ताजा अपडेट »

यातायात व्यवसायीको मनोपली, सरोकारवाला मौन

आइतबार, १० साउन २०७८, १७ : ०२
8 Shares

गुल्मी जिल्लाका अधिकांश ठाउँहरूमा सवारी साधनहरूले चर्को मूल्यमा भाडा लिदै आएको जन गुनासो छ । गुल्मी जिल्लाका विभिन्न ठाउँदेखि सदरमुकाम तम्घाससम्मको भाडा दर एउटा छ कागजमा, तर यातायात व्यवसायीहरूले सेवाग्राहीहरूसँगबाट लिने भाडादर अर्कै छ । जब बर्खाको समय सुरु हुन्छ,तब व्यवसायीहरूले सेवाग्राही माथि ब्रम्हलुटको सुरु हुन्छ ।

यो अवस्था विगतका वर्षहरुदेखि नै हो। कोरोना माहामारीको पहिलाको भाडा र अहिलेको भाडामा तेब्बर बढीको भिन्नता छ । कोरोना माहामारीको चपेटामा परेका आम नागरिक जसले रोजगारी गुमाएका छन्, जसको नियमित आयस्रोत छैन तिनिहरु लाई यातयात व्यवसायीहरूले पनि अवैधानिक रुपमा भाडा बढाई ज्यादती गरेका छन् ।

गुल्मीको इस्मा रामकोटदेखि सदरमुकाम तम्घासको सम्मको दूरी लगभग २२ किलोमिटर जति छ, कोरोना माहामारी पूर्व यातयात व्यवसायी संघले रामकोटसम्म तोकेको भाडादर १५० थियो। भने अहिलेको भाडा दरमा कुनैपनि एकरूपता छैन, यातायात व्यवसायीले मान्छे अनुसार मनलाग्दी भाडा ३००/४००/५०० सम्म असुली गर्दै आएको अवस्था छ । यो त एउटा प्रतिनिधि क्षेत्र मात्र हो ।
यस्ता किसिमका घटना गुल्मी जिल्लाका हरेक ठाउँमा भएको अवस्था छ। हालै नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य मा वृद्धि गरेको छ। सोही अनुसार भाडा वृद्धि गरेपनि पहिले भन्दा दोब्बर तेब्बर भाडा हुँदैन । सदरमुकामसम्म जान हिँडेर सकिदैन भाडाका गाडी चढ्नै पर्छ अनि बाध्य भएर मनलाग्दी भाडा तिर्नैपर्ने हुन्छ ।

यो समयमा यातायात व्यवसायीको भाडादर काहाँ कति हो नागरिक कसैलाई पनि थाहा छैन। यातयात व्यबसायीले आम नागरिकलाई नभएको भाडा लिँदा अनुगमन गर्ने टोली कहाँ छ, स्थानीय सरकार कहाँ छ, यातायात व्यवसायी संघ काहाँ छन, गुल्मीमा खोज पत्रकारीता कता छ ? कुनै नियमकारी संस्था भएको अनुभूति कसैलाई पनि छैन।

वास्तवमा भन्ने हो भने आम नागरिकका समस्या सुन्ने कुनैपनि निकाय नै नभएको अवस्था छ । व्यावसायीले जे गर्दापनि हुने जति भाडा असुली गर्दा पनि हामी लाचार भएर भाडा तिर्नुपर्ने यो कस्तो बिडम्बना हो। प्रहरी प्रशासन ट्राफिक प्रहरी र यातयात व्यवासायी संघको आवश्यकता आखिर केका लागि हो । नागरिकबाट आएको करबाट तलब खाएर बस्नको लागि मात्र पक्कै राखिएको हैन होला सायद ,आम नागरिकका पीडा कसले सुनिदिने नियमनकारी संस्थाहरूले आम नागरिकका पीडाहरू किन नजरअन्दाज गरी बसेका छन् । यिनीहरूलाई कसले गर्ने प्रश्न कसले बनाउने हो जवाफदेही ?

हिउँदको समयमा प्रसस्त मात्रामा भाडाका गाडीहरू उपलब्ध हुन्छन् र तोकिएको भाडामा सेवा प्रदान गरेपनि वर्खामा बस,हाइस लगाएत ठूला सवारी साधनहरू कच्ची सडकमा जान सक्दैनन् अनि जीप व्यबसायीहरूको मनपरी सुरु हुन्छ । वर्षाद्को समयमा पनि प्रत्येक गाउँ–गाउँमा पुगेर सेवा गरेका छन यो सबल पक्ष हो सेवा प्रदान गर्दै गर्दा नभएको भाडा तोक्नु आम नागरिकप्रति गरेको अन्याय नै हो ।

जति–जति सडकहरूको स्तरोन्नती हुँदै गएको अवस्था छ । त्यति–त्यति सवारीसाधनको भाडा बढ्दै गएको छ । साँच्चै सर्वसाधरण नागरिक हरेक ठाउँबाट चपेटामा परेको अवस्था छ। जुन दलको सरकार आएपनि नागरिकलाई सास्ती नै छ। हिजो कम्यूनिष्टहरूले सरकार चलाए कांग्रेसले सरकार चलाउँदै छ । न हिजो केही भयो, न आज केही हँुदै छ, न भोलि केही होला आमनागरिक समस्याहरु जे को त्यहीँ छन् ।

हामी आम नागरिकहरू कांग्रेस र कम्यूनिष्ट पार्टीको रखेल मात्र बनेको स्थिती छ । अब जुटौं अनियमितता अत्याचार र थिचोमिचो पार्नेहरू विरूद्ध नागरिक स्वयम् आफैं जागरूप हुने नसके आम सर्वसाधारण नागरिकको पक्षमा वकालत गर्ने यहाँ वास्तवमै कोही पनि नरहेको अनुभूति भएको छ । –(लेखकले भोगेका आधारमा उनका निजी अनुभव हुन् ।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।