ताजा अपडेट »

दाङको राप्ती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

सोमबार, १८ साउन २०७८, ०७ : १६
4 Shares

दाङ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई प्रतिमान निमा मेमोरियल फाउन्डेसनले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले अस्पताललाई १० वटा अक्सिजन सिलिन्डर, १० लिटरको अक्सिजन कन्सन्ट्रेट ८ वटालगायतका सामग्री आइतबार सहयोग गरेको हो ।

त्यस्तै अक्सिजन रेगुलेटर १० वटा , पीपीई २ सय सेट, सर्जिकल मास्क १ हजार सेट, सर्जिकल क्याप २ सय सेट, फेस सिल्ड २ सय पिस, सुज कभर २ सय सेट, ग्लोब्स २ सय र स्यानीटाईजर १ सय २० लिटर सहयोग गरेको संस्थाका निर्देशक धर्मबहादुर केसीले बताए । भैरहवामा रहेको उक्त संस्थाले कोभिड १९ बाट प्रभावितका लागि राहत तथा सहयोग कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पतालहरूमा स्वास्थ्य सामाग्रीहरू प्रदान गरेको समेत उनले बताए । निर्देशक केसी राप्ती प्रादेशिक अस्पतालका लागि ल्याइएको स्वास्थ्य सामग्री दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा बोल्दै प्रजिअ कुरुम्बाङले यसरी आवश्यक सामग्री प्रदान गर्नु दाङका लागि ठूलो राहत भएको बताए । उनले दोस्रो लहरमा सबैभन्दा बढि अक्सिजनको अभाव ब्यहोरेको भन्दै त्यसका लागि जिल्लामा धेरै ठाउँहरूमा अक्सिजन उद्योग स्थापना भएका र अब सहज हुने समेत बताए । त्यस्तै, उनले तेस्रो लहरका धेरै भन्दा बढि प्रभावित बालबालिकाहरू हुने भन्ने विज्ञहरूले भनिरहेको अवस्थामा आफूहरूले अस्पतालमा बालबालिकाहरूको लागि बेडहरुको ब्यवस्था पनि गर्न लागेको बताए । साथै, उनले तेस्रो लहरमा स्वास्थ्यकर्मीहरू पनि धेरै व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै आफूहरूले त्यसतर्फ पनि ध्यान दिइएको बताए ।

त्यस्तै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले संस्थाले दिइएको स्वास्थ्य सामाग्रीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई धेरै राहत हुने समेत बताए । उनले महामारीको समयमा आफूहरू अग्रपंक्तिमै खटिएर काम गर्दै आइरहेको भन्दै उनले यस सहयोगबाट थप उर्जा मिल्ने समेत बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।