ताजा अपडेट »

गाउँपालिका उपाध्यक्ष सुनितालाई कक्षा १२ को परीक्षाले चिन्ता !

आइतबार, १७ साउन २०७८, १८ : ३८
6 Shares

बुटवल । बिहान बेलुका चुलो–चौको र दिउँसोमा गाउँपालिका कार्यालयमा व्यस्त रहने रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारलाई नजिँकिदै गरेको परीक्षाले चिन्ता बढेको छ । उमेरले ३१ वर्ष पुगेकी उनी स्थानीय नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन्। परीक्षा नजिँकिदै गर्दा पनि उनले घरायसी कामकाज र गाउँपालिकाको कामले अध्ययनमा ध्यान दिन पाएकी छैनन् । पढाइलाई उमेर र कामले पनि छेक्दैन भन्ने भनाइलाई उपाध्यक्षको अध्ययन प्रतिको लगाबले पुष्टि गर्छ ।

सानो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी उनले ८ कक्षा त उत्तिर्ण गरिन् । तर, पढाई बीचमै छोड्नुपर्यो । उनी भन्छिन्, '८ वर्षकी छँदा विवाह भयो, घरायसी कामकाजमा व्यस्त हुन थाले । पढ्ने मौका मिलेन ।' कपिलवस्तुमा जन्मिएकी उनी रुपन्देहीको मर्चवारीमा विवाह गरेर आईन् । विवाह भएको केही वर्ष पढ्ने सुरसार भएन् । केही वर्षपछि १० कक्षामात्रै उत्तिर्ण गरेका श्रीमान शिवशंकर कलवारले उनलाई उच्च शिक्षा हासिल गराउने निधो गरे । श्रीमान शिवशंकर कलवारसँगको सल्लाहमा नजिकैको स्कूलमा कक्षा ९ मा भर्ना भइन् । त्यहाँबाट उनको अगाडिको पढाईले निरन्तरता पाउन थाल्यो । घरको कामसँगै पढ्न पनि थालिन् । त्यसबीचमा उनी दुई छोरी र दुई छोराकी आमा बनिन् ।
उनको श्रीमान शिवशंकर, पेशाले व्यवसायी हुन्। विस्तारै, स्थानीय तहको निर्वाचनको तामझाम सुरु हुन थाल्यो । जनता समाजवादी पार्टीका क्रियाशील सदस्य समेत रहेका शिवशंकरले चुनाव लड्ने योजना बनाएका थिए । तर, उक्त पदमा महिलाले टिकट पाएने भएपछि उनले श्रीमति सुनितालाई चुनावमा उठाए ।

घरभित्र घुम्टो ओडेर दिनचर्या विताउने सुनिता चुनावी प्रचारप्रसारमा गाउँगाउँमा पनि डुल्न थालिन् । अन्तत : चुनाव जितिन् । घरायशी कामकाज, पढाई सँगसँगै सुनितामाथि अर्को ठूलो जिम्मेवारी पनि थपियो । जनता समाजवादी पार्टीबाट चुनाव जितेकी उनी गाउँपालिकाका कार्यक्रम, विकास निर्माणका योजनाहरुमा पनि सहभागी हुन थालिन् ।

शिक्षाको कमीले सुरुमा उनलाई गाउँपालिकाका कामकाजमा समस्या हुन् थाल्यो । ८ कक्षा उत्तीर्ण गरेर पढाई छाडेकी उनले हरेक क्षेत्रमा अगाडि बढ्न पढाई महत्वपूर्ण हुने बुझिन् । जनप्रतिनिधिको जिम्मेवारी साथै आमाको कर्तव्य, घरमा बुहारीको जिम्मेवारीले स्कुल जान पाइनन् । घरमै बसी एसईई साथै शिक्षा संकाय तर्फबाट कक्षा ११ समेत उत्तिर्ण गरिन् । कहिलेकाँही विद्यालय जाने उनी सबैसँग घुलमिल भएको बताउँछिन् । उनी सँगै पढ्ने साथीभाई मात्र होइन उनको लगावलाई देखेर शिक्षक पनि गर्व गर्छन् । सुरुसुरुमा समस्या भएपनि विस्तारै हरेक समस्याको डटेर समाधान गर्ने हिम्मत जुटेको उनी बताउँछिन् । अधिकार पाए महिलाले पनि पुरुषले जस्तै नेतृत्व गर्न सकिने उनको भनाई छ ।

बिहान सबेरै उठेर घरको कामकाज सक्काएर उनी १० बजे कार्यालयमा पुग्छिन् । कार्यालयका सर्वसाधारणका समस्याहरु सजिलै समाधान गर्ने भईसकेकि छन् । उनी जनताका गुनासाहरु सुन्नेखि लिएर जो सँग नि निर्धक बोल्ने गर्छिन् । निम्तो आएका कार्यक्रमहरुमा पुग्ने बताउँछिन् ।
चारवर्ष बढी गाउँपालिकामा बिताएकी उनले विशेष गरि पिछडिएका वा बञ्चितमा परेका महिलाहरुको हितमा काम गरेको बताइन् । उनले महिलाहरुको लागि लैगिंक हिंसा, सीप मूलक तालिमहरुलाई विशेष जोड दिएको बताउँछिन् । उनले गाउँपालिकाका चित्त बुझे कुराहरुमा पालिका अध्यक्ष तथा अन्य पदाधीकारीहरुसँग छलफल गर्ने, आफ्ना जिज्ञासाहरु राख्न पहल गर्छिन्। उनले न्यायिक समितिको जिम्मेवारी पनि सम्हालेकी छन् । न्यायिक समितिमा आएका समाजका मुद्दाहरु समाधान गर्न हरपल खटिरहन्छिन् ।

उनलाई उनका श्रीमानले कार्यालय पुर्याउन र घर ल्याउन सहयोग गर्दछन् । सुनिताले यही साउन ३१ गते बाट सुरु हुन लागेको कक्षा १२ को परीक्षामा सहभागि हुन तयारी गरिरहेकी छिन् । उनले परीक्षा अवधिभर परीक्षा र गाउँपालिकाको कामलाईसँगै अगाडि बढाउने बताउँछिन् । डिग्रीसम्म पढ्ने उनको धोको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।