ताजा अपडेट »

अर्घाखाँचीमा निषेधाज्ञामा कडाई, सवारी पास बिना जिल्ला प्रवेश निषेध

आइतबार, १७ साउन २०७८, १६ : ४२
6 Shares

बुटवल । अर्घाखाँचीमा सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ । कोरोना संक्रमण बढेपछि निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अत्यावश्यक कामको लागि जिल्लामा आउनु पर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर मात्र आउन सकिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । ‘निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाइएकोले अत्यावश्यक कामको लागि यस जिल्लामा आउनु पर्ने भएमा यस कार्यालयको सहमतिमा सम्बन्धीत जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर मात्र आउनु हुन अनुरोध छ ।’–सूचनामा भनिएको छ ।

यस्तै परीक्षा दिने विद्यार्थीहरुका लागि परीक्षा केन्द्रसम्म जानका लागि भने सवारी पासको आवश्यक नपर्ने प्रशासनले जनाएको छ । ‘लोक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा वसायिक तालिम परिषद् लगायतका निकायबाट पूर्वनिर्धारित परीक्षाहरुमा सहभागी हुने परीक्षार्थीहरुलाई मात्र परीक्षा केन्द्र सम्म जानको लागि सवारी पास आवश्यक नपर्ने भएकोले प्रवेश पत्र र परिचय पत्रको आधारमा सहजीकरण गरिने व्यहोरा जानकारी गराइन्छ ।’–सूचनामा भनिएको छ । अर्घाखाँचीमा साउन ३० गतेसम्म निषेधाज्ञा कायम रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।