ताजा अपडेट »

प्रमुख प्राथमिकता खोप: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

सोमबार, १८ साउन २०७८, १८ : ४६
8 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताएका छन्। सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे आज २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले खोप आयात, भण्डारण र कोभिड–१९ का सङ्क्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी असोज मसान्तसम्म दुई करोड मात्रा खोप ल्याइने भएकामा ९७ लाख ८२ हजार खोप प्राप्त भइसकेको र थप एक करोड दुई लाख खोप खरिद गरिने राज्यमन्त्री श्रेष्ठले उल्लेख गरे। खरिदमार्फत भेरोसेल ६० लाख मात्रा, १० लाख कोभिसिल्ड (यसअघि खरिद गरिएको), अनुदानमार्फत जापानबाट एस्ट्राजेनिका १६ लाख मात्रा र चीनबाट १६ लाख भेरोसेल आउन बाँकी छ ।

मन्त्री श्रेष्ठले कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख, कोभ्याक्सको लागत सहभागिमतामा एक करोड ५० लाख खोप ल्याइने बताए। लागत सहभागितामा ४० लाख मात्राको भुक्तानी भइसकेको र एक करोड १० लाख मात्रा खोपको भुक्तानी प्रक्रियामा छ ।

यसैगरी, १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ६० लाख फाइजर खोप पनि ल्याइने छ। उनका अनुसार कूल तीन करोड २३ लाख मात्रा खोपका लागि खरीद प्रक्रिया शुरु भएको छ। आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बालबालिकाका लागि ४० लाख मात्रा मोर्डना खोप, ‘जोन्सन एण्ड जोसन्न’ ५० लाख मात्रा र फाइजर ४० लाख मात्रा र एस्ट्राजेनिका २० लाख मात्रा खरीदका लागि प्रक्रिया शुरु गरिएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

अबको दुई हप्तामा भेरोसेल १६ लाख मात्रा र एस्ट्राजेनिका १६ लाख आउने र आगामी माघसम्ममा तीन करोड २३ लाख मात्रा खोप आउने उनले जानकारी दिए। बिपी क्यान्सर अस्पताल र वीर अस्पतालमा सार्वजनिक भएका घटना समाधानका लागि छुट्टाछुट्टै कार्यदल बनाएर काम अघि बढाइएको र बिपी अस्पतालमा आन्दोलन स्थगित गरी अस्पताल गर्नसमेत निर्देशन दिइएको र वीर अस्पतालमा देखिएका समस्या पनि चाँडै समाधान गरिने उनको भनाइ थियो ।

विदेश जाने प्रयोजनका लागि खोप लगाएकाको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइने, कोभिड–१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पिपिइलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको जनाइएको छ ।

अतिरिक्त जनस्वास्थ्यकर्मी परिचालन गरी कोभिड–१९ को एन्टिजेन र पिसिआर परीक्षणको दायरा विस्तार गरिने कोभिड–१९ को उपचारका लागि अस्पतालमा रिक्त श्ययाको विवरण तत्काल अद्यावधिक गरी बिरामी भर्ना प्रक्रिया सहजीकरण गरिने भविष्यमा आइपर्न सक्ने तेस्रो लहर विरुद्ध समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिने भएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।