ताजा अपडेट »

टोकियो ओलम्पिक : आज टेबल टेनिस र ब्याडमिन्टनमा नजर

विहीबार, १४ साउन २०७८, ०९ : ४७

बुटवल । टोकियो ओलम्पिकमा बिहीबार पौडीको पाँच स्वर्ण पदकको टुङ्गो लाग्नेछ ।पुरुष १०० मिटर फ्रिस्टाइलमा साबिक विजेता अस्ट्रेलियाका केल चाल्मर्स, विश्व विजेता अमेरिकाका केलेब ड्रेसेल र रुस ओलम्पिक कमिटीका क्लेमेन्ट केलेसेलोभको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।यसैगरी महिलाको ४ गुणा २ सय मिटर फ्रिस्टाइल रिलेमा अस्ट्रेलियाले आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गर्ने सम्भावना प्रबल रहेको छ ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा अस्ट्रेलियाका सेवास्टीन कुक, नेदरल्यान्ड्सका आर्नेट क्रामनेगो र विश्व च्याम्पियन रुस ओलम्पिक कमिटीका एन्थन चुकोभका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

महिला २०० मिटर फ्रिस्टाइलमा झङ झिइलाई बलियो मानिएको छ । पुरुष ८०० मिटर फ्रिस्टाइलमा युक्रेनका मिखायल रोमाञ्चुकलाई बलियो मानिएको छ ।

जिम्न्यास्टिकको महिला अलराउन्ड स्पर्धा बिहीबार हुनेछ । अमेरिकी स्टार सिमोन वाइल्स उपस्थित नहुने भए पनि रुस ओलम्पिक कमिटीले स्वर्ण जित्ने सम्भावना प्रबल रहेको छ ।बिहीबार नै महिला क्यानोइको फाइनल खेल हुने छ । फेन्सिङको महिला टिम फोइलको पदकको टुङ्गो पनि बिहीबार नै लाग्नेछ ।

जुडोको महिला ७८ र पुरुष १०० किलोको स्पर्धा हुनेछ । जुडोमा आयोजक देश जापान बलियो रहेको छ । रोइङमा महिला र पुरुषको पेयर फाइनल तथा लाइटवेट मेन पुरुष र महिलाको स्पर्धा गरी ४ स्वर्णको टुङ्गो लाग्नेछ । सुटिङमा ट्यापको महिला र पुरुषको फाइनल बिहीबार नै हुनेछ ।

टेबल टेनिसको महिला सिङ्गलको सेमिफाइनल र फाइनल खेल बिहीबार हुनेछ । यो स्पर्धामा चिन बलियो रहेको छ ।ब्याडमिन्टनमा मिश्रित युगलका सेमिफाइनल तथा महिला एकलका प्रिक्वार्टर फाइनल खेल सञ्चालन हुनेछ । महिला युगलका क्वार्टर फाइनल खेल हुनेछ । पुरुष एकलको प्रिक्वार्टर फाइनल खेल हुनेछ ।

बक्सिङको प्रिक्वार्टर फाइनल खेल बिहीबार पनि हुने छन् । बीएमएक्स साइक्लिङको क्वार्टर फाइनल हुनेछ ।टेनिसमा पुरुष युगलको सेमिफाइनल खेल हुनेछ । क्रोएसियाको दुई जोडी सेमिफाइनल प्रवेश गरेका कारण बिहीबार क्रोएसियाका लागि महत्वपूर्ण हुनेछ । महिला एकलको सेमिफाइनल पनि बिहीबार नै हुनेछ ।

महिला युगलको सेमिफाइनल पनि बिहीबार नै हुनेछ । महिला एकल र पुरुष एकलका क्वार्टर फाइनल खेल बिहीबार हुनेछन् ।टेबल टेनिस र ब्याडमिन्टनका पनि महत्वपूर्ण खेलहरू हुने भएकाले यस ओलम्पिकमा चीनको स्थानलाई बिहीबारको खेलले धेरै हदसम्म निर्धारण गर्नेछ । –एजेन्सीहरूको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।