ताजा अपडेट »

बुटवलबाट मौलिक र मार्मिक तीजगीत ‘लकडाउन–२’

मंगलबार, १९ साउन २०७८, १७ : ५६
10 Shares

बुटवल । तीज पर्व नजिकिँदै गर्दा ‘तीज गीतहरु’ पनि सार्वजनिक भएका छन् । धार्मिक,सामाजिक,मौलिक र नारी केन्द्रित हरितालिका तीजका अवसरमा आएका अधिकांश गीतहरु भने आधुनिकता केन्द्रित छन् । धेरै गीतहरु मध्ये केहि गीतले मात्रै पर्व र समाज अनुसारको मौलिकता झल्काउने गरेका छन् । यस्तै गीतहरु मध्ये बुटवलबाट एक मौलिक र मार्मिक गीत सार्वजनिक भएको छ ।

कुनै समाजको मात्र नभई राष्ट्रकै समसामयिक विषयमा मार्मिक र मौलिक गीत ‘ लकडाउन –२’ मार्फत ‘खुशी लुटयो, चुरा फुट्यो एक्लो बनायो…’ बोलको गीत सार्वजनिक भएको हो । श्रीनगर फिल्मस् प्रोडक्शन प्रा.लि.ले मंगलबार एक समारोहकाबीच आफ्नो यूट्यूब च्यानमार्फत सार्वजनिक गरेको छ । कलाकार तथा सर्जक चिरन बरालको शब्द,लय र संकलन रेहको उक्त गीतमा चर्चित युवा गायिका प्रिया भण्डारीको स्वर रहेको छ । त्यसैगरी गीतको भिडियोमा मनिष पन्थ,इरा भट्टराई,चिरन बराल लगाएतले अभिनय गरेका छन् ।

समसामयिक विषय,विश्वव्यापी कोरोना महामारीबाट भोग्नु परेको समस्या र पीडालाई समेटेर तयार गरिएको मार्मिक गीत पुरानो तीज भाकामा गाइएको छ भने अभिनय पनि जीवन्त रहेको सरोरकारवालाले बताएका छन् । गीतको सार्वजनिक गर्दै कार्यक्रमकी प्रमुख अतिथि,बुटवल उपमहानगरकी उपप्रमुख गोमादेवी आचार्यले गीत सबैको साझा र सबै बसेर सुन्न तथा हेर्न मिल्ने रहेको बताइन् ।

उनले गीतले समसामयिक विषयमा मौलिक प्रस्तुतीका साथ यथार्थ चित्रण गरेको भन्दै गीत तयार गर्ने सम्पूर्णलाई बधाई समेत ज्ञापन गरिन् । उनले भनिन् ‘अहिले तीजको नाममा परिवारसँग बसेर सुन्न,हेर्न नमिल्ने कैंयौं गीतहरु सार्वजनिक भएका छन् । यस गीतले महामारीमा भोगेको पीडा र मानवीय समवेदनालाई मौलिकतामा पस्केको छ । यस्तै सामाजिक र मानवीय भावना समेटेका मौलिक गीतबाट समाजमा सकारात्मक सन्देश र परिवर्तनमा टेवा पुग्दछ ।’

गीत सार्वजनिक समारोहमा गीतको समिक्षा गर्दै संस्कृतिविद् झपेन्द्र बहादुर जि.सी.ले गीतले वियोगान्त र दुःखद घटनालाई महत्व दिएको बताए । उनले भने ‘गीत राम्रो बनेको छ,लेखनदेखि स्वर र अभिनयको संयोजन मिलेको छ । युवा गायिका भइकनपनि पुरानो तीज भाका र मौलिकतामा स्वर दिन सफल भएकी छन् । गीत मार्मिक र मौलिकता झल्काएको छ । यस्तै गीतहरुसँगै समाज परिवर्तनका,रोजगार,उद्यमका,कृषिका लगाएतका गीतहरु ल्याउन आवश्यक छ ।’

बुटवलका अस्पताल र सेरोफेरोमा छायांकन गरिएको गीतको निर्देशन स्वयम् मनिष पन्थले गरेका छन् भने शिर्षक सम्पादन कमला तिवारीले गरेकी हुन् । त्यसैगरी निर्माण व्यवस्थापन लोकेन्द्र शाहले गरेका छन् । श्रीनगर फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक मनिष पन्थको अध्यक्षता,बुटवल उपमहानगरपालिका प्रमुख गोमादेवी आचार्यकाे प्रमुख आतिथ्यता र लेखक तथा साहित्यकार डि.बी.गुरुङको सञ्चालनमा गीत सार्वजनिक समारोह सम्पन्न भएको हो ।

https://youtu.be/yQYOnMBtpew
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।