुने प्रेस सल्लाहकार केसीले ग्लोबल आवाजलाई जानकारी गराए । ‘काठमाण्डौंमा २/४ दिनको बसाईपछि फर्किनु हुन्छ होला ।’–केसीले भने, खासगरी नेकपा एमालेको आन्तरिक विवाद बारे छलफलका लागि उहाँ जानु भएको हो ।’

नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले राष्ट्रिय राजनीतिको समीकरण तथा पार्टी भित्रको निर्णयहरुमा समेत मुख्य भूमिका निभाउँदै आएका छन् । लुम्बिनी प्रदेशमा आफू नेतृत्वको सरकार बचाउनका लागि कसरत जारी रहेका बेला काठमाण्डौं यात्रामा लागेका छन् । यता लुम्बिनी प्रदेश प्रमुखको रुपमा अमिक शेरचनले पदभार ग्रहण गरे लगत्तै बलियो बनेका विपक्षी गठबन्धनहरुले सरकार ढाल्न एकपछि अर्को कदम चालि रहेका बेला मुख्यमन्त्रीको यात्रा नयाँ उपाए खोजीका लागि पनि हुन सक्ने बताइएको छ ।

नयाँ प्रदेश प्रमुख आएलगत्तै विपक्षी गठबन्धनहरुले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकारको गठनका लागि माग गरेका छन् भने पुनः अर्को निवेदन पुर्याउँदै प्रदेश प्रमुख समक्ष विशेष अधिवेशनको माग गरेका थिए । सोही माग अनुसार प्रदेश प्रमुखले आगामी साउन २७ गते दिउँसो २ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका हुन् । दल–बदल गरिरहेको भन्दै चर्चामा आएकी प्रदेश सांसद विमला खत्री (ओली) ले समेत अन्तिममा नेकपा माओवादीलाई नै साथ दिने बताएपछि थप बलियो बनेको विपक्षी गठबन्धन साउन २७ को पर्खाईमा छ ।

यता सत्तारुढ दल नेकपा एमालेले भने संसदमा बहुमत पुर्याउने कसर असफल भएपछि विपक्षी दलहरुले ल्याउने अविश्वासको प्रस्ताव बारेको वैधानिकता बारे प्रश्न उठाउन थालेका छन् । संविधानको धारा १६८ को १ अनुसार एकल बहुमतीयका आधारमा गठन भएको दल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु वैधानिक नभएको लुम्बिनी एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालको दाबी छ । एमालेले तत्कालिन समयमा सरकारको दाबी गर्दै एकल बहुमतीयका आधारमा ४१ जना सांसदको हस्ताक्षरसहित बहुमत साथ सरकार गठन गरेकाले अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने बताए ।

लगातार तेस्रो पटक सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको विपक्षी गठबन्धनहरुले भने सरकारले अविश्वासको प्रस्ताव फेस गर्नुपर्ने बताउँदै आएका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता फकरुद्धिन खाँले यस पटक पनि सरकार अविश्वासको प्रस्ताव छल्न संसदबाट भाग्न नमिल्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।