ताजा अपडेट »

फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

बुधबार, २० साउन २०७८, १२ : ४९
2 Shares

खोटाङ । कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला । कमजोर आर्थिक अवस्थाको परिवारमा जन्मिएका उनी पनि बुवासँगै कैयौँपटक फलाम पोल्ने कोइला बनाउन जङ्गल जानुपथ्र्यो । उसबेला कैयौँपटक हम्मरले फलामको लिहीमा (तताएको फलाम कुट्ने ठाउँ) फलामलाई नै बजारे गङ्गाबहादुरले पनि । आरनमा फलाम कुट्दाकुट्दै बितेको थियो उनको बाल्यकाल ।

बाली (काम गरेवापत दिइने अन्न)मा काम गरेर परिवार पाल्नुपर्ने अवस्थाबाट गङ्गाबहादुर अहिले खोटाङको उम्दा व्यवसायिक कृषक बनेका छ । आधुनिक तरिकाले व्यावसायिक कृषि खेती गर्न शुरु गरेका उनले आफूलाई जिल्लामा अहिले नमूना कृषकका रूपमा उभ्यएका छन् । आफ्नै बुवाको थातथलो सोल्मामा ‘खोटाङ कृषि फार्म’ खोलेर वार्षिक लाखौँ कमाइ गर्न थाल्नुभएको छ । घर वरिपरि १० वटा प्लास्टिक टनेल बनाउनुभएका गङ्गाबहादुरले मौसमअनुसार विभिन्न किसिमका तरकारी उत्पादन गर्छन् ।

पछिल्लो समय हाइटेक प्रविधिसमेत प्रयोग गरेर आफ्नो व्यवसायलाई व्यवस्थित बनाएका उनले कमाइको हिसाबले अहिले निकै राम्रो आम्दानी लिनसक्ने भएका छन् । आरनबाट शुरु भएको बाल्यकाल विस्तारै स्कूले जीवनमा परिणत भएको थियो उनको । बाल्यकालमा बाँसुरी बजाउने, बनाउने र गीत गाउने सोख थियो । हुन त सोल्माको त्यो दलितबस्तीमा तिहारमा मारुनी नाच राम्रै हुने भएकाले पनि उनलाई सङ्गीतको मोह बढेको हो ।

स्कूले जीवन पार गरेपछि उनी रेडियोकर्मी बने। जिल्लाको पहिलो रुपाकोट सामुदायिक रेडियोमा गङ्गाबहादुरले कृषिको गोरेटो कार्यक्रममार्फत आफ्नो यात्रा अगाडि बढाए । रेडियोमा कार्यक्रम गर्दागर्दै उहालाई बजार व्यवस्थापनको भूमिका दिइयो । त्यही बेलाबाट उनको व्यावसायिक सोचको विकास भएकाले विज्ञापन शाखाको समेत जिम्मा लिएर काम गरे ।

रेडियोमा कृषिको गोरेटो कार्यक्रम र घरमासमेत सामान्य कृषि कर्ममा उनको दिलचस्पी बढ्यो । रेडियोमा काम गर्दागर्दै गङ्गाबहादुरले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी सरिता राईसँग अन्तरजातीय विवाहा गरे । रुढीवादी सोच बोकेको समाजलाई चुनौती दिएर वैवाहिक बन्धनमा बाँधिएपछि उनीहरुलाई काम गर्ने थप हौसला मिल्यो । आफ्नो कृषिकर्मलाई व्यावसायिक हिसाबले अगाडि बढाउँदा उनको कामले विस्तारै सफलता हासिल गर्दै गयो । कृषिसम्बन्धी विभिन्न पुस्तकहरु पढ्ने जाँगरले उनले पहिल्यैदेखि सिटिइभिटीले दिने तालिमहरु लिए । उनीसँग सीप त भयो तर, आधुनिक कृषि व्यवसायमा लगानी गर्ने स्रोत भएन ।

कुनैबेला वैदेशिक रोजगारीमा जान राहादानी बनाएर त्यसबारे जानकारी लिए । जापानको लागि प्रक्रिया पनि अगाडि बढाए । तर गत स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएपछि जापान जाने सपनामा ब्रेक लाग्यो । करिब रु सात÷आठ लाख फसाइसक्नुभएका उनको भिसा आउने तयारी थियो ।

जनप्रतिनिधि भएपछि गाउँमा उनको कृषि पेशा त छँदै थियो अर्को समाजसेवाको पाटो पनि थपियो । त्यसपछि उनी आफ्नो कृषिकर्म र राजनीतिक धर्म तथा समाजसेवाको मर्मलाई मर्न नदिने प्रणका साथ जिल्लामा नै रहेर काम गर्न थालेका छन् । उनको कामप्रतिको लगावलाई मूल्याङ्कन गर्दै कृषि ज्ञान केन्द्र खोटाङले फार्म निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत गरेको छ । उनको श्रीमतीसँगै एक छोरा र एक छोरी छन् ।

उनको सबै काममा घरपरिवारको सहकार्य छ । बिहान उठेर तरकारी बारीमा जाने, बजारमा जाने समय भए नभएको अवस्था हेर्ने, पाँचवटा बङ्गुर, दुईवटा भैँसीलाई दाना र घाँसको जोहो मिलाउने । उनको फार्ममा अहिले उत्पादन दिन थालेका दुई हजार ५०० बोट गोलभेडा छन् । हाइटेक प्रविधि अपनाएर बनाइएको फार्मबाट गङ्गाबहादुरले दिक्तेल बजारमा दैनिक ७० देखि १०० केजीसम्म गोलभेडा बिक्री गर्छन् ।

प्रति केजी रु ७० मा बिक्री भइरहेको गोलभेडाबाट मात्रै खर्च कटाएर मासिक रु ७५ हजारभन्दा बढी आम्दानी हुन्छ । फार्ममा गोलभेडासँगै च्याउ, बन्दा, काउली, भिण्डी, सिमी, अकबरे खुर्सानी लगायत विभिन्न तरकारी उत्पादन हुन्छ । बाहिरी जिल्लाबाट आयातित तरकारीलाई बिस्थापित गर्न र जिल्लामै अर्गानिक उत्पादित कृषि उपजलाई बजारीकरण गर्न अभियान शुरु भएको छ । “बजारमा अर्गानिक कृषि उपजको माग बढेको बढ्यै छ । उत्पादनले थेग्न सकेको छैन”, उनले भने, “आफ्नो फार्मबाट उत्पादित गोलभेडाले बजारको माग धान्न धौ–धौ भएको छ । केही समयपछि थप बिस्तार गर्ने योजना बनाएको छु ।”

पछिल्लो पाँच वर्षको अवधिमा कृषि, राजनीति र अध्ययनलाई सँगसँगै अगाडि बढाएका गङ्गाबहादुरले समाज शास्त्रमा स्नातकोत्तर गर्दै छन् । दश स्थानीय तह रहेको जिल्लामा यातायात अवरुद्धका कारण जिल्लाकै अन्य कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन सकिएको छैन । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको कृषकहरुको भनाइ छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।