ताजा अपडेट »

को हुन् तीन अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने थापा?

विहीबार, २३ साउन २०७६, ०९ : ३५
6 Shares

साउन २३,

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदका लागि मलेसियामा रहेका गैरआवासीय नेपाली इन्द्रबहादुर थापाको नाम जोडिएको विषयले यतिबेला नेपालको पर्यटन क्षेत्र र खासगरी कर्पोरेट क्षेत्र गर्मराएको छ । कतै नसुनिएको नाम इन्द्रबहादुर थापाले ३ अर्ब ३९ करोड रुपैयाँमा रिसोर्ट खरिद गर्ने विषयले धेरैको ध्यान खिच्यो । उनीबारे पर्याप्त जानकारी दिने कोही पनि छैनन् । न त उनीबारे इन्टरनेटको संसारमा नै कतै केही भेटिन्छ ।

गुगलमा समेत उनको नाम उक्त समाचारमा बाहेक अन्य ठाउँमा जोडिएको भेटिँदैन ।त्यसैले उनी को हुन भन्ने विषयको खोजीमा क्लिकमाण्डू टिम खट्यो र सुरु गर्यो उनीबारे जानकारी बटुल्न ।यसका लागि सबैभन्दा पहिलो माध्यम अपनायौं मलेसियामा रहेका नेपाली व्यापारीसँग कुराकानी । क्लिकमाण्डूको टिमसँग नजिक रहेका मलेसियामा काम गर्ने नेपालीहरु । उनीमध्ये धेरैले अर्बपति इन्द्रबहादुर थापाबारे अनविज्ञता प्रकट गरे ।यसैक्रममा भरपार्दो स्रोतसँग कुरा गर्दा संखुवासभाका इन्द्रबहादुर थापाबारे केही जानकारी प्राप्त गर्र्यौ । उनीबारे थोरै जान्ने मौका पायौं । स्रोतसँगको सोझो सम्पर्कमा थापाले आफूले नै भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट खरिद गर्न लागेको स्वीकार गरेँ । थप कुरा गर्न पाएनौं । फोन काटियो ।

थापालाई निकै नजिकबाट चिन्ने स्रोतले टाइगर प्यालेस रिसोर्ट खरिद गर्न सक्ने गरी सम्पत्ति हुनेमा आशंका गर्दा हाम्रो खोजको सुई थप जानकारी बटुल्नेतर्फ लाग्यो ।यसै क्रममा हामीले उनको फेसबुक पत्ता लगायौं । उनका तीन वटा फेसबुक आईडी पत्ता लाग्यो ।जसमध्ये एक आईडीबाट उनले जुलाई ३१ तारिखमा मकाउबाट सञ्चालित न्यूज पोर्टल इन्साइड एयिसन गेमिङको वेवसाइटमा ३४ मिलियन अमेरिकी डलरमा भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट खरिद गर्नका लागि इन्द्रबहादुर थापासँग कन्डिसनल बाइन्डिङ अफर प्राप्त गरेको समाचारको लिंक सेयर गरेको पाइयो ।तर यत्तिले मात्रै पुगेन ।यसले हामीले खोजी गरिरहेको इन्द्रबहादुर थापा उनै हुन भन्ने शंकालाई अझ बलियो बनायो । तर यथेष्ठ प्रमाण नभएकाले कुनै निचोडमा पुगेनौ ।

नेपालमा निरन्तर आवतजावत गर्ने उनले फेसबुकमा सेयर गरेको लिंकमा एउटा मात्रै लाइक र एउटा मात्रै सेयर छ । कसैले कमेन्टमार्फत बधाइ दिएको पनि छैन । त्यसैले नाम मिलेकै आधारमा रमाइलोका लागि लिंक सेयर गरेको त होइन भन्ने शंकाले हाम्रो अध्ययनलाई टुंग्याउने खाजे जस्तो भयो ।तर हामी यतिमा मात्रै सीमित भएनौं । उनीसँग सम्पर्कका लागि प्राप्त २ वटा मलेसियन फोन नम्बरमा सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । भाइबर, ह्वाट्सएपमार्फत पनि उनी सम्पर्कमा आएनन् ।

हामी उनको फेसबुक अध्ययन र नेपालबारे थप जानकारी लिन मोडियौं । यसैबीच हामीले थाहा पायौं कि उनकी श्रीमती नेपालमै बस्छिन । पत्रकारिता, मानवअधिकार तथा म्यानपावर व्यवसायमा संलग्न छिन् । यति थाहा पाएपछि उनकी पत्नीसँग फोनमार्फत सम्पर्क गर्र्यौ ।तर उनकी पत्नीले यसबारेमा बोल्न चाहिनन् । भनिन, ‘म अहिले काठमाडौं बाहिर छु, भेट्न मिल्दैन, यसबारेमा मैले केही पनि बोल्न मिल्दैन, उहाँलाई नै सोध्नुहोस ।’

हामीले फोन नम्बर पाएर पनि सम्पर्क हुन सकेन भन्दा उनले अहिले इन्द्रबहादुर थापा मलेसियामा नभएकाले फोन नलागेको हुन सक्ने बताइन् । र, जे जति कुरा गर्नु छ उतै सम्पर्क गर्न आग्रह गरिन् ।फेसबुकमा उनकी साली भेटिइन । म्यानपावर व्यवसाय र राजनीति गर्ने उनी एउटा गाउँपालिकाकी उपाध्यक्ष समेत रहिछन् ।

उनीसँग सम्पर्क गर्न खोज्दा उनले त्यस्तो होइन होला । भिनाजुले खरिद गरेको होइन होला भन्दै पन्छिन खोजिन । भनिन, ‘यसबारेमा मलाई पनि फोन आएको थियो, तर उहाँ होइन ।’सालीले नै होइन भनेपछि हामी मलेसियाका कम्पनीहरुसँग काम गर्ने म्यानपावर व्यवसायीहरुलाई भेट्यौं । यसक्रममा एक जनाले पत्नीमार्फत इन्द्रबहादुर थापालाई चिनेको पाइयो । तर उनले पनि यति धेरै पैसा हुने नेपाली हुन भन्दा पत्याएनन ।

इन्द्रबहादुर थापाको मलेसियास्थित कार्यालय

उनले भने, ‘मलेसियामा राम्रो आम्दानी गरेको हुन सक्छ, तर यति ठूलो रकम छ भन्नेमा पारिवारिक वातावरण हेर्दा मलाई चै लाग्दैन ।’त्यसपछि हामी फेरि थापाको मोबाइलमा फोनको घण्टी बजाइरह्यौं । तर लाग्दै नलाग्ने । तर मंगलबार दिउँसो २ः३८ बजे १ मिनेट ४४ सेकेन्ड कुरा गर्न पायौं । जसमा इन्द्रबहादुर थापाले त्यो व्यक्ती आफै हो भनेर स्वीकार गरेँ । तर व्यस्त समयका कारण थप बोल्न चाहेनन । फोन काटियो ।बुधबार बिहान १०ः२४ बजे फोन लगायौं । १२ मिनेट ३३ सेकेन्ड कुरा भयो । जसमा उनले रिसोर्ट खरिदमा आएको नाम आफ्नो भएको दोहोर्याएँ र भने, ‘म नै हो तर यति धेरै चर्चाको विषय त होइन होला ।’

इन्डोनेसियाको सरकारीस्तरमा हुने मिटिङका लागि १ दिने भ्रमणमा त्यतातर्फ जाँदै गरेको र अहिले एयरपोर्टमा भएको जानकारी दिँदै उनले छोटो कुराकानी गरे ।जसमा उनले सम्पत्तिको स्रोत, खरिद प्रक्रियाका लागि सक्षिप्त रुपमा जानकारी सेयर गरे ।

प्रस्तुत छ उनै इन्द्रबहादुर थापासँग लागि गरेको कुराकानीको सार ।

भैरहवास्थित टाइगर प्यालेस रिसोर्टको खरिदमा इन्द्रबहादुर थापाको नाम जोडिएको छ । इन्द्रबहादुर थापा भन्ने हजुर नै हो ?
-हो हजुर । मै हो । मलेसियामा त्यो स्केलको बिजनेस गर्ने नेपाली म मात्रै हो । अरु छैनन् ।

मलेसियामा के व्यवसाय गर्नुहुन्छ ?

-मलेसियामा मैले कन्स्ट्रक्सनको बिजनेस छ । इन्जिनियरिङको बिजनेस छ । सेक्युरिटीको पनि छ ।

खरिदका लागि नेपाल आउनु भएको थियो कि अष्ट्रेलिया जानु भएको थियो ?
-नेपाल पनि आएको थिए । त्यसपछि अष्ट्रेलिया गएँ । मलेसिया फर्केको ३/४ दिन जति भयो ।

खरिदका लागि पैसा पनि दिइसक्नु भएको हो वा सम्झौता भइसकेको के हो सर अहिले ?
इस्क्रो अकाउन्ट अन्तर्गतको ३० लाख डलर दिइसकेको छु । अस्ती सोमबार नै जम्मा भइसक्यो त्यो पैसा । अरु प्रक्रियामा छ ।

खरिद आफू एक्लैले गर्नु भएको कि, अरु पार्टनरहरु पनि छन ?

-म एक्लैले हो । मलेसियामा, दुबईमा भएको सबै बिजनेस म एक्लैको हो । अरु पार्टनर छैनन् । यसका लागि हङकङ बेस्ड कन्सलट्यान्ट हायर गरेका छौं ।

टाइगर प्यालेस किन्नका लागि कहिले आउनु भएको थियो ?म होटल किन्नका लागि आएको थिएन । अरुण तेस्रो जलविद्युतको कन्ट्रयाकको टेन्डर पाइन्छ कि भनेर बिडिङ गर्न केही समय अगाडि नेपाल आएको थिए । तर इन्डियनहरुले दिएनन । अनि उनीहरुले हङकङमा बिडिङ खुलाएको थाहा पाएँ, मैले ट्राइ गरेको हो ।

टाइगर प्यालेस खरिद गर्न बिडिङ प्रक्रिया सुरु भएको कति समय भयो ?

-बिडिङ सुरु भएको छ ७ महिना अगाडिदेखि हो । तर बीचमा उनीहरुसँग जिकज्याक भइरहेको थियो । उनीहरु आफैले सेयरहोल्डरहरुसँग कुरा मिलेको थिएन । सायद अझै पनि उनीहरुको फाइनल भइसकेको छैन होला ।

सम्पत्तिको स्रोत देखाउँदा २० अर्ब रुपैयाँको बैंक स्टेटमेन्ट देखाउनु पर्ने भनिएको थियो रे, अनि हजुरले पनि देखाउनु भयो रे । के त्यो साँचो हो ? सबै तपाईकै पैसा हो ?
-ए होइन त्यो । सिंगापुरमा जम्मा भएको पैसा हो । नेपालमा बैंकिङ क्षेत्रमा लगानी गर्न चाहने मानिसहरुको पैसा हो । मेरो अकाउन्टमा जम्मा गरिदिएको पैसा हो । तर मेरो पैसा होइन ।

त्यो पैसा चै कस्को हो ?

-बैंकिङ क्षेत्रमा लगानी गर्न चाहने व्यक्तिहरुको हो । त्यसमा १ सय ५० करोड मेरो हो । अरु पैसा होइन । मैले नेपाल पैसा ट्रान्सफर गर्न खोज्दा सिंगापुरमा खोजतलास भयो । त्यसै क्रममा मेरो पैसा समेत ब्लक गरिदिएर राखियो । अहिले त्यो पैसा रिर्टन हुने क्रममा छ । उनीहरुले इनकम ट्याक्सको कागजपत्र मगाएर भेरिफिकेसन गरेर त्यो पैसा रिर्टनको क्रममा छ ।

झण्डै ४ अर्ब लगानी छ, त्यसमा तपाईको मात्रै लगानी हो कि अरुको पनि लगानी छ ?
-होइन होइन । अरुको छैन् । मेरो मात्रै लगानी हो ।

भनेपछि तपाईको १५० करोड रुपैयाँ मात्रै हो, अरु पैसा छैन ?

-त्यो १५० करोड मेरो हो । अरु होइन । यता मलेसियामा भएको ४ अर्ब ८० करोड मेरो हो ।

मलेसियामा सेक्युरिटी कम्पनी पनि छ भन्ने सुनेको थिए । गियर–अन भन्ने कम्पनी नै हो ?
-होइन । गियर अन भन्ने कम्पनी इन्जिनियरिङ कम्पनी हो । बाँकी ३ वटा अन्य सेक्युरिटी कम्पनी पनि छ ।

हजुरहरुको पुस्ता पनि आर्मीमै हो कि के हो ?

-मेरो बाजे पहिलो विश्वयुद्धमा र बुबा दोस्रो विश्वयुद्धमा लड्नु भएको हो । दाजुहरु पनि सबै ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो ।

हजुर पनि इन्डियन आर्मी हो भन्ने सुनेको थिए, के हो ?

-म पनि इन्डियन आर्मीको अफिसर थिए । गार्डस रेजिमेन्टमा । त्यहाँ १० वर्ष काम गरेको थिए । त्यहाँबाट म एजुकेशन अफिसरका रुपमा बु्रनाई गएँ । त्यहाँ ४ वर्ष काम गरेपछि म व्यापार बिजनेसतिर लागेको हो ।

मलेसिया जानु भएको कति वर्ष भयो ?

-सन् १९८८ मा बु्रनाईबाट आएको हो सबैभन्दा पहिले । एक जना व्यापारीसँग चिनजान भयो । उसैले ल्याएको हो मलाई मलेसियामा । -साभार : https://clickmandu.com बाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।