ताजा अपडेट »

सैनामैनाको विकासमा नयाँ आयाम, एकैदिन ३ ठूला आयोजनाको शुभारम्भ

आइतबार, १० साउन २०७८, १३ : ३४
28 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा शनिबार एकैदिन करोडौंका ३ आयोजनाको शुभारम्भ भएको छ । ती आयोजनाहरुले सैनामैनाको विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण आयाम थपिने विश्वास व्यक्त लिइएको छ । शनिबार सैनामैना–२ अवस्थित बोलबम धाम पुनःनिर्माणको उद्घाटन भएको छ भने सैनामैना–४ मुर्गियामा १५ सैय्याको अस्पताल निर्माणको काम सुरुवात गरिएको छ । यसैगरी सैनामैना–९ मा स्थापना गर्न लागिएको विद्युतीय सवारी साधन एसेम्बल स्थलको समेत भूमिपुजन भएको छ ।

प्यागोडा शैलीमामा बन्ने बोलबम धामकाे पुन:निर्माण
सैनामैना नगरपालिकाले धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरि गुरुयोजना बनाएर बोलबम धामको पुनःनिर्माण गर्न लागेको हो । पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भर्चूअल माध्यमबाट धाम पुनः निर्माणको उद्घाटन गरेका छन् । पश्चिमको पशुपति नाथले चिनिएको पर्राेहा धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरि पुनः निर्माण गरिने उनले बताए । नेकपा एमालेका उपमहासचिब समेत रहेका पौडेलले पुनः निर्माणका लागि आवश्यक स्रोत सुनिश्चितताको प्रतिवद्धता व्यक्त गरे ।

धामको विकासको लागि गुरुयोजनाको निर्माण भएको र सोही अनुसारको विकास गरिने बताउँदै उनले गुरुयोजना पूरा गर्नका लागि स्थानीय, जनप्रतिनिधि, राजनीतिक दलहरुको साथ र आवश्यकता रहेको बताए । विकासका दृष्टिकोणले सैनामैनालाई पछि पर्न नदिने पौडेलले बताउँदै ब्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने दाबी गरे ।

बोलबम धाम क्षेत्रको समग्र विकासका लागि गुरुयोजना तयार गरि पहिलो चरणमा मन्दिर पुनःनिर्माणको काम सुरु भएको सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए । बहुवर्षीय ठेक्का लगाएको पुनःनिर्माणका लागि २ वर्षमा पहिलो चरणको काम सम्पन्न हुने छ । पहिलो चरणको कामका लागि ६ करोड ५७ लाखमा ७० प्रतिशत संघीय र ३० प्रतिशत स्थानीय सरकारको लागत साझेदारीमा बोलबम क्षेत्र विकास परियोजना स्विकृत भएको छ । दोश्रो चरणमा ८ करोडको लगानीमा थप निर्माण हुने गरि बोलबम क्षेत्र विकास कोष खडा गर्ने गरि विकास गरिने नगर प्रमुख कार्कीले बताए ।

मन्दिर क्षेत्रमा जिर्ण, अब्यवस्थित रहेका संरचना हटाई नयाँ निर्माण गर्ने र बाँकी संरचनाहरुको उचित ब्यवस्थापन गर्नका लागि गूरुयोजना निर्माण गरिएको सैनामैना नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सुरज न्यौंपानेले जानकारी दिए । २३ कठ्ठा जग्गामा गुरुयोजना तयार भएको र प्यागोडा शैलिको कलात्मक काठ, ढुङ्गा, ईट्टाको प्रयोग भई दुई तामाको छाना सहित मूल मन्दिरको निर्माण हुने उनले जानकारी दिए । मूल मन्दिर ५४ फिटको हुने छ भने ५७ फिटको त्रिशुल डमरुको निर्माण गरिने छ । मन्दिरको पुनःनिर्माणको लागि धर्म–आर आर जेभिसँग २०७९ साल मंसिर २९ सम्म निर्माण कार्य सम्पन्न हुने गरि ठेक्का सम्झांैता भएको न्यौंपानले जानकारी दिए ।

मुर्गियामा १५ शैय्याको अस्पताल शिलान्यास
रुपन्देहीको सैनामैना नगरपालिकामा १५ शैंयाको आधारभूत अस्पताल निर्माणको काम सुरु भएको छ । ५० शैंया क्षमतामा सञ्चालन गर्न सक्ने गरि पुर्वाधारको डिजाईन अनुसार निर्माण हुने अस्पतालको सैनामैनाका मेयर चित्रबहादुर कार्कीले शिलान्यास गरेका हुन् ।

सैनामैनामा बन्ने १५ सैय्याको असप्तालको शिलान्यास गर्दै सैनामैनाका मेयर चित्रबहादुर कार्की

प्रत्येक पालिकामा एक-एक वटा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार अस्पताल निर्माणको काम सुरु भएको कार्कीले जानकारी दिए । २ वर्ष भित्र सक्ने गरि ठेक्का सम्झौंता भएको अस्पताल मुर्गियामा रहेको कृषि तथा पशु कार्यालयको खाली जग्गामा निर्माण हुने भएको हो । पहिले नै अस्पताल निर्माणको काम सुरु गर्नू पर्ने भएपनि १५ शैंयाको अस्पताललाई ५० शैंयाको क्षमताको निर्माण गर्ने गरि रि–डिजाईन गराउँदा ढिलाई भएको र बहुवर्षीय ठेक्का प्रक्रिया पूरा गरेर निर्माण सुरु गरिएको हो ।

निर्माण हुने अस्पताल भवन भित्र बहिरङ्ग विभाग (ओपीडी) अन्तरङ्ग विभाग (आईपिडी), अपरेशन थियटर, इमरजेन्सी, प्रसुति सेवा लगायतका इकाई रहने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । अस्पताल निर्माणको लागि श्याम सुन्दर बुटवललाई ११ करोड ३६ लाख २४ हजारमा ठेक्का सम्झौंता भएको सैनामैना नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सुरज न्यौंपानेले जानकारी दिए । असार ७ गते ठेक्का सम्झौंता भएको र २०८० साल साउन १० गते भित्र अस्पतालको भवन निर्माण हुने उनले बताए ।

सैनामैनामा विद्युतीय सवारी साधान एसेम्बल प्लान्ट
सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि सैनामैना नगरपालिकामा एसेम्बल प्लान्ट निर्माण सुरु गरेको छ । नेपाल सरकारले विश्वका १० उत्कृष्ट विद्युतीय गाडी निर्माताहरु नेपाल आएमा सहयोग गर्ने घोषणा गरेसंगै सुन्दर ट्रेडर्सले चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनीसंग सहकार्य गरेर नेपालमै एसेम्वल प्लान्ट राख्ने योजना सहित प्यान्ट निर्माणको काम सुरु भएको छ ।

विद्युतीय सवारी एसेम्बल प्लान्टको भूमिपुजनपछि सम्बोधन गर्दै सैनामैनाका मेयर चित्रबहादुर कार्की

सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले प्लान्टको शिलान्याश गर्दै रोजगार सिर्जना गरी आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।अहिलेसम्म नेपालमा सार्वजनिक विद्युतीय यातायात सञ्चालन गर्ने एक मात्र कम्पनी सुन्दर यातायात हो । सैनामैना नगरपालिका प्रमुख कार्की र सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाका बीच सो सम्वन्धी सम्झौता भएपछि नेपालमा पहिलोपटक एसेम्वल प्लान्ट स्थपनाको लागि काम सुरु भएको हो ।

जग्गाको अभावमा सुन्दर यातायातले चाहेर पनि यस्तो उद्योग स्थापना गर्न सकेको थिएन । प्लान्ट स्थापनाका लागि सैनामैना नगरपालिकाले करिब १० विगाहा जग्गा उपलब्ध गराउनेछ । अहिलेसम्म वैदेशिक लगानी भित्राउने नगरपालिकामा सैनामैना पहिलो भएको नगर प्रमुख कार्कीले दाबी गरे । प्लान्टमा प्रत्यक्ष रूपमा ३ सय जनाले रोजगारी पाउनेछन् । जसमा २ सय ५० जना नेपाली कामदारले प्रत्यक्ष रोजगारी पाउने कार्कीको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।