ताजा अपडेट »

बुटवलमा घर भाडा बृद्धिमा मनोमानी, बढि मारमा विद्यार्थी

सोमबार, २० साउन २०७६, १६ : २३
20 Shares

साउन २०,
बुटवल । बुटवलमा प्रदेश पाँचको अस्थाई राजधानी बनेपछि मारमा परेका छन् विशेषगरी गाउँबाट डेरा गरी पढ्न आएका विद्यार्थीहरु । नेपाल घरवाहल सरोकार समिति रुपन्देहीका अनुसार बुटवलमा ६७ प्रतिशत मानिसहरु घर–कोठा भाडामा बस्दै आएका छन् । त्यसमध्ये ४६ प्रतिशत व्यवसाय गरेर बस्नेहरु छन् ।

अन्य केही कामदार र विद्यार्थीहरु रहेका छन् ।  सबैभन्दा बढि मारमा विद्यार्थी र व्यवसायीहरु परेका छन् । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय  ऐन कानुन विपरित उपमहानगरपालिकाले बर्षेनी १० प्रतिशत भाडा बृद्धि गर्न पाउने नियम बनाएको छ’– नेपाल घरवहाल सरोकार संघका केन्द्रीय सदस्य तथा विवाद समाधान समिति रुपन्देहीका अध्यक्ष शंकर कोइरालाले भने– ‘यसबाट घर वहालमा बस्नेहरुको भन्दा घरबेटी कै हितमा बुटवल उपमहानगरपालिका उभिएको आभाष हुन थालेको छ ।’ उनले थपे– ‘अधिकांश जनप्रतिनिधि र कर्मचारीहरुको घर बुटवल मै भएर होला घरवहाल निर्धारण गर्ने तर्फ कसैको सोच पुग्न सकेन ।’

घर भाडामा दलालीकरण तीव्र

यतिबेला बुटवल नगरीमा  स्वयम् व्यक्ति कोठा खोज्न हिँडेर हप्तौंसम्म पनि पाउन सक्दैनन् । दलालीकरण तीब्र हुँदै जाँदा दलाललाई नै उसले तोकेको रकम दिएर कोठा वा पसलका लागि सटर पाउने गरिएको छ । अस्थाई राजधानी बस्नु अघिसम्म दुई हजार पर्ने एउटा कोठाको भाडा यतिबेला ६ हजार सम्म  लिने गरेका छन् । भाडा बृद्धिमा मनोमानी अशुली गरिए पनि विद्युत पानी धारा  लगायतको सुविधा कतिपयमा नहुने गरेको डेरा गरि बस्नेहरुले गुनासो सुनाउछन् ।  

कोठा सोध्न जाँदा पहिला जात सोधिन्छ

सरोकार समितका अगुवा कोइराला भन्छन् ‘यस बुटवल नगरीमा अफै पनि दलित समुदायका मानिसहरुले कोठा पाउन मुस्किल छ । उनीहरुले आफ्नो वास्तविक जात बताए विभिन्न वाहनामा भएको कोठा पनि छैन भनेर पठाइन्छ । खाली भएको कोठा देखाउनुपूर्व गुल्मीबाट आइपुगेका एक दलित युवालाई पहिला जात सोधियो । उनले आफ्नो वास्तविक नाम थर बताए । त्यसपछि माथील्लो तलमा पुगेकी गोलपार्ककी घर बेटीले श्रीमानलाई फोनमा सोधेको बहानामा कोठा अर्कैलाई दिईसक्नु भएछ भन्ने जवाफ फर्काइन् ।  यस्ता तमाम खालका घरबेटीहरुका कारण दलित समुदायले कोठा पाउन नसकेका हुन् ।

सरकारी न्युनतम दर रेट यस्तो छ
बुटवल उपमहानगरपालकाले घर जग्गा वहाल करको दररेट अशुलीका लागि न्युनतम मासिक वहाल दर तोकेको छ । भित्री सडक मोहडाको सटरको भाडा आर्थिक बर्ष २०७५ /०७६ सम्मका लागि प्रति महिना  १७ सय । कोठा भाडा मासिक  १२ सय  रुपैयाँ तोकेको छ ।

महेन्द्र राजमार्गको मोहडामा पर्ने प्रति सटर मासिक ३ हजार, कोठा प्रतिमहिना १२ सय रुपैयाँ, भित्री सडक मोहडामा सटर प्रतिमहिना १७ सय, कोठा भाडा १२ सय तोकेको छ । सिद्धार्थ राजमार्गको मोहडामा पर्ने सटरको भाडा ३५ सय र कोठाको भाडा २ हजार तोकेको छ ।

सोही राजमार्गको पश्चिम भित्री सडकमा सटरको भाडा ३ हजार र कोठाको भाडा २ हजार तोकेको छ । सोही राजमार्गको पूर्व भित्री सडकमा सटरको ३ हजार र  कोठाको २ हजार मासिक भाडा तोकेको छ । यसरी बुटवल उपमहानगरका विभिन्न १९ स्थानमा सटरको मासिक भाडा दर बढीमा १५ हजार कोठाको भाडा दर बढीमा मासिक ४ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै सपिङ्ग सेन्टर , होटल, हाउजिङ्ग, बैंक, रेष्टुरेण्ट, पार्टी प्यालेस र ब्यापारिक प्रयोजनका गोदाम र अन्यको हकमा सम्झौतापत्रलाई आधार मानिने छ भनिएको छ । तर प्रालिमा दर्ता भएका यहाँका कैयौं हाउँजिङ्ग, पार्टी प्यालेस लगायतका ठुला व्यापारिक केन्द्रले सम्झौता नै नगरेको र यदि गरेको भए पनि न्युनतम भाडा दरको सम्झौता गर्ने र मोटो रकम व्यवसायीहरुबाट असुली गर्ने गरिएको छ ।

सम्झौतापत्रमा मासिक १५ हजार सटर भाडा लेखिएपनि ४० देखि ६० हजारसम्म सटर भाडा असुल्ने गरिएको छ । त्यस्तै ‘सलामी प्रथा’ अझै कायम छ । बहाल संरक्षण रकमका नाममा लाखौं रकम डिपोजिट लिने गरिएको छ । बुटवलको बीपीचोकको एक कम्प्लेक्समा  सटरको भाडा ४० हजार भन्दा माथि छ तर डिपोजिट १५ लाखसम्म लिने गरिएको छ । जुन डिपोजिट रकमको व्यवसायीहरुले ब्याज पाउन सक्दैनन् ।  

लक्ष्यभन्दा २ करोड बढी घरवहाल कर

बुटवल उपमहानगरपालिकाका सूचना अधिकृत लेखनाथ पोखरेलले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०७५/०६६ को असार मसान्तसम्म त्यस उपमहानगरपालिकाले घरवहाल कर मात्र लक्ष्यभन्दा दुई करोड बढी राजश्व संकलन गरेको छ । ७ करोड लक्ष्य लिएकोमा ९ करोड २६ लाख ५ सय ३१ रुपैयाँ घरवाहल कर संंकलन भएको छ ।

कूल कर साढे एक अर्ब बढी

लेखा अधिकृत सितप्रसाद श्रेष्ठले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७५ /०७६ मा सबै गरेर कूल कर रकम साढे  एक अर्बभन्दा बढी  संकलन भएको छ । कूल कर रकम भने लक्ष्यभन्दा करिब २ करोड कम संकलन भएको देखिन्छ ।   

एक अर्ब ६६ करोड १६ लाख ८ सय ३१ लक्ष्य लिइएकोमा १ अर्ब ६४ करोड १ लाख ८९ हजार ८ सय ९२ रुपैयाँ कुल राजश्व संकलन भएको छ ।  सूचना अधिकृत पोखरेलका अनुसार कुल करदाता संख्या ६८ हजार ४ सय ६४ जना रहेका छन् । तीमध्ये २५ हजार ४ सय ७५ घरधुरी करको दायरमा आएका छन । खाली जग्गाको तिरो (कर) बुझाउनेहरु ४२ हजार ९ सय ८७ रहेका छन् ।

सूचना अधिकृत पोखरेल भन्छन– ‘घर सटर भाडामा दिनेहरुले ढाँट्न नखोज्ने होइनन् तर हामीसँग अमरपथ जस्तो ठाउँमा सटरको भाडा पाँच हजार मात्रै लिउँछौं भनेर ढाँट्दैमा हामी पत्याउनेवाला छैनौं । त्यहीअनुसार ठाउँ हेरेर लिने गरेका छौं । हाउजिङ्ग लगायतका ठुला कारोवारीहरुले सम्झौता नगर्ने गरेको पनि पाइएको सुचना अधिकृत पोखरेल स्वीकार गर्छन् ।

यस्तो छ मनोमानीको परिणति

कुनै पनि दर्तावाला कम्पन्नी कसैको घर हुँदैन । यहाँको एक हाउजिङ्ग कम्पन्नीले आफ्नो भवनमा लाद्दै आएको सटर भाडाको विवाद यति बेला चुलिएको छ । बुटवलका व्यवसायीहरु कै नेता महेशमान सिंहले नै आफ्नो  सुरपद्मा हाउजिङ्ग प्रा.लि (सिंह कम्प्लेस ) को भाडा मनोमानी लाद्दै आएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका सिंहले उक्त कम्प्लेक्समा पसल गर्दै आएका १९ जना पसलेहरुलाई गत आठ महिनादेखि सडकमा पुर्याएका छन् । उनले मंसिर २५ गते भाडा बृद्धि गरे । व्यवसायीहरुले सम्झौता नहुँदै भाडा बृद्धि गर्न नहुने माग राखि रहेकै बेला सिंहले पुस १२ गते विद्युत र पानी बन्द गराइदिएका थिए । जुन अहिले सम्म खोलीदिएका छैनन् ।

बैंकको ऋण काढेर लाखौ लगानी गरेका साना व्यवसायीहरुको बिक्रीका सामाग्रीहरु ८ महिनादेखि आफ्नोमा जफत गराएर सिंह एकपछि अर्को हुँदै मुद्धा मामिला गरेर हैरान पार्दै आएका छन । ती व्यवसायीहरुले सुरुदेखि नै सम्झौता गरौं भनेर मौखिक र लिखित माग गर्दा पनि सम्झौता गर्न नमान्नु नै विवादको प्रमुख कारण बन्दै आएको छ ।- रातोपाटी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।