ताजा अपडेट »

महामारीले घटे आधा पर्यटक

शनिबार, ०९ साउन २०७८, ११ : १३
4 Shares

चितवन । कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो । चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६/०७७ मा यो सङ्ख्या एक लाख ८२ हजार ४३५ रहेको छ । निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको सङ्ख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रमा घुम्न आउनेको तथ्याङ्क राख्ने गरिएको छैन ।

कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ पर्यटकले निकुञ्ज घुमेका थिए तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका एक हजार ३६४ पर्यटक र अन्य मुलुकका एक हजार २४४ ले निकुञ्ज घुमेको तथ्याङ्क छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कोरोना सङ्क्रमणका कारण पर्यटक आगमनमा कमी आएको बताए । अघिल्लो वर्ष मुख्य सिजनसम्म पर्यटक आएको भए पनि गत वर्षभर नै प्रभावित बनेकाले पर्यटकको सङ्ख्यामा कमी आएको उनले जानकारी दिए । गत आवमा विदेशी पर्यटक आउन नपाउँदा सङ्ख्या निकै कम भएको हो । लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो भने गत वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । केही दिनमा नै प्रवेश खुलाइने बरालले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षात्को समयमा निकुञ्ज बन्द हुने भए पनि सामुदायिक वनका गतिविधि खोलिने छ ।

रासस
लेखकको बारेमा
रासस