ताजा अपडेट »

नागपञ्चमी :विहानैदेखि नागको पूजा-आजा गरी मनाइँदै

सोमबार, २० साउन २०७६, ११ : ०९
4 Shares

साउन २०,

ग्लोबल आवाज

बुटवल । आज नागपञ्चमी विहानैदेखि नागको पूजा-आजा गरी मनाइँदैछ । हिन्दु धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज नागको पूजा अर्चना गरी मनाइँदै छ ।घरको मूल ढोकामा नागको तस्बिरसहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजा आराधना गरिन्छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थानहरू पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नाग पूजा गर्ने गरिन्छ ।नागलाई विष्णु र शिवको प्रतीकका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै चल्दै आएको छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।