ताजा अपडेट »

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

मंगलबार, १९ साउन २०७८, १९ : २०
6 Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो । आजको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख ६१ हजार ८०० बराबर पुगेको छ ।

कूल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ मूल्य बराबरको कारोबार भयो । नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै, जीवन विकास लघुवित्त ९।९९ र युनियन लाइफ इन्स्योरेन्सको शेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए ।

यसैगरी, युनिलिभर नेपाल ३.७९, नबिल ब्यालेन्स फण्ड २.३३, एनआइबिएल प्रगति फण्ड २.०४, ग्रीन डेभलपमेन्ट बैंक १.९७ र समृद्धि फाइनान्सका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए । कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो । यस्तै, ङादी ग्रुप अफ पावर ४३ करोड ३२ लाख ४२ हजार, फस्ट माइक्रो फाइनान्स ३३ करोड ८६ लाख ६७ हजार ९८३, स्वाभिमान लघुवित्त रु ३० करोड चार लाख ४८ हजार २३४ र निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख ४४ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।