ताजा अपडेट »

अदुवाखेतीबाट आम्दानी बढ्दै

शनिबार, १६ साउन २०७८, १४ : २३
6 Shares

सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन्। कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए । उनले भने, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ।” कतारमा तीन वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आफ्नै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गरेका छन् ।

आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको छु”, उनले भने, “खेती गरेर भएको नगद आम्दानीबाट जीविकोपार्जन भइरहँदा सन्तुष्टै छु।” उनले तीन वर्ष मलेसियामा समेत काम गरेका थिए। सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ । यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाहले बताए। गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ। “छनोटमा परेका किसानलाई बीउबिजनको व्यवस्था गर्न अनुदान दिने गरेका छौँ”, वडा अध्यक्ष शाहले भने, “अदुवा, सुन्तला, केरा र बेमौसमी तरकारी उत्पादन र बिक्रीबाट किसानको आर्थिक समृद्धिमा टेवा पुगिरहेको छ ।”

अदुवाको सुठो(चना) बनाएर बिक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ। कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन्। सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ। काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ ।

उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री हुने गरेको छ। तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो रु २०० भन्दाबढी पुगेको छ। काँचो अदुवा सुकाएर ससानो टुक्रामा चना बनाइन्छ। चनाको बजार मूल्य काँचो अदुवाको मूल्यको तुलनामा तेब्बर चौबर बढी पाइने गरेको बताइन्छ। “यतिबेला अदुवाको बोट निकै फस्टाएकाले उत्पादन गत वर्षभन्दा बढ्ने आशा गरेका छौँ”, किसान बमले भने, “किसान यतिबेला अदुवा गोडमेलमा लागेका छन् ।” -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।