ताजा अपडेट »

गलत प्रवृत्तिकाविरुद्ध सतिसालझै उभिन नेता नेपालको निर्देशन

शनिबार, १६ साउन २०७८, १८ : २०
4 Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र परिवर्तनको खम्बाका रूपमा स्थापित विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा सतिसालझै उभिन निर्देशन दिएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आयोजित अखिल फोर्स बृहत् भेलामा उनले अहङ्कारले मानिसलाई पतन गराउने भएकाले निरंकुश र स्वेच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए ।

वरिष्ठ नेता नेपालले भने, “राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको देशभक्त नेपाली विद्यार्थी अखिलबाट पुर्खाको सम्मान र इतिहासप्रति गौरव होस्, सङ्गठनको ओजलाई थप उचाइमा पुर्याउनुस्, सही विचार माक्र्सवाद हो, यसको अध्ययन गर्नुस् ।” लोकतान्त्रिक आन्दोलनको प्रभावलाई ठिक बाटोमा ल्याउने काममा सर्वोच्च अदालतबाट भएको निर्णयप्रति सम्मान व्यक्त गर्दै उनले प्रतिनिधिसभाका सदस्यहरूले संविधान र लोकतन्त्रको रक्षा गर्न खेलेको भूमिकाले आगामी दिनमा जालझेल र षड्यन्त्र गरेर प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गर्न नसक्ने धारणा व्यक्त गरे ।

सुसंस्कृत, सभ्य र मूल्य मान्यतामा आधारित समाज निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सुझाव दिँदै उनले लामो समयदेखि गलत बाटोमा गइरहेको कम्युनिष्ट आन्दोलनमा सही दिशामा हिँडाउन आवश्यक रहेको धारणा व्यक्त गरे । पूर्वप्रधानमन्त्री नेपालले दार्चुलामा भएको घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरी अनुसन्धानको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नेपाल समूहका अध्यक्ष सुरेश पराजुलीले राष्ट्रियता, लोकतन्त्र र परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको सङ्गठनले पार्टी र वाम एकताको पक्षमा निरन्तर लागिरहेको बताए । अखिल फोर्सका अध्यक्ष टपेन्द्रजङ्ग शाहीले विचारबाट सुसज्जित भएकाले विचार, नीति र निष्ठाको संस्कारलाई अघि बढाउन सबैलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए । सहअध्यक्ष असिम आलमले मुलुकमा शैक्षिक माफियाविरुद्ध गुणस्तरीय शिक्षाका लागि तथा समाजमा देखिएका विकृति र गुण्डाप्रवृत्ति रोक्न सङ्गठनले काम गर्ने बताए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।