ताजा अपडेट »

हेटौँडा सिमेन्ट उद्योगद्वारा एक अर्ब ४० करोड बराबरको सिमेन्ट बिक्री

आइतबार, १० साउन २०७८, ११ : १२

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । 

सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो बराबरको आर्थिक कारोवार गरेको हेटौँडा सिमेन्ट उद्योगले जनाएको छ । उक्त आवमा कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरानाको असहज परिस्थिति, पुरानो मेसिनरी उपकरण र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।

उद्योगका अनुसार विसं २०७७ साउन महिनामा एक लाख ५१ हजार १८३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ भने भदौमा एक लाख ३९ हजार ९६६ बोरा र असोजमा एक लाख ३२ हजार ७९६ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ ।  यसैगरी २०७७ कात्तिकमा एक लाख एक हजार ९९३ बोरा, मङ्सिरमा एक लाख ४१ हजार ३७० बोरा र पुसमा एक लाख ८४ हजार ३३९ बोरा सिमेन्ट उद्योगबाट बिक्री भएको देखिन्छ ।
 
उद्योगका अनुसार विसं २०७७ को माघमा एक लाख ५० हजार ५९८ बोरा, फागुनमा एक लाख ६४ हजार ७०९ बोरा सिमेन्ट बिक्री भएको छ भने चैतमा दुई लाख सात हजार ८१३ बोरा सिमेन्ट बिक्री भएको देखिन्छ ।  विसं २०७८ वैशाखमा दुई लाख ३० हजार ८८ बोरा, जेठमा एक लाख २६ हजार ५३१ बोरा र असारमा एक लाख २२ हजार ५३१ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ । 

उद्योगका विभिन्न चार स्थानमा चुनढुङ्गा खानी छ । यद्यपि उद्योगले गत आवमा आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे र धादिङको जोगिमाराबाट मात्र चुनढुङ्गा ल्याएको थियो । उद्योगले सो आवमा कूल एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य लिए पनि कूल एक लाख मेट्रिक टन मात्र क्लिङ्कर उत्पादन गरेको उद्योगले जनाएको छ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा विसं २०३३ मा स्थापना भएको यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत शेयर छ ।  उद्योग लामो समयदेखि नाफामा जान सकेको छैन । यद्यपि उद्योगलाई नाफामा लैजान अन्य निजी क्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योगसरह नयाँ प्रविधि जडान गर्ने गरी विकास गर्न आवश्यक रहेको महाप्रबन्धक सिंहले जानकारी दिए । 

हेटौँडा सिमेन्ट उद्योगअन्तर्गत करिब १०१ बिघा क्षेत्रफलमा उद्योग र आवास क्षेत्र रहेको छ भने करिब २०० बिघा क्षेत्रफल विभिन्न स्थानमा उद्योगका लागि आवश्यक कच्चा पदार्थ खानी (चुनढुङ्गा) रहेको क्षेत्र छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी छ ।

यस उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिकरूपमा ठूलो नोक्सानीसहित सञ्चालन हुँदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगमा आर्थिकरूपमा नोक्सानी हुँदै आएको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु साहले बताए । 

उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक करिब रु दुई अर्ब बराबरको वार्षिक आम्दानी देखिन्छ भने करिब दुई अर्बभन्दा बढी वार्षिक खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चा पदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ ।

उद्योगमा स्थापना गरिएको प्रविधि निकै पुरानो भए पनि जर्मन मोडलको हो । सिमेन्ट उत्पादनका दृष्टिले यो प्रविधिलाई विश्वमै उत्कृष्ट मानिन्छ । तोकिएको गुणस्तर मापदण्ड पुगेका कच्चा पदार्थलाई मात्र प्रयोगशालाले स्वीकार गर्दछ । यद्यपि निजी क्षेत्रको जस्तो अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले गुणस्तर उद्योगको मुख्य प्राथमिकता रहेको उद्योगले जनाएको छ ।

उद्योग प्रशासनका अनुसार हेटौँडा सिमेन्टको माग मुलुकका मुख्य शहरमा अत्यधिकरूपमा बढी भएको पाइन्छ । काठमाडौँमा हेटौँडा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएका घरमा विसं २०७२ को विनाशकारी भूकम्पबाट कम क्षति भएको पाइएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादित सिमेन्टको माग बढेको उद्योगको दाबी छ ।

 विसं २०३३ मा स्थापित उद्योगले २०४२ बाट व्यावसायिक उत्पादन शुरु गरेको  थियो । उद्योगमा हाल २८५ स्थायी र करिब १०० ज्यालादारी कर्मचारी तथा मजदुर कार्यरत छन् ।

रासस
लेखकको बारेमा
रासस