ताजा अपडेट »

विश्व विद्यालयको स्वायत्त शैक्षिक कार्यक्रम भ्रम र वास्तविकता

सोमबार, १८ साउन २०७८, ०४ : ५९
52 Shares

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार २०६२ सालमा स्वायत्तता सम्बन्धी नियम बनेको छ । विश्वविद्यालय शिक्षा प्रणालिमा आवद्ध क्याम्पसहरुलाई स्वायत्तता दिएर गुणस्तरिय शिक्षामा सुधार ल्याउने उद्देश्यले यो नियम बनाइएको हो । यो विश्वव्यापी अभ्यास पनि हो । अहिले हामी नेपालमा संघीय शासन प्रणालीको अभ्यासमा छौं । संघीयता विकेन्द्रिकरण भन्दा अझै एक स्टेप अगाडिको अग्रगमन हो । नेपालको विश्वविद्यालय शिक्षाको सन्दर्भमा स्वायत्तताको अभ्यास नौलो हो । वास्तवमा शिक्षामा विकेन्द्रिकरणको अभ्यास हो स्वायत्तताको अभ्यास । यस अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरको र फरक गुणस्तरिय शिक्षा प्रदान गर्ने साधनको रुपमा लिइन्छ । भारतमा सन् १९८६को शिक्षा नितीको कार्यान्वयनका दौरान स्वायत्त क्याम्पसको अवधारणा ३५ वर्ष अघिदेखि सुरु भएको थियो ।

विश्वविद्यालयको स्वायत्त शैक्षिक कार्यक्रम त्रि. वि. सभाद्वारा२०६२ सालमा पारित भइ २०६८मा संशोधन, परिमार्जन भएर अहिले लागू भैसकेका छन् । क्याम्पसलाई दिइएको स्वायत्तताको कुरामा सरोकारवाला विद्यार्थी र अभिभावकहरुमा अझै केहि अन्योल र भ्रम रहेजस्तो देखिन्छ । वास्तवमा स्वायत्तताको कुरालाई निजी क्षेत्रलाई क्याम्पस संचालन गर्न दिने कुरासँग जोडेर बुझ्नु हुँदैन। यो अलि बेग्लै खालको अभ्यास हो । पब्लिक क्याम्पस वास्तवमा समुदायको आर्थिक सहयोग र व्यवस्थापनमा चल्ने क्याम्पस हुन् । उनीहरुले पूँजिगत खर्चका लागिमात्र सरकारी कोषबाट विश्वविद्यालय अनुदान आयोगमार्फत वित्तिय सहयोग पाउँछन् ।

विद्यार्थीले हासिल गरेको शैक्षिक डिग्रीको प्रमाण पत्र विश्वविद्यालयले नै प्रमाणिकरण गरेर दिने हो । विश्वविद्यालयको ऐन, नियम, डिन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय आदिको नियमन र अनुगमन हुने हुँदा ‘प्राइभेट’ जस्तो हुने हो कि भन्ने सन्देह रहदैन । शैक्षिक कार्यक्रमको संचालन, व्यवस्थापन र परीक्षा प्रणालीमात्र स्वायत्त हुने हो । विश्वविद्यालय अनुदान आयोग मार्फत पूर्वाधार विकास, फ्याकल्टी विकास एवं अनुसन्धान र विकासमा पर्याप्त लगानी हुने हुँदा स्वायत्त क्याम्पसहरुको गुणस्तरीयता र विश्वसनियतामा सन्देह गर्नुपर्दैन ।

स्वायत्त क्याम्पसलाई मानव शंसाधनलाई सम्पत्तिको रुपमा व्यवस्था गर्ने, श्रोत जुटाउने, विद्यार्थी भर्ना लिने जस्ता अधिकार प्रदान गरिएको हुन्छ । यसो हुँदा क्याम्पसहरु अझ सिर्जनशिल र सांगठनिक रुपमा चुस्त दुरुस्त हुन्छन् । श्रोत साधनको अधिकतम प्रयोग/सदुपयोग हुन्छ । अहिले त्रि वि का कैयौं कार्यक्रममा देखिएजस्तो विद्यार्थी भन्दा प्राध्यापक धेरै हुने अवस्था निर्माण हुन्न । प्राध्यापकहरुमा पनि पेशाप्रति लगाव हुन्छ । आंगिक क्याम्पसमा हाजिर गर्न मात्र जाने र दिनरात निजी कलेज/स्कुलमा मिहिनेत गर्ने अधिकांश स्थायी/करार प्राध्यापकहरुको बेथिती कम गर्न सकिन्छ ।

स्वायत्तताले नयाँ नयाँ प्रविधीहरुको विकास र प्रयोग गरि ज्ञान विज्ञानको क्षेत्रलाई अझ बढी व्यापक र व्यवहारिक बनाउन सहयोग गर्छ । जीवनपर्यन्त शिक्षाको मूलभूत उद्देश्यको परिधिभित्र रहेर जीवनोपयोगी विषयहरुमा तालिम, पुनर्ताजगी कार्यक्रम संचालन गर्न सक्छन् स्वायत्त क्याम्पसहरुले । प्राज्ञिक रुपमा सक्षम बन्न चाहने विद्यार्थीहरुले अधिकतम भर्नाको अवसर पाउछन् । क्याम्पस व्यवस्थापन सम्बन्धी निर्णय प्रक्रियामा सरोकारवालाको अत्यधिक प्रतिनिधित्व हुने व्यवस्था गरेको छ स्वायत्तता सम्बन्धी नियमले ।

विश्वविद्यालयको अस्तव्यस्त शैक्षिक कार्यतालिका, समयमा परीक्षा नहुने । नतिजा ढिलो गरि प्रकाशन हुने । प्रश्नपत्र र परीक्षा प्रणालीबारे बेलाबेलामा प्रश्न उठ्ने गरेको सन्दर्भमा यसरी आफ्नो मातहतमा सञ्चालित क्याम्पसहरुले स्वायत्त ढंगले शैक्षिक क्रियाकलाप गर्न पाउँदा पठनपाठन र परीक्षा प्रणाली पनि चुस्त दुरुस्त हुन्छ । समयमा पठनपाठन सञ्चालन हुने र निर्धारित समयमा परीक्षा भइ नतिजा निस्किदा विद्यार्थीहरुको समय (वर्ष) खेर जादैन । अध्ययन पश्चात उनीहरु तुरुन्तै आ-आफ्नो रोजाइका पेशा र क्षेत्रमा प्रवेश गर्न पाउँछन् ।

स्वायत्तता प्राप्त गर्नका लागि सम्बन्धित क्याम्पसको आर्थिक स्थिती बलियो हुनुपर्दछ । प्राज्ञिक दक्षता तथा संस्थागत क्षमता सबल हुनुपर्दछ । यि सबै कुरामा आफूलाई अब्बल बनाएर लुम्बिनी वाणिज्य क्याम्पसले स्वायत्त मोडेलका स्नातक र स्नातकोत्तर तहका विभिन्न खाले नयाँ कोर्ष पढाउदै आएको छ । क्याम्पसले विश्वविद्यालय शिक्षामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । व्यवस्थापन शिक्षामा विशिष्टिकरण गर्दै आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट निरन्तर गुणस्तर प्रत्यायन प्राप्त यो क्याम्पस यतिबेला मानित विश्वविद्यालयमा रुपान्तरण भएर आफ्नो शैक्षिक सेवा विस्तार गर्ने महत्वाकांक्षा सहित तयारीमा जुटेको छ ।

प्रथम ब्याचका विद्यार्थीहरुले अध्ययन पुरा गरि अहिले विभिन्न क्षेत्रमा रोजगार समेत भैसकेका छन् । अब्बल ठहरिएका छन् । तर हरेक वर्ष जब नयाँ शत्रको भर्ना कार्यक्रम शुरु हुन्छ विभिन्न खालका अवरोध सिर्जना हुने र विद्यार्थी बर्गबाट नै विरोधका कार्यक्रमहरु आउँदा सरोकारवाला विद्यार्थी र अभिभावक भ्रममा परेका छन् । सफलतापुर्वक चलिरहेको स्वायत्त कार्यक्रम खास गरेर ‘एम बि एस-एफ’ को भर्ना फाराम भरेका विद्यार्थीहरुलाई दिग्भ्रमित गर्ने गरि फाराम भर्न स्वयं विद्यार्थीहरुले नै निरुत्साहन गरिदैछ । बिबिएस, एम बि एस जस्ता त्रि वि का कार्यक्रमहरु वास्तवमा नविन होेईनन् ।

पच्चिस वर्ष अघिदेखि सञ्चालनमा रहेका यि कार्यक्रमहरु भन्दा समयसापेक्ष डिजाईन गरिएका स्वायत्त कार्यक्रमबाट विश्वस्तरमा प्रतिष्पर्धा गर्ने काबिल जनशक्ति निर्माण हुने कुरामा सबैले होष्टेमा हैसे गर्नुपर्ने हो । भारतमा सन्तानब्बे वटा विश्वविद्यालयका पाँच सयभन्दा बढी स्वायत्त क्याम्पसहरु सञ्चालित छन् । तिनै कलेजहरुमा नेपालबाट प्रत्येक बर्ष उच्च शिक्षा लिन थुप्रै विद्यार्थी गैरहेका छन् । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको चिन्ता र अभिभावकहरुकोे सरोकारलाई स्वायत्त कार्यक्रमले सम्बोधन गर्छ । विश्वस्तरको विश्वविद्यालय शिक्षा आफ्नै घरदैलोमा उपलब्ध हुनु वास्तवमा हाम्रा लागि गौरवको विषय हो ।

स्वायत्त क्याम्पसलाई आप्mनो मौलिक कोर्ष निर्धारण गर्ने, तोक्ने, पाठ्यक्रम बनाउने, स्थानीय आवश्यकता पुरा गर्न सक्ने गरि पाठ्यक्रम पुनःसंरचना गर्ने स्वतन्त्रता दिइएको हुन्छ । मातृ संस्था वा संरक्षकको रुपमा स्वायत्तता दिने विश्वविद्यालयले अनुगमन र नियन्त्रण गर्दे पथप्रदर्शन गर्छन् । र विश्वविद्यालयको नाममा नै विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउँछन्, दीक्षान्त समारोहमा सहभागी भै दिक्षित हुने अवसर पाउँछन् । सक्षम जनशक्तिको रुपमा बजारमा विद्यमान हरेक अवसर प्राप्त गर्ने बाटो यथाबत नै रहन्छ ।

देशको शिक्षा प्रणाली माथि उठिरहेको प्रश्न केहि हद सम्म न्यूनिकरण हुनेछ । स्वायत्त कार्यक्रम पूर्ण विश्वासका साथ र सफलतापूर्वक संचालन गर्न लुम्बिनी बाणिज्य क्याम्पस हरेक हिसाबले सक्षम देखिन्छ । एक दुईवटा कार्यक्रमको सफल परिक्षणबाट अब क्याम्पसले सबै स्वायत्त शैक्षिक कार्यक्रमहरु मत्र चलाउँदैछ । बिसौं वर्ष पहिले डिजाइन गरिएका पाठ्यक्रम हजुरबादेखि नाति पुस्तासम्म आइपुग्दा समेत हुबहु पढाइ भैरहेका छन् । यस्तो परिप्रेक्षमा अब पाठ्यक्रमहरु, शैक्षिक कार्यक्रमहरु समयानुकुल परिमार्जित गर्दै विद्यार्थी, बजार र समाजको आवश्यकता अनुसारको शैक्षिक डिग्री प्रदान गर्न लुम्बिनी बाणिज्य क्याम्पसले स्वायत्तताको जुन माध्यम रोजेको छ यसलाई लक्ष्यमा पुर्याउन सरोकारवाला सबैको सकारात्मक दृष्टिकोणबाट मात्रै सम्भव हुन्छ ।

https://www.globalaawaj.com/archives/122149
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।