ताजा अपडेट »

बालबालिकालाई सङ्क्रमणबाट जोगाउनुपर्छ

आइतबार, १७ साउन २०७८, ०७ : ४३
18 Shares



काठमाडौंँ । बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु-याउन सक्ने विज्ञको चेतावनी छ । कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामारीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । कोरोना भारसविरुद्ध कुनै पनि मुलुकमा बालबालिकालाई खोप लगाइएको छैन । बालबालिकामा कोरोना सङ्क्रमण हुन थाल्यो भने सङ्क्रमण दर कति चाँडो बढ्छ र त्यसले कति क्षति पु-याउन सक्छ भन्ने अनुमान गर्न कठिन भइरहेको छ ।

धुलिखेल अस्पतालका नर्स मनिता कर्माचार्यकी छ वर्षीया छोरीलाई कोरोना सङ्क्रमण भएपछि निकै गाह्रो भयो । उनले भनिन, ‘‘साना बालबालिकालाई कोरोनाले गाह्रो हँुदैन भन्ने मेरो पनि सोचाइ थियो । तर, मेरो सोचाइ गलत रहेछ । भोगेपछि थाहा भयो । छोरीलाई बचाउन धेरै कठिन भयो ।’’ सबै परिवारका सदस्य कोरोना सङ्क्रमित भएपछि छोरीलाई पनि सातौँ दिनमा परीक्षण गराएँ । उहाँका अनुसार छोरीलाई समेत पोजेटिभ आयो तर खासै लक्षण नदेखिएकाले चिन्ता लागेको थिएन । सङ्क्रमित भएको रिपोर्ट आएपछि छोरीलाई पेट दुख्ने, पातलो दिसा लाग्ने, खान रुचि नहुने, बान्ता हुनेजस्ता समस्याले हैरान बनायो । कर्माचार्यले भनिन, ‘‘कोरोनाले बालक, वृद्ध कसैलाई पनि छोड्दैन । त्यसैले वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित राख्नु नै सबैभन्दा बुद्धिमत्तापूर्ण काम हो ।’’

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार बालबालिकालाई कोरोनाबाट बचाउन अभिभावकले बढी सावधानी अपनाउनुपर्छ । उनका अनुसार कोरोना सङ्क्रमणले बालबालिकामा सुरुमै सामान्य रुघा तथा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षणसँगै श्वासप्रश्वासमा समस्या देखिनेछ । अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उहाँले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, जिउ दुख्ने, शरीरमा डाबर देखिने बताए ।

सङ्क्रमित बालबालिकाको अवस्था सामान्य, जटिल वा गम्भीर भनेर छुट्याउनुपर्ने सुझाव दिँदै डा. बिच्छाले थप्नुभयो, ‘‘सामान्य अवस्थामा सङ्क्रमित बालबालिकालाई फ्लु र पाचन प्रणालीको समस्या देखिन सक्छ । तर ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा वा पेट दुख्दैमा, पखाला चल्दैमा आत्तिनुपर्दैन । सिटामोल र झोलिलो पदार्थ खुवाएर बच्चालाई घरमै सुरक्षित राख्न सकिन्छ ।

यसैगरी श्वासप्रश्वासमा समस्या देखिन थाल्ने, अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम हुने वा बच्चा सुस्त बन्दै जाने, आँखा भित्र गढ्ने, पानी नपिउने, पिसाब नफेर्नेजस्ता समस्या भएमा अस्पताल लैजानुपर्ने उनकोसुझाव छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।