ताजा अपडेट »

आफ्नो भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाएको इराकी प्रधानमन्त्रीको भनाइ

शुक्रबार, १५ साउन २०७८, १६ : ३९
14 Shares

बगदाद । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले उहाँले हालै गरेको अमेरिका भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाउन सघाएको जानकारी दिए । उनले आफूले हालै गरेको सो भ्रमणबाट इराक र अमेरिकाबीचको सम्बन्धलाई थप स्थायी बनाएको बताए । अमेरिकाको भ्रमणको एक दिनपछि उनको यो प्रतिक्रिया आएको छ । उनले अमेरिकाको भ्रमण सकेर स्वदेश फर्किएपछि यो कुरा बताएको उनका सञ्चार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनले अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेन र अरू अमेरिकी उच्च अधिकारीहरुसँग भेट गरेका थिए । उनले राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा द्विपक्षीय वार्ता गरे। आफूले गरेको अमेरिका भ्रमणका क्रममा सुरक्षा, अर्थ, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा द्विपक्षीय सहयोग र समझदारी गर्ने विषयमा सहमति भएको र यी क्षेत्रमा इराकका लागि ठूलो सहायता मिलेको जानकारी दिए ।

प्रधानमन्त्री कादिमीले आफ्नो भ्रमणका क्रममा नै अमेरिकालाई इराकबाट सेना फिर्ता गर्न भनेको र अमेरिकाले यसै वर्षको अन्तिमसम्ममा अमेरिकाले आफ्ना सबै सेना फिर्ता गर्न सहमत भएको पनि सो विज्ञप्तिमा जनाइएको छ । कादिमीसँग भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई इराकबाट फिर्ता बोलाउने बताए ।

उनले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालीम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिए । इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतङ्ककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेका छन् ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ । इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताए । उनले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भने , हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालीमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।