Jan 31, 2023
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ। बैठकमा महाधिवेशनको विषयमाथि छलफल हुने बताइएको छ। यसअघि बुधबार बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो। क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदन पुनः समितिलाई फिर्ता पठाउने निर्णय बैठकले गरेको थियो।
क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्नका लागि थप एक दिनको समय दिँदै प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका थिए। ‘केही विषय थप मिलाउन सक्ने विषयलाई समितिले हेर्नुहुनेछ,’ शर्माले बुधबारको बैठकपछि भनेका थिए।
समितिले आज पुनः प्रतिवेदन बुझाउने र आवश्यक निर्णय गरिने शर्माले जानकारी दिए। महाधिवेशन सम्पन्न गर्नका लागि आजको बैठकले आगामी कदम चयन गर्ने उनले बताए। अब कांग्रेस महाधिवेशनको मिति आउन ३४ दिन बाँकी छ। यसअघिको महाधिवेशनमा ३३ वटामा विवाद रहेका उल्लेख गर्दै शर्माले करिब १६ वटा निर्वाचन क्षेत्रमामात्र विवाद देखिएको उनले जानकारी दिए। प्रवक्ता शर्माले क्रियाशील सदस्यताका विषयमा देखिएको विवाद समाधान हुन नसके विवादित जिल्लामा पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिन सक्ने भए पनि सकेसम्म विवाद मिलाउनेमा नै आफूहरुको ध्यान केन्द्रीत रहेको बताए।
प्रतिकृया दिनुहोस्