ताजा अपडेट »

के चक्कीका रूपमा कोभिड-१९ खोप लिन मिल्ने समय आउला ?

बुधबार, १३ साउन २०७८, ११ : ३२
2 Shares

काठमाडौँ । अहिले कोभिड-१९ बाट सुरक्षित रहनका लागि सुई मार्फत खोप लगाउनु पर्दछ। तर भविष्यमा त्यस्तो खोप सास तानेर इन्हेलरमार्फत वा औषधिको चक्कीबाट समेत प्राप्त गर्न सकिने हुन सक्छ।

दक्षिण स्विडेनको सबैभन्दा ठूलो विज्ञान पार्कको 'मेडिकन भिलेज' स्थित एउटा प्रयोगशालामा रसायन विज्ञ इन्गेमो एन्डरसन पातलो प्लास्टिकको इन्हेलर बोकिरहेकी छन्। त्यो इन्हेलरको आकार एउटा सलाईको बट्टा भन्दा पनि आधा छ। उनको टोलीले सो सानो आकारको उत्पादनले मानिसहरूलाई घरमै खोपको पाउडर स्वरूप प्रयोग गर्न मिल्ने बाटो खोल्दैछ जसले कोरोनाभाइरस विरुद्धको लडाइँमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

"यो सजिलो छ र उत्पादन गर्न पनि एकदम सस्तो छ," दमका बिरामीहरूलाई इन्हेलर बनाउने एउटा फर्मका प्रमुख कार्यकारी अधिकृत योहान वाबोर्ग भन्छन्।

'पाउडर' खोपको सम्भावना

आइकोनोभो नामक कम्पनीले रोग प्रतिरोधी क्षमताबारे अनुसन्धान गर्ने स्टकहोमको आइएसआर नाम गरेको कम्पनीसँग सहकार्य गरिरहेको छ। आइएसआरले कोभिड-१९ विरुद्ध सुख्खा पाउडर स्वरूपको खोप विकास गरेको छ।

यसले प्रयोगशालामा निर्माण गरिने कोभिड-१९ भाइरस प्रोटिनको प्रयोग गर्छ र त्यस्ता प्रोटिनले ४० डिग्री सेल्सियस तापक्रमसम्म थेग्नसक्ने बताइन्छ। फाइजर, मोडेर्ना र अष्ट्राजेनेकाले यी प्रोटिनका लागि आरएनए वा डीएनए कोड प्रयोग गर्छन्। सुख्खा पाउडर भण्डारण गर्नका लागि आवश्यक सर्तहरू विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म अनुमति दिएका तरल खोपहरू भन्दा फरक छन्। त्यस्ता तरल खोपलाई फ्रिजमा सार्नुअघि दह्रो ग्लासका सिसिहरूमा माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्छ नत्र तिनीहरूको प्रभावकारिता गुम्छ।

"सबैभन्दा महत्त्वपूर्ण उपलब्धि (पाउडर) खोप चिस्यान कायम नगरी सहजै वितरण गर्न सकिन्छ र यो स्वास्थ्य सेवा प्रदायक बिना नै दिन सकिन्छ," आइएसआरका संस्थापक तथा स्विडेनको अग्रणी स्वास्थ्य विद्यालय कारोलिन्सका इन्स्टिच्युटमा इम्युनोलोजीका प्राध्यापक ओला विन्क्विस्ट भन्छन्।उक्त कम्पनीले अहिले उसको खोप कोरोनाभाइरसको बेटा (दक्षिण अफ्रिका) र अल्फा (यूके) भेरिअन्ट विरुद्ध परीक्षण भइरहेको बताएको छ।

आइएसआरको सुख्खा खोपको पूर्ण सम्भाव्यताबारेको परीक्षण निष्कर्षमा पुग्न केही समय लाग्ने देखिन्छ। उक्त खोपले अहिले डब्ल्यूएचओले सूचीकृत गरेका खोपकै स्तरमा सुरक्षा दिन्छ कि दिँदैन भन्ने पनि परीक्षणहरूले बताउने भनिएको छ। अहिलेसम्म यो परीक्षण मुसामा मात्रै गरिएको छ। आइएसआर र आइकोनोभोले आगामी दुई महिनाभित्रै मानवमा पनि परीक्षण गर्नका लागि आवश्यक आर्थिक स्रोत जुटाएका छन्।

स्वास्थ्य समुदायमा यो जस्तै पाउडर खोप सफल हुन सके त्यसले कोरोनाभाइरसको विश्वव्यापी महामारी विरुद्धको प्रतिक्रियामा आमूल परिवर्तन ल्याउने र अरू रोगका खोपको भण्डारण र वितरण पनि सहज बनाउने भन्दै उत्साह व्यक्त गरिएका छन्।

"पुग्न अप्ठेरा ठाउँहरूमा यसले अवसर सृजना गरेको छ र सम्भवतः मानिसहरूले चिसो बाकसलाई साइकल वा उँटमा बोकेर लैजानुपर्ने अवस्था हुँदैन," सन् २०१६ देखि २०२० सम्म युनिसेफका विश्वव्यापी स्वास्थ्य प्रमुख रहेका स्वार्टलिङ पिटरसन भन्छन्।

विश्वभरका कम्पनीहरूले सुख्खा खोपको अनुसन्धान गरिरहँदा पिटरसनले आइकोनोभोको कार्यालय भन्दा १० मिनेट पर स्थापित अर्को नयाँ कम्पनीले विकास गर्दै गरेको 'सम्भावनायुक्त प्रविधि' बारे चर्चा गरे। उक्त नयाँ जिक्कमले अहिलेका वा भविष्यका तरल खोपहरूलाई तिनको प्रभावकारिता कमजोर नहुने गरी हावाको माध्यमबाट सुख्खा बनाउने विधिको परीक्षण गरिरहेको छ।

यसबाट विकासशील देशहरूमा खोपको अन्तिम चरणको उत्पादन स्वदेशी स्तरमा नै गर्न मिल्नेछ। र यसरी निर्मित खोपको पाउडरलाई कीटाणु मुक्त शुद्ध पानी अर्थात् 'स्टेराइल वाटर'मा खोप लगाउनु ठिक अघि मिसाएर सुईको माध्यमबाट दिन सकिनेछ।

तर यो प्रविधिले नाकबाट स्प्रे गर्ने देखी चक्कीका रूपमा अरू विभिन्न प्रकारको खोप दिने विकल्पहरूका लागि बाटो खोल्ने जिक्कमका प्रमुख कार्यकारी अधिकृत गोरान कोनराडसनले बताए। सैद्धान्तिक रूपमा त्यो सम्भव रहेको भन्दै उनले त्यसका लागि अझै अनुसन्धान गर्नुपर्ने बताए।

'हरित विकल्प'

कोरोनाभाइरस विरुद्ध एक मात्रा लगाउँदा पुग्ने खोप बनाएको जेनसेनले जिक्कमको हावाको माध्यमबाट सुख्खा बनाउने क्षमतालाई विश्लेषण गर्ने एउटा प्रारम्भिक अध्ययनमा काम अघि बढाइसकेको छ।

उक्त अग्रणी औषधि उत्पादकले यो कोरोनाभाइरस वा अरू सङ्क्रामक रोगसँग सम्बन्धित भए वा नभएको बताएको छैन। तर एक जना प्रवक्ताले भविष्यका खोपको 'वितरण, प्रयोग र मापदण्ड पालनामा नयाँ विधिको प्रयोगको सम्भाव्यता अन्वेषण गर्न' उक्त अध्ययन गरिएको जनाएको छ।

पाउडर प्रविधिले सुईदेखी डराउनेहरूलाई पनि सहयोग गर्नेछ भने तरल खोपको भण्डारणका लागि आवश्यक विद्युतको उपयोग कटौती गरेर 'हरित विकल्प' प्रदान गर्नेछ। र यसले विश्वव्यापी खोप पहुँचलाई पनि सघाउने ठानिएको छ।

खोपको विकासलाई गति प्रदान गर्न सघाउँदै आएको एउटा गैरनाफामुलक संस्था 'कोएलिशन फर एपिडेमिक प्रिपेअर्डनेस इनोभेसन' (सेपी) की प्रवक्ता इन्ग्रिड क्रोमेननले विश्वव्यापी महामारीसँग जुझ्न सबै जनसङ्ख्यासम्म खोपको पहुँच पुर्‍याइनुपर्ने बताइन्।

उनले पाउडर खोपहरू अझै पनि प्रारम्भिक चरणमा नै रहेको उल्लेख गर्दै 'अझै धेरै काम गर्नुपर्ने' बताइन्। त्यसलाई व्यवहारिक कार्यान्वयनमा ल्याउन र उत्पादन बढाउन अझै चुनौती रहेको उनको भनाइ छ। "तर यदि यो सफल भयो भने यसले खोपको पहुँच सुदृढ बनाउन, खोप खेर जान नसक्ने अवस्था निम्त्याउन र खोप कार्यक्रमलाई कम खर्चिलो बनाउन मद्दत गर्नेछ।"-बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।