ताजा अपडेट »

बालविकास सहजकर्ताको तलब वृद्धि कार्यान्वयनमा आएन, पालिकामा तालाबन्दी

विहीबार, १४ साउन २०७८, २१ : ०८
6 Shares

बैतडी । नेपाल सरकारले चालू आर्थिक वर्षबाट बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पुर्याउने घोषणा गरेको भए पनि स्थानीय तहले कार्यान्वयनमा ल्याएका छैनन्। सरकारले बजेट भाषणमार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब रु १५ हजार पुर्याउने घोषणा गरेको थियो । उक्त घोषणामा बढेको तलब स्थानीय तहबाट पाउने बताइएको थियो ।

तर, बैतडीको पुर्चौडी नगरपालिकाले त्यसलाई कार्यान्वयन नगरेको भन्दै बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा आज तालाबन्दी गरेका छन् । नेपाल सरकारले बजेट भाषणमार्फत तलब बढाउने घोषणा गर्ने तर नगरपालिकाले कार्यान्वयन नगरेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको लटिनाथ आधारभूत सलेलीगाउँमा कार्यरत बालविकास सहजकर्ता द्रोपती खत्रीले बताईन् ।

यसअघि विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । उनले भनिन्, “हाम्रा मागको सम्बोधन नहुुँदासम्म तालाबन्दी जारी रहन्छ ।” नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले उनीहरुको मागका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने बताउँदै तत्कालका लागि ताला खोल्न आग्रह गरिन ।

पुर्चौंडी नगरपालिकामा बालविकास सहजकर्ता र विद्यालय कर्मचारी गरी कूल १५१ जना कार्यरत छन् । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।