ताजा अपडेट »

विर्तामोड-भद्रपुर: बन्यो फोरलेनको सडक

शनिबार, १६ साउन २०७८, १४ : ४१
2 Shares

झापा । विर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘फोरलेन’ भएको चार किलोमिटर सडक बनेको छ। यो जिल्लाकै पहिलो फोरलेनको सडक हो। ‘विर्तामोड-भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार किमी बनेको हो । दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई चारलेन बनाउने निर्माणको ठेक्का लागिसकेको छ। डिभिजन सडक कार्यालय दमकका सूचना अधिकारी ई अनुप साउदेनका अनुसार विर्तामोडदेखि गरामनीसम्मको चारलेन सडक रु ३१ करोड १३ लाखका ठेक्कामा ललितपुरको श्री आशिष र प्रेरा जेभीले निर्माण गरेको हो ।

विसं २०७५ असार २४ गते निर्माण व्यवसायी कम्पनीले ठेक्का सम्झौता गरे तापनि तोकिएको १४ महिनामा निर्माण कार्य सम्पन्न हुन सकेन। कोभिड–१९ को महामारीका कारण बेलैमा काम हुन नसक्दा निर्माणमा ढिलाइ भएको कम्पनीले कारण देखाएपछि डिभिजन सडक कार्यालयले तीनपटक म्याद थपेको थियो । सो सडक गत चैत २५ गते निर्माण कम्पनीले सडक कार्यालयलाई हस्तान्तरण गरिसकेको छ। दोस्रो खण्डमा गरामनीदेखि चन्द्रगढीस्थित लेखनाथ चोकसम्मको सडकलाई चारलेनमा निर्माण गर्ने कार्य शुरु भइसकेको छ। सो सडकको निर्माणको ठेक्का ‘एमएस कन्टेक’ नामक निर्माण व्यवसायी कम्पनीले रु ५८ करोड दुई लाख २८ हजार १९१ मा पाएको डिभिजन सडक कार्यालय दमकले जनाएको छ ।

कम्पनीका व्यवस्थापक परीक्षित गजुरेलले बर्खाका कारण काममा विलम्ब भए तापनि भदौदेखि निर्माण कार्यले गति लिने बताए। हाल सडक किनारमा पर्खाल लगाउने र ड्रेन बनाउने काम जारी रहेको उनको भनाइ छ। सडक कार्यालयका सूचना अधिकारी साउदेनका अनुसार २०८० भदौ ४ गते निर्माण सम्पन्न गर्ने गरी एमएस कन्टेकले २०७७ असोज १० गते ठेक्का सम्झौता गरेको थियो । विर्तामोडबाट बनेको चार लेनको सडकले भद्रपुरको झापा चोकस्थित हुलाकी लोकमार्गलाई जोड्ने योजना रहेको र सरकारले यो सडकको निर्माण कार्यलार्ई उच्च प्राथमिकतामा राखेको उनले बताए। विर्तामोडका अगुवा व्यवसायी सुवास भट्टराईले पूर्वपश्चिम लोकमार्गबाट शुरु हुने चार लेनको यो सडकले शहरको सौन्दर्य बढाएको र भविष्यमा हुलाकी लोकमार्गसँग जोडिने बताए ।

“विर्तामोडको मुहार फेरियो, विकासको नयाँ नमूना देख्न पाइयो”, नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिवसमेत रहेका उनले भने, “चार लेनको सडकलाई सफा र सुन्दर बनाउने जिम्मेवारी अब नगरपालिकाको हो ।” साविक मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको व्यापारिक केन्द्रका रुपमा उदाएको विर्तामोड शहर हाल स्वास्थ्य, शिक्षा र पर्यटनकोसमेत केन्द्र बनिसकेको छ। भद्रपुरमा रहेको चन्द्रगढी विमानस्थल आवतजावत गर्न चार लेनको सडकले अब छोटो र छरितो हुने व्यवसायी भट्टराईको भनाइ छ । - रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।