ताजा अपडेट »

गाउँपालिका अध्यक्ष अच्यूतको कृषिकर्म : महिनामा लाखबढी आम्दानी

मंगलबार, १९ साउन २०७८, २० : १७
14 Shares

बुटवल । धेरैलाई लाग्छ, कुनै एक पेशा र जिम्मेवारी बाहेक अर्को पेशा र जिम्मेवारीलाई प्रभावकारी बनाउन गार्हो हुन्छ । अझै भन्नुपर्दा 'जनप्रतिनिधिहरु कार्यालय, कार्यक्रम र भाषणमा मात्रै व्यस्त हुन्छन्।' भन्ने लाग्छ । उनीहरुले जनताबाट उठेको रकमबाट पारिश्रमिक मात्रै लिन्छन् भन्ने आरोप पनि लाग्ने गर्दछ । तर, केहि जनप्रतिनिधिहरुले आफ्नो पद, जिम्मेवारीसँगै आयस्रोतका लागि आफ्नै निजी पेशा र कर्मलाई पनि निरन्तरता दिने गरेका छन् । यस्तै जनप्रतिनिधि मध्ये एक हुन् पाणिनी गाउँपालिका अध्यक्ष अच्यूत गौतम ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्यूत गौतम दैनिक झिसमिसे विहानमा पोखरा थोकको बाटोमा भेटिन्छन् । उज्यालो नहुँदै उनी हातमा क्यान बोकेर दूध पुर्याउन डेरीतर्फ लाग्छन् । बिहान सबेरै उठेर गोठमा भएका गाईभैसी दुहेर डेरीतर्फ लागिरहेका हुन्छन् । उनलाई न त वर्खाले रोक्छ, न त हिँउदले ।

बिहान सबेरै उठ्ने गौतम हातमुख धोएर गोठमा पस्छन् । गाईभैसीको गोबर–सोत्तर गरेर पानी दिन्छन्। अनि दूध दुन्छन् । गाईवस्तु दुहेर दूध जम्मा गर्छन् । त्यसपछि उनले डेरी तर्फको बाटो तताउँछन् । डेरीमा दूध छाडेर फर्किएपछि पून गोठमा पस्छन् । खोरबाट बाख्रा निकाल्छन् । गोठको काम सक्काएर कुखुरा फार्म तिर लाग्छन् । कुखुरालाई चारो साथै पानि दिएपछि उनी करेसाबारी तिर लाग्छन् । करेसाबारीमा झार गोड्मेलमा लाग्छन् । बोटविरुवालाई पानि हाल्दिछन् ।

गोठ, कुखुरा फर्म र करेसबारीको काम सक्काईएपछि नुहाई–धुहाई गरेर खाना खान्छन् । अनि यात्रा सुरु हुन्छ, गाउँपालिकातिरको । दिनभर गाउँपालिकाका काममा व्यस्त रहन्छन् । दिनभर जनताको सेवामा खटिरहने उनी गाउँपालिकाका कार्यक्रम, निम्ति आएको ठाउँमा र पार्टीको कामले सदरमुकाम पुग्छन् ।

उनको क्रम बिहानमात्रै होइन साँझ पनि चलिरहन्छ । साँझ पनि उनी गाईभैंसीको स्याहार–सुसारमा व्यस्त रहन्छन् । साँझ पनि दूध दुहेर डेरीमा दूध पुर्याउन जान्छन् । गौतमको गोठमा ३ वटा गाई, २ वटा भैंसी, ७ वटा बोयर जातका ब्राखा पनि छन् । ‘मनमा साहस र शरीरमा जाँगर हुने हो भने यही माटोमा सुन फलाउन सकिन्छ ।’ यो भनाई गौतमको कृषि पेशाप्रतिको लगावको पुष्टि गर्छ । गौतमका कुखुरा फर्ममा हाल १ हजार लेयर्स जातका कुखुरा, र २०० वटा लोकल कुखुरा छन् । अण्डाबाट पनि मनग्य आम्दानी गर्न सफल भएका छन् ।

२०३१ साल चैत ३० गते पोखराथोकमा जन्मिएका गौतमले पहाडको भिराला बारीमा खेतीपाती गर्छन् । उनले बारीमा २० वटा टनेल बनाएर तरकारी लगाएका छन् । उनको कृषिबारीमा लटरम्म गोलभेडा फलेका छन् । लौका, घिरौंला, बोडी, अकबरे खुसार्नी लगाएतका तरकारीहरु पनि प्रशस्तै छन् । च्याउ उत्पादन पनि उत्तिकै प्रसंशनीय छ ।

खेतीपातिमा व्यस्त अच्यूत ।

उनलाई कृषि पेशामा परिवारको उत्तीकै साथ छ । वृद्ध बुवा आमा पनि उनको खेतिपातीमा सँगै काम गर्दा उनलाई झन् हौसला मिलेको छ । उनकी श्रीमति पेशाले शिक्षक हुन् । बिहान बेलुकाका अच्यूतलाई काममा साथ दिन्छिन् । उनी भन्छन्, मैले गरेको खेतिपतीमा परिवारले राम्रो साथ दिएको छ । वृद्ध हुनुभएका बुबाआमा पनि सँगै करेसाबारीमा काममा साथ दिनुहुन्छ । यसले मलाई थप हौसला मिलेको छ ।’

विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न गौतम नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर-२ को सभापति पनि हुन् । राजनीतिमा क्रियाशील र ईमान्दार भएकै कारण गएको स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उठ्ने अवसर पाए । चुवानमा उठे र जिते पनि । चुनाव जितेपनि उनको ध्यान कृषिबाट हटेन । दिउँसो पालिकाको काम र बिहान साँझ खेतीपातिको कामका व्यस्त हुन थाले ।

लटरम्म फलेका गोलभेडा

गौतमलाई जनप्रतिनिधि भएर यस्तो काम सुहाउँदैन भनेर धेरैले भन्ने गर्छन् । तर, उनले वास्ता गर्दैनन् । यस्तो काम छाड् भन्ने शब्द सुन्दासुन्दा उनको चार वर्ष बित्यो । काम गरेर कोही पनि सानो भईदैन् भन्ने सोँचका साथ उनले कृषि पेशालाई निरन्तरता दिएका छन् । उनले यूवा वर्गलाई विदेश जान भन्दा कृषि पेशालाई अंगाल्न सुझाव दिन्छन् । उनले पालिकाबाट छुट्याइने बजेटमा पनि कृषि र पशुपालनमा महत्व दिने गरेका छन् ।

गौतमले कुखुरापालन र तरकारीबाट वार्षिक १५ देखि २० लाख रुपैँयासम्म आम्दानी गर्न सफल भएका छन् । उनले आफ्नो खेतीपातीमा ३ जनालाई मासिक १८ हजारको रोजगारी दिएका छन् । उनले उत्पादन गरेको तरकारी स्थानीय बजार, पाल्पा र बुटवलको सब्जी मण्डलीमा बिक्री हुने गरेको छ ।

पणेना, पोखराथोक क्षेत्र सुन्तला खेतीको पकेट क्षेत्र पनि हो । गौतमले हरेक वर्ष सुन्तला, कागती लगाएतका फलफूल बेचेर पनि मनग्य आम्दानी गरेका छन् । सुन्तला, मौसम, कागती गरि करिब ४०० वटा बोटविरुवा छन् । भाषण कम परिश्रम ज्यादा गर्ने गौतम गाउँ छोडेर विदेशिनेहरुको लागि उदाहरणीय पात्र बनेका छन् ।

सुरज घिमिरे
लेखकको बारेमा
सुरज घिमिरे