ताजा अपडेट »

आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप

विहीबार, १४ साउन २०७८, १८ : ३६
4 Shares

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको छ। साथै उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको पाइन्छ ।

कार्यालयको एक तथ्याङ्कअनुसार विगतका आर्थिक वर्षको तुलनामा आव २०७७/७८ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा ११ हजार ७०० बिरामीले उपचार सेवा लिएका छन्। उक्त उपचारका क्रममा १७ वर्षभन्दा माथि उमेर समूहका बिरामीले अत्यधिक उपचार सेवा लिएको केन्द्र प्रमुख एवं डा सृष्टि श्रेष्ठले बताइन् ।

तुलनात्मकरूपमा अघिल्लो वर्ष २०७६/७७ को तुलनामा गत आव २०७७/७८ करिब चार हजार बढी बिरामीले सेवा लिएको बताइएको छ। आव २०७६/७७ मा सात हजार ९९० व्यक्तिले उपचार सेवा लिएको सो केन्द्रले जनाएको छ। साथै केन्द्रले मकवापुरका विभिन्न चार पालिकामा नागरिक आरोग्य केन्द्रसमेत स्थापना गरेको छ ।

वाग्मती गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका र थाहा नगरपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएको बताइएको छ। आयुर्वेद स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्षबाट नेपाल सरकारले निःशुल्करूपमा दिएको २३ प्रकारका औषधिबाहेकका फिजियोथेरापी, ल्याब, पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र र ओपिडी टिकटमा समेत शुल्क लिन थालिएको डा श्रेष्ठले जानकारी दिइन् ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २०७८ साउन १ गतेदेखि ओपिडी टिकट र ल्याब सेवा सञ्चालन गरिएको छ। कोभिड–१९ महामारीको समयमा पनि केन्द्रले निरन्तर सेवा दिँदै आइरहेको छ। मकवानपुरमा निषेधाज्ञा भए पनि औषधालयबाट उपचार तथा परामर्श लिनेको सङ्ख्यामा कमी नआएको र कोरोना महामारीबाट मानिसमा आयुर्वेदमा चासो बढेको छ ।

साथै सेवा सुविधासँगै पर्याप्त जनशक्ति भएका कारण यस वर्ष उपचार गराउन आउनेको सङ्ख्या वृद्धि भएको डा श्रेष्ठले बताइन्। पर्सा जिल्लाको रानीगञ्जमा नारायणी अञ्चल आयुर्वेद औषधालयका नामबाट सञ्चालन हुँदै आएको र औषधालय विसं २०३४ मा हेटौँडामा स्थानान्तरण गरिएको थियो। स्थान्तरणपश्चात विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौँडा–२ मा हालसम्म रहेको छ ।

हाल नारायणी अञ्चल आयुर्वेद औषधालयलाई जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र नामकरण गरिएको छ। औषधालयले ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, गाउँघर क्लिनिक र धामी–झाँक्रीलगायत स्वास्थ्य समस्या निवारणका कार्यक्रम गरिरहेको बताइएको छ। औषधालयमा फिजियोथेरापी, प्रयोगशाला सेवा र पञ्चकर्मअन्तर्गत पूर्वकर्मसेवा तथा शिरोधारा स्वास्थ्य सेवा पनि सञ्चालनमा छ ।

आयुर्वेद औषधालयमा अहिले बालकदेखि वृद्धवृद्धासमेत उपचार गराउन आउने गरेका छन्। गत वर्ष सबैभन्दा बढी बिरामी ग्याष्टिकका रहेका थिए। त्यसैगरी,हाडजोर्नीसम्बन्धी समस्या भएका रोगी पनि उपचारका लागि आएका थिए। सो केन्द्रको आव २०७७/७८ मा आर्थिक प्रगति ८५ प्रतिशत रहेको छ ।

प्रदेश सरकारको रु एक करोड ९७ हजार र सङ्घीय सरकारको रु ७० लाख गरी रु एक करोड ७० लाख ९७ हजार बजेट प्राप्त भएकामा कार्यालय व्यवस्थापन, कर्मचारी तलब खर्च र औषधि खरिदमा बजेट खर्च भएको डा श्रेष्ठले जानकारी दिइन् । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।