ताजा अपडेट »

जुम्ला विमानस्थल स्तरोन्नतिमा ढिलाइ

मंगलबार, १९ साउन २०७८, १२ : २९
2 Shares

खलङ्गा । खलङ्गा सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि अलपत्र छ ।

दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले डिपिआर बनाए पनि  अहिलेसम्म त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन । डिपिआरमा विमानस्थल स्तरोन्ततिका लागि रु एक करोड भन्दाबढीको लागत अनुमान गरिएको थियो तर प्राधिकरणले यसमा चासो नदिएको स्थानीयवासी बताउँछन् ।

तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले ४० सिट क्षमताको जहाज अवतरण गर्न मिल्ने गरी विमानस्थल बनाउने बचन दिएकामा उनको निधन पछि कसैको पनि ध्यान पुगेको छैन । साँघुरो धावनमार्गका कारण विमानस्थलमा जहाज अवतरणमा समस्या भइरहेको छ । विसं २०७५ जेठ २६ मा तारा एयरको जहाज जुम्ला विमानस्थलकै धावनमार्गमा दुर्घटनामा परे पनि मानवीय क्षति भने हुन पाएन ।  

त्यसैबेला विमानस्थल स्तरोन्नतिका लागि पहल भएको र  प्राधिकरणको टोली पनि पटक–पटक जुम्ला पुगेर फर्के पनि कुनै काम भएको छैन । नेपालगञ्जदेखि जुम्लामा दैनिक न्यूनतम तीनदेखि पाँचवटा उडान हुने गरेको छ । साँघुरो धावनमार्गमा जोखिम मोलेरै भए पनि चालकले उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उति नै सुरक्षित र भरपर्दो हुने बताउँछन्,  तर जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन् । जोमिखका बीच पनि उडान तथा अवरतण गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।  यात्रुको चापलाई मध्यनजर गर्दा ठूलो जहाजकोे  आवश्यकता परेको  र  त्यसका लागि विमानस्थलको स्तरवृद्धि आवश्यक भएको विमानस्थलका प्रमुख प्रकाश शर्मा बताउँछन्  ।

हाल जुम्लालगायत डोल्पा, मुगु र हुम्लामा १८ सिटे जहाज सञ्चालमा  छन् । कर्णालीका अन्य जिल्लामध्ये जुम्लामा यात्रुको चाप अत्यधिक हुँदा   धेरैले टिकट नपाउने समस्या भएका कारण  विमानस्थलको स्तरोन्नति गरेर ठूला जहाज सञ्चालनको आवश्यकता भएको  रहेको उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्ष पहिले नै डिपिआर तयार भए पनि प्राधिकरण र बुद्ध एयरले अहिलेसम्म चासो नदिएको गुनासो गर्छन्।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।