ताजा अपडेट »

पत्रकारिताको आवरणमा आपराधिक गतिविधि नगर्न पत्रकार महासंघ बाँकेको चेतावनी

शुक्रबार, १५ साउन २०७८, २० : ०४
8 Shares

बुटवल । नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारिताको आवरणमा आपराधिक गतिविधि नगर्न आग्रह गरेको छ । पत्रकार महासंघ बाँकेले आज एक विज्ञप्ती जारी गर्दै पत्रकारको पेशागत एवं भौतिक सुरक्षाप्रति पत्रकार महासंघ बाँके सदैव गम्भीर जनाउँदै पत्रकारिता पेशाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संलग्न हुने, रकमको बार्गेनिङ्ग गर्ने, भिडियो र फोटो खिचेर समाचारका रुपमा प्रकाशन, प्रशारण नगरी ब्ल्याकमेल गर्ने जस्ता कार्यमा संलग्न भएको पाइएमा महासंघले वकालत नगर्ने चेतावनी समेत दिएको छ ।

विज्ञप्तीमा भनिएको छ, 'पत्रकार हौं भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोवाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई नेपाल पत्रकार महासंघ बाँके अपील गर्दछ।'

यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार हौं भन्दै प्रहरीसंग पैसाको बार्गेनिङ्ग गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजन बैश्य रहेका छन् । नेपालगन्जमा रहेको एबिपी क्राईम न्यूजको सम्बाददाताको परिचयपत्र राखेका बैश्यले प्रहरीसंग ‘तपाईले पैसा लिइरहेको भिडियो मसंग छ’ भन्दै एक लाख ६० हजार मागेपछि उनलाई पक्राउ गरेको हो । प्रहरीले बैश्य सहित उक्त अनलाइनको आफुलाई सन्चालक र पत्रकार बताउने आशिष मल्ल ठकुरीलाई मिति २०७८ साउन १४ गते पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । बैश्यले प्रहरीसंग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् ।

No description available.
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।