ताजा अपडेट »

मिडियामा समानुपातिक सहभागितालाई प्राथमिकता दिइने

आइतबार, १० साउन २०७८, ११ : ०२
2 Shares

काठमाडौँ । विभिन्न सञ्चारमाध्यमका सम्पादकले दलित समुदायले भोग्दै अएको जातीय भेद्भाव तथा छुवाछूतका विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जागरण मिडिया सेन्टरले सेन्टरले आयोजना गरेको ‘दलित सवाल र सम्पादक’ विषयक दुई दिने गोष्ठीको समापन अवसरमा आज ११ बुँदे नगरकोट प्रतिबद्धता पत्र जारी समारोहमा उनीहरुले सरकारी तथा निजी मिडियामा संविधान र समावेशीकरणको भावना अनुरुप दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितताका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।

“मिडिया हाउसको सम्पादकीय नीतिमा जातीय भेद्भाव तथा छुवाछूत, लैङ्गिकलगायत सबै प्रकारका विभेदका विषयलाई प्राथमिकता दिन, दलित तथा सामाजिक विट निर्माणमा प्रतिबद्ध हुँदै राष्टिय आमसञ्चार नीतिलाई सामाजिक बनाउँदै यसका प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा प्रतिवद्ध छौँ”। प्रतिबद्धतापत्रमा उललेख छ । यसैगरी प्रतिबद्धता पत्रमा सरकारी सञ्चारमाध्यम गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिलगायतको सञ्चालक समितिमा हुने नियुक्ति समावेशी सिद्धान्तको आधारमा र सम्पादकीय समूहमा दलित समुदायको सहभागिता सुनिश्चित गर्न गराउने उल्लेख छ ।

विसं २०६९ मा गठित सञ्चार माध्ययमलाई समावेशीकरण गर्नेसम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन र त्यसभन्दा अघि गठन भएको उच्चस्तरीय समावेशी मिडिया आयोगको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्न गराउन पैरवी गर्ने सम्पादकहरुले बताए । सो अवसरमा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले आफू आबद्ध मिडिया हाउसलाई सबै हिसाबले समावेशी बनाउनका लागि सक्दो प्रयास गर्ने बताए ।

गोरखापत्र दैनिकका कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेले मिडियामा दलित समुदायको सहभागिता र विषयवस्तु सम्बोधनका लागि नीतिगत व्यवस्थामा जोड दिनुपर्ने बताए । सेन्टरका अध्यक्ष कमला विश्वकर्माले सेन्टरले विगत लामो समयदेखि दलित समुदायको विषयमा लेख्न सक्ने पत्रकार उत्पादनमा जोड दिँदै आएको जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस