ताजा अपडेट »

प्राकृतिक स्रोतको उत्खनन

शुक्रबार, ११ माघ २०७५, ०७ : १२
6 Shares


माघ ११,

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–५ ले कच्ची बाटो खन्ने नाममा प्राकृतिक स्रोतको अवैध उत्खनन गरेको छ । सोही वडाको धुरपुरेटार भन्ने स्थानमा कच्ची सडक खन्ने भन्दै वडा कार्यालयले अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरी सङ्कलन गरेको हो ।

पहिल्यै बाटो खनिसकेको उक्त स्थानमा फेरि १२ मिटरको बाटो खन्ने भन्दै वडा कार्यालयले शुक्लागण्डकी नगरपालिका–९ दोभानको शिवशक्ति क्रसर उद्योगमार्फत सयाँै टिप गिट्टी, बालुवा उत्खनन गरी सङ्कलन गरेको भेटिएको छ ।

स्थानीय बासिन्दाको चर्को विरोध भए पनि वडाध्यक्ष शिवबहादुर आलेले एकलौटी निर्णय गरी अवैधरूपमा गिट्टी, बालुवा सङ्कलन गरेको स्थानीयवासी बसन थापाले बताउनुभयो । डाँडामा रहेको तीन घरधुरीका लागि १२ मिटर चौडाइको बाटो खन्ने भन्दै वडा कार्यालयले बजेट विनियोजन गरी उक्त क्रसर उद्योगलाई जिम्मा दिई अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरेको थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, “उक्त डाँडामा पहिल्यै बाटो पुगिसकेको छ । कारण जे बताइए पनि उद्देश्य भनेको प्राकृतिक स्रोतको उत्खनन गरी ओसारपोसार गर्नु नै रहेको छ ।” वडाध्यक्ष आलेले नयाँ बाटोको ट्र्याक खन्ने क्रममा प्राकृतिक स्रोतको 
कच्चा पदार्थ निस्किएको बताउनुभयो । उहाँले यसबारेमा गाउँपालिकामा उजुरी परेपछि हालै प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वको समूहले अनुगमन गरी उत्खननमा रोक लगाइसकेको जानकारी दिनुभयो ।

सयौँ टिप सङ्कलन गरिएको उक्त कच्चा पदार्थ गाउँपालिकाको आगामी माघ १६ गते बस्ने गाउँसभाको निर्णयमार्फत बोलपत्र आह्वान गरी बिक्री गर्ने थापाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आफूहरूले प्राकृतिक स्रोतको उत्खनन गर्ने कुनै निर्णय नगरेको बताउनुभयो । उहाँले वडाले बाटो खन्ने क्रममा केही कच्चा पदार्थ सङ्कलन भएको हुनसक्ने भन्दै यसबारेमा गाउँसभाले निर्णय गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले यसबारेमा आफूलाई कुनै जानकारी नभए पनि कसैले पनि अनुमति नलिइकन प्राकृतिक स्रोतको उत्खनन गर्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “के रहेछ, म बुझ्छु, तर कसैले पनि अनुमति नलिइकन यसरी कच्चा पदार्थको उत्खनन र सङ्कलन गर्न पाउँदैन ।” - (रासस) 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।