ताजा अपडेट »

रुपन्देहीमा १५ सय बढी एड्स संक्रमित,परिवारबाटै उपेक्षित

विहीबार, १४ साउन २०७८, ०८ : ३१
2 Shares



भैरहवा । एड्स संक्रमितलाई अझै पनि परिवारबाट नै असहयोग हुने गरेको एक कार्यक्रमका वक्ताहरुको भनाई रहेको छ । एड्स हेल्थकेयर फाउण्डेशन नेपालको भैरहवामा आयोजित जिल्ला स्तरिय सल्लाहकार समितिको बैठकमा बोल्ने वक्ताहरुले एड्स संक्रमितको उपचार, उनिहरुको हेरचाह र शिक्षामा घरकै परिवारले उचित साथ नदिएको भनाई राखेका हुन् ।

परिवारबाटै साथ नपाएका यस्ता संक्रमितहरु परिवार र समाजमा गरिने भेदभावको कारण अहिले पनि खुलेर नआएको हुदा समस्या भइरहेको उनिहरुको तर्क थियो । एड्स हेल्थकेयर फाउण्डेशन नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराईले अझै पनि एडस् संक्रमित जो प्रादेशिक अस्पताल बुटवल मात्र एआरटी उपचारमा रहेका छन् उनिहरु रोजगारीको सिलसिलामा भारत लगायतका देशमा जाने हुँदा उपचारमा समस्या भइरहेको बताए ।

भट्टराईले प्रादेशिक अस्पताल बुटवलबाट अझै पनि १ हजार ३ सय ३९ जना र भैरहवा भिम अस्पतालबाट १ सय ८६ जना सक्रिय संक्रमितहरु एआरटि औषधि सेवन गरिरहेको जानकारी दिए । एड्स हेल्थकेयर फाउण्डेशन नेपालले जुलाई २०२० देखि जुन २०२१ सम्ममा २२ हजार २ सय जनालाई एचआइभी चेक गर्ने लक्ष्य राखेकोमा २० हजार ४ सय ५५ जनालाई चेकजाँच गरिएको उनले जानकारी दिए । यसरी चेकजाँच गरिएका मध्ये ९६ जना एचआईभी पोजिटिभ देखिएको र सबै अहिले उपचारमा समावेश गरिएको भट्टराईले जानकारी दिए ।

प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवाबाट औषधि सेवन गरिरहेका यस्ता संक्रमितहरुलाई लकडाउनको समयमा घरमै पुगे पनि सेवा प्रदान गरिएको थियो । सन २००८ मा स्थापना भएको एड्स हेल्थकेयर फाउण्डेशन नेपालले काठ्माण्डौको टेकु अस्पताल, चितवनको भरतपुर अस्पताल, रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल कैलालीको टिकापुर र सेती प्रादेशिक अस्पताल, कास्कीको पोखरा एकेडमी अफ हेल्थ साईन्सेज, बाँकेको भेरी अस्पताल, बाग्लुङ्गको धौलागिरी अञ्चल अस्पतालमा बिभिन्न गैरसरकारी र सरकारी निकायहरुसितको सहकार्यमा एआरटी सम्बन्धि सेवा प्रदान गरिरहेको छ । यस्तै डोटीको जिल्ला अस्पताल, पर्साको नारायणी सहायक क्षेत्रिय अस्पताल, सुर्खेतको प्रादेशिक अस्पताल, कपिलवस्तु अस्पताल र ललितपुरको स्पर्श नेपालमा पनि सेवा प्रदान गरि रहेको भट्टराईले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एचआईभी चेकजाँच र यसको उपचारलाई प्रभावकारी बनाउन प्रादेशिक अस्पतालमा बिग्रेको अवश्थामा रहेको सिडिफोर गणना गर्ने मेशीन मरम्मत र भाईरल लोड परिक्षणको लागी प्रदेशमै ब्यवस्था गर्नु पर्ने निष्कर्ष निकालिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले यो दुवै मेशीनको लागी आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा