ताजा अपडेट »

काठमाडौँ उपत्यकामा सभा सम्मेलन नगर्न प्रशासनको अपिल

मंगलबार, १९ साउन २०७८, १८ : ५९
6 Shares

काठमाडौं । पछिल्ला केही दिनयता कोभिड–१९ को संक्रमणदर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।

भीडभाडजन्य गतिविधिले संक्रमणदर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ ।

सो सूचनामा भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लघंन गरी भीडभाडजन्य गतिविधि गरे–गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारवाही हुनेछ ।’ पछिल्लो समय संक्रमणदर बढ्दै गएपछि अस्पतालहरुमा आइसीयू, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।