ताजा अपडेट »

चितवनमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

विहीबार, २१ साउन २०७८, १० : ४५
4 Shares

चितवन । जिल्लामा गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको सङ्ख्या बढेको छ। आव २०७७/०७८ मा १३ हजार १८ ले नयाँ नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अघिल्लो आव २०७६/०७७ मा आठ हजार २७० ले नयाँ नागरिकता लिएका थिए। कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीको अवधि गत वर्षको तुलनामा यस वर्ष कम भएको हुँदा नागरिकता लिने व्यक्तिको सङ्ख्या बढेको हो ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि पनि नागरिकता अनिवार्य भएका कारण नागरिकता बनाउनेको सङ्ख्या बढेको उनले बताए। गत वर्ष २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता, तीन जनाले अङ्गीकृत नागरिकता, ४६३ ले नाबालक परिचयपत्रको आधारमा र १३ हजार ३०७ ले प्रतिलिपि नागरिकता लिएका छन् ।

अघिल्लो आवमा भने ३१ ले वैवाहिक अङ्गीकृत, दुई जनाले अङ्गीकृत, ७६७ नाबालक परिचयपत्रको आधारमा तथा छ हजार ६४५ ले प्रतिलिपि नागरिकता लिएको उनले जानकारी दिए। सोही अवधिमा जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि नौ हजार १९४ को फारम दर्ता गरिएको छ ।

अघिल्लो आवमा १६ हजार ५१५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका थिए। अहिले राष्ट्रिय परिचयपत्र चार हजार जनाको बनेर आएको र २०० ले मात्रै लगेको पौडेलले जानकारी दिए। कार्यालयमा गत आव २०७७/०७८ मा नौ हजार ४९४ ले राहदानीका लागि सिफारिस लिएका छन् ।

वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि उनीहरुले राहदानीको सिफारिस लिएका हुन्। उनीहरुमध्ये आठ हजार ४७५ ले साधारण सिफारिस र एक हजार १९ जनाले द्रुत सेवाका लागि सिफारिस लिएका हुन ।

कार्यालयमा अघिल्लो आवमा राहदानीका लागि १२ हजार ४१९ ले सिफारिस लिएका थिए। तीमध्ये १० हजार ३६५ ले साधारण र दुई हजार ५४ जनाले दु्रत सेवा लिएको उनले बताए ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।