ताजा अपडेट »

‘स्मार्ट गाउँ’ले कृषिमा आकर्षण

आइतबार, १७ साउन २०७८, १२ : ३०
10 Shares

बाँके। लुम्बिनी प्रदेश सरकारले प्रदेशका ५२ वटै जिल्लाका प्रत्येक स्थानीय तहमा स्मार्ट कृषि गाउँ सञ्चालनको नीति लिएपछि त्यसको लाभ बाँकेका आठ वटै तहका स्थानीय तहका किसानले प्राप्त गरेका छन्। बाँकेमा आठ स्थानीय तहमध्ये नेपालगन्जमा दुई र अन्य स्थानीय तहमा १÷१ वटा स्मार्ट गाउँ सञ्चालित रहेका छन्। कृषि ज्ञान केन्द्र मार्फत खेतीपाती सम्बन्धी पाँच वटा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके मार्फत पशु पालनका लागि चार वटा स्मार्ट गाउँ सञ्चालनमा रहेका छन्।

लुम्बिनी प्रदेशले तीन बर्ष अघि स्मार्ट गाउँ कार्यक्रम सञ्चालनमा ल्याएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउँछन्। ज्ञान केन्द्र मार्फत सञ्चालित स्मार्ट गाउँ चौथो बर्षमा प्रवेश गरेका छन्। प्रदेश सरकारले पहिलो बर्ष ५० लाख, दोस्रो बर्ष ४० लाखसम्म, तेस्रो बर्ष ३० र चौथोमा २५ लाख रुपैयाँ सम्म स्मार्ट गाउँलाई विभिन्न कार्यका लागि सपोर्ट गर्दै आएको छ। स्मार्ट गाउँका लागि कम्तिमा ५० जना कृषक आबद्ध हुनुपर्ने मापदण्ड छ।

‘कृषकहरुको आम्दानी दोब्बर वृद्धि गर्नु, ग्रामिण क्षेत्रमा रोजगारीको अवसर सृजना गर्नु, दिगो खाद्य सुरक्षा कायम गर्नु, आय स्तर बृद्धि, बजारीकरणको उद्देश्य लिएर स्मार्ट कृषि गाउँ सञ्चालनमा आएको हो’, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले भनिन्, ‘स्मार्ट कृषि गाउँमा आबद्ध किसानहरुलाई प्रविधि, घाँस, औषधी, पोषण, सिचाई, तालिम, उन्नत प्रविधि लगायतको सपोर्ट गरिरहेका छौं। सहजकर्ता पनि प्रत्येक स्मार्ट गाउँमा सपोर्ट गरेका छौं।’

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले नेपालगन्जको बेलासपुरमा धान, गहुँ, मकै, खजुरा गाउँपालिकाको सितापुरमा तरकारी, बैजनाथ गाउँपालिकामा तरकारी, कोहलपुरमा अन्नबाली मकै, राप्तीसोनारीमा धान, आलु, मकै स्मार्ट गाउँ कार्यक्रम सञ्चालन गरेर किसानलाई सपोर्ट गरेको जानकारी दिएका छन्।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले नेपालगन्ज, जानकी, नरैनापुरमा बाख्रा र डुडुवामा भैसपालन स्मार्ट गाउँ सञ्चालन गरिएको बताइन् । ‘सबै स्मार्ट गाउँले अपेक्षित रुपमा काम गरिरहनु भएको छ’, उनले भनिन्।

अव्यवस्थित रुपले बाख्रा पालना गर्दै आएका नरैनापुर वडा नं. ६ कोहलाका किसानले लुम्बिनी प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत अनुदान पाएपछि व्यवस्थित रुपमा बाख्रा पालन गर्दै आएका छन्। नरैनापुर बाख्रा स्मार्टमा आबद्ध किसानहरुले प्रविधि र तालिम पाएपछि व्यवस्थित रुपमा बाख्रा पालन सहज भएको बताउँछन्। ‘पहिले कसरी पाल्दा राम्रो हुन्छ भन्ने थाहा थिएन’, स्मार्ट कृषि गाउँमा आबद्ध किसानहरु भन्छन्, ‘अहिले व्यवस्थित रुपमा बाख्रा राख्न खोरका लागि अनुदान पाएका छौं, घाँस उपलब्ध छ, सिचाईं तथा आवश्यक पर्दा परामर्श पाएका छौं।’

नरैनापुरका किसानहरु स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएपछि बाख्राको संख्या बढाउँदै लगेका छन्। जसले गर्दा उनीहरुको आयस्रोत पनि वृद्धि भएको छ। खेतीपातीमा समेत संलग्न किसानलाई व्यवस्थित बाख्रा पालनबाट हुने आम्दानीले घर धान्ने मात्रै नभई बचत गर्ने बाटो पनि देखाइदिएको छ।प्रदेश सरकारको स्मार्ट कृषि कार्यक्रमलाई गाउँपालिकाले पनि सहयोग गरेको छ । कार्यक्रम सञ्चालन भएपछि गाउँपालिकाले थप १० लाख अनुदान दिंदा किसानहरुको लागत अत्यन्त न्यून भएको छ।

नरैनापुर गाउँपालिका वडा नंं. ६ कोहलाका किसान मेघबहादुर थापा तीन दशकदेखि बाख्रा पालनमा आबद्ध छन्। उनी विगतमा रोगका कारण धेरै बाख्रा मरेको सम्झदै भन्छन्, ‘बाख्रा स्मार्टका कारण पुनः बाख्रा पालन गरेको छु, अनुदानमा खोर बनाएको छु ’ उनी पहिले बाख्रा पालन गर्दा कच्चि र अव्यवस्थित खोरमा राख्ने गरेकोमा अहिले व्यवस्थित भएको बताउँछन् । ‘पानीदेखि घाँससम्मका लागि प्राविधिक सपोर्ट पाएका छौं’, उनी भन्छन्।

‘किसानले गर्ने खेतीपाती र पशुपालन हो’, किसान थापा भन्छन्, ‘त्यसमा पनि सपोर्ट पाउने हो भने किसानलाई राम्रो हो।’ उनले २५ वटासम्म खसी पुर्याउने लक्ष्य लिएको बताए।

नरैनापुर कोहलाकै बुधराम विक पनि स्मार्ट कृषि गाउँमा आबद्ध भएर बाख्रा पालन गरिरहनु भएको छन्। उनी खेतिपाति गर्दछन्। ‘कार्यक्रम मार्फत सपोर्ट पाएपछि व्यवस्थित रुपमा बाख्रा पालन गरिरहेको छु’, उनी भन्छन्, ‘कार्यक्रममा आबद्ध भएपछि बाख्रा थप्दै जाने सोंच छ।’नरैनापुर जंगलसँग जोडिएकाले पनि बाख्रा चराउन सजिलो भएको छ । ‘२ वटा पाल्दा वा १० पाल्दा जनशक्तिमा त्यति फरक पर्दैन’, किसानहरुले भने, ‘सपोर्टले बाख्रा पालन बढाउन प्ररित गरेको छ।’

कोहला बाख्रा स्मार्ट कार्यक्रमका संयोजक नरैनापुर सब्बिर खान आबद्ध प्रत्येक किसानलाई खोरको व्यवस्था गरेको जानकारी दिएका छन् । ‘कोहलामा रहेका सुकुम्बासी बस्तीमा बाख्रा स्मार्ट कार्यक्रम सञ्चालन गरेर धेरै सहयोग पुर्याएको छ’, उनले भने, ‘भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले नियमित रुपमा सहयोग र सपोर्ट गरिरहनु भएको छ ।’ कोहला स्मार्टलाई स्थानीय तहले गत बर्ष १० प्रतिशत बजेट सहयोग गरेको थियो । जसले गर्दा किसानको लागतमा कमी आएको थियो । कार्यालय व्यवस्थापन, खोर निर्माण, खोर मर्मत, बोर्ड लेखन, बेन्ड खरिद, मोटर वितरण, बोरिङ खरिद, औषधी खरिद, बाख्रा पालन, किसानलाई भ्रमण, बेलन बोका खरिद, घाँसको बिउ वितरण तालिम, बाख्रा शिविर, औषधी वितरण लगायतको कार्यक्रम स्मार्ट कृषि गाउँमा सञ्चालित भएको छ ।

गत बर्ष कोहला बाख्रा स्मार्टबाट १ सय १५ बाख्रा बिक्री भएको थियो । यो बर्ष १ सय २५ बाख्रा विक्री भैसकेका छन् । माउ बाख्रा समेत ७५ वटा अन्त पठाएका छौं । गत बर्ष ५० लाख प्रदेश सरकारको र १० लाख नरैनापुर गाउँपालिकाको थियो । यो बर्ष ४० लाख प्रदेश र १२ लाख नरैनापुर गाउँपालिकाको बजेट स्मार्ट गाउँलाई प्राप्त भएको छ ।

बाँकेको डुडुवा गाउँपालिकामा भैसी पालनको स्मार्ट गाउँ सञ्चालनमा रहेका छन् । त्यहाँ एउटै किसानले ५०÷६० बढी दुहुनो भैसी पालेको पाइन्छ । स्मार्ट गाउँ कार्यक्रम अन्तर्गत व्यवस्थित गोठ, घाँस काट्ने मेसिन, घाँस समेत पाएपछि अन्य किसानपछि स्मार्ट गाउँमा आबद्ध गराउन माग गरिरहेको पाइन्छ ।
नेपालगन्ज जयसपुरमा बाख्रा स्मार्ट कार्यक्रमले गर्दा किसानहरुले व्यवस्थित रुपमा बाख्राका लागि खोर, सिचाई, औषधी लगायतका सहयोग प्राप्त गरेका छन् । ‘पहिले घरभित्रै बाख्रा बाध्नु पर्ने, फोहोर हुने जस्ता समस्या थियो, अहिले व्यवस्थित रुपमा बाख्रा पालन गरिरहेका छौं’, किसान भन्छन् ।दैनिक नेपालगंजबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।