ताजा अपडेट »

गुल्मीका सरकारी कार्यालयमा छड्के, कर्मचारी परिचय पत्र विना सेवामा

बुधबार, २२ साउन २०७६, १२ : २२
2 Shares

साउन २२,
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा रहेका सरकारी कार्यालयहरुमा छडके निरिक्षण एवम् अनुगमन गरेको छ । मंगलवार तम्घासमा रहेका बिभिन्न २० वटा कार्यालयहरुमा अनुगमन गरिएको हो ।

प्रशासकीय अधिकृत द्वय उद्वव पन्थी र लक्ष्मण पाण्डेको नेतृत्वमा २ समूह बनाई गरिएको थियो । जिल्लामा सुशासन सेवाप्रवाह भरपर्दो बनाउने उद्देश्यानुसार नियमित कार्यालय निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । राष्ट्रसेवक कर्मचारीहरुलाई अनुशासित र मर्यादित बनाउन प्रमुख कार्यालयहरुमा अनुगमन र निरिक्षण सुरु गरिएको पौडेलले बताए । कार्यालय अनुगमन निरीक्षणबाट २० वटा कार्यालयमा २ सय ६७ जनशक्तिको दरबन्दी भएकोमा १ सय ६८ मात्र कार्यरत रहेको पाइयो प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । अनुगमनमा ३९ जना कर्मचारीहरु काज र बिदामा रहेको, अनुगमनको समयमा कार्यालयमा २८ जना कर्मचारी अनुपस्थित रहेको पाइयो जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । ८८ जना कर्मचारीहरु तोकिएको पोशाकमा रहेको र ११ जना कर्मचारीले ड्रेसकोडको पालना नगरेको देखियो अधिकृत पाण्डेयले बताए । अनुगमन गरिएका अधिकांश कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचय पत्र नलगाएको देखियो ।

अनुगमनको क्रममा भेटिएका कमी कम्जोरी पुनः दोहोरीए कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्ला सदरमुकाम तम्घासमा रहेका अधिकांश कार्यालयका कर्मचारीहरु तोकिएको पोसाक नलगाउने गरेको जन गुनासो बढेको थियो । अनुगमन टोलीले पुर्वाधार विकास कार्यालय गुल्मी, राष्ट्रिय पुर्ननिर्माण जिल्ला कार्यान्वयन इकाई, जिल्ला हुलाक, घरेलु तथा साना उद्योग विकास समिति, शिक्षा विकास तथा समन्वय इकाई, जलस्रोत तथा सिंचाई विकास डिविजन कार्यालयको अनुगमन गरिएको प्रशासकीय अधिकृत उद्वव पन्थीले बताए ।

त्यस्तै मदन भण्डारी राजमार्ग, स्वास्थ्य कार्यालय, नेपाल बिद्युत प्राधिकरण, मालपोत कार्यालय, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाई डिबिजन कार्यालय, नापी कार्यालय, भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय, डिविजन वन कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, कफि, मकै र सुन्तला जोन कार्यालय र गुल्मी अस्पतालको अनुगमन गरिएको पन्थीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।