ताजा अपडेट »

कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई

विहीबार, १४ साउन २०७८, २० : ४६
2 Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले यही साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । बुधबारको पदाधिकारी बैठकले प्रतिवेदनमा परिमार्जनका लागि समितिलाई एक दिनको समय प्रदान गरेको थियो । समितिले केही विवाद समाधान गरी आजको बैठकमा परिमार्जनसहितको प्रतिवेदन प्रस्तुत गरेको उनले बताए । यद्यपी प्रतिवेदनमा केही विवाद बाँकी नै छन् ।

बाँकी विवाद पदाधिकारी सम्मिलित नेतत्व तहले दुई/चार दिनमा समाधान गरी केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने सहमहामन्त्री डा. महतले बताए । कांग्रेसले २०७७ साल फागुन ६ गते आसन्न १४औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यहरुको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो । १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला गरेर प्राप्त भएकाले पूरै बाँकी रहेको छ । त्यस्तै सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ । यसमध्ये समितिले केही विवाद समाधान गरी आज प्रतिवेदन पदाधिकारी बैठकमा बुझाएको थियो । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।