ताजा अपडेट »

ओमसतियाको गाउँसभा साउन १३ गते

शुक्रबार, ०८ साउन २०७८, १६ : ३४
8 Shares

भैरहवा । रुपन्देही जिल्लामा गाउँ सभा गर्न नसकेको ओमसतिया गाउँपालिका अन्ततः साउन महिनामा हुने भएको छ । बजेट सीमाको बिषयलाई असन्तुष्ट भएका वडा अध्यक्षहरुलाई १ करोड २५ लाख बराबरको बजेट खर्च गर्ने सिमा निर्धारण गर्ने गरि आगामी साउन १३ गते गाउँपालिकाको गाउँसभा तोकिएको छ । यस संगै वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष बिच रहेको चर्को असमझदारी पनि अन्त्य हुने अपेक्षा गरिएको छ । यी दुई पक्ष बिच रहेको असमझदारीका कारणले नै तोकिएका समयमा पनि गाउँपालिकाको गाउँसभा हुन सकेको थिएन । अन्तिम बजेट भएको भन्दै वडा अध्यक्षहरु निर्धारित बजेटको अधिकांश रकम मागेपछि ओमसतियाको गाउँसभा नै प्रभावित बनेको थियो । ओमतियामा ६ जना वडा अध्यक्ष सहित २५ गाउँसभा सदस्यले गाउँसभा बाहिष्कार गरेको कारण असारको १० गते गाउँसभा तोकिए पनि सो मितिमा हुन पाएको थिएन ।

असन्तुष्ट वडा अध्यक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरेर गाउँपालिका अध्यक्षले आफ्नो तानाशाही निति नसच्याए सम्म सभा गर्न नदिने चेतावनी दिएका थिए । गाउँपालिका अध्यक्ष सहित प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल, लेखा अधिकृत कमल शर्माको मिलेमतोमा सुचना लुकाउने तथा आर्थिक अनियमितता गरेकोले विगतको आय ब्यय विवरण प्राप्त नभए सम्म गाउँसभा बहिष्कार गर्ने उनिहरुको चेतावनी थियो । गाउँपालिकाले जवरजस्ती गाउँसभा बोलाउने सम्भावना देखेर वडा अध्यक्षहरुले उच्च अदालतमा निशेषद्या परमादेशको मुद्दा दिएका थिए । सोही बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल ईजलासले “प्रचलित कानून व्यवस्था अनुसार गाउँसभाको बैठक बोलाउनु र प्रचलित कानूनी ब्यवस्था विपरीत हुने गरि गाउँसभाको बैठक नगर्नु नगराउनु भनि विपक्षीहरुका नाउमा उच्च अदालतबाट मिति २०७८÷०३÷१५ गते जारी गरिएको अल्पकालीन आदेशलाई निरन्तरता दिईएको छ ।” भन्ने परमादेश जारी गरेको छ ।

वडा अध्यक्षहरुले २ वडामा खर्च गर्नको लागी २ करोडको माग राखेको गाउँपालिका अध्यक्षको भनाई थियो । सिमित बजेटको कारण ८० लाख भन्दा बढी बजेट वडामा दिन नसकिने अडान गाउँपालिकाको अध्यक्षको रहे पनि अहिले दुवै पक्ष १ करोड २५ लाख खर्च गर्ने गरि सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले जनाए । कार्यपालिका बैठकमै सो बिषयमा सहमति भएको र गाउँसभा सहज रुपमा गर्न वडा अध्यक्षहरुले मुद्दा फिर्ता लिने सहमति समेत भएको पौडेलले जानकारी दिए । गाँउपालिका अध्यक्ष र वडा अध्यक्षहरु बिच बजेट सिलिङ तोकिएर सहमति भएको वडा नम्ब ३ का वडा अध्यक्ष चन्नर प्रसाद यादवले पुष्टि गरेका छन् । उनले अहिले वडा अध्यक्षहरुले प्रत्येक वडामा १ करोड २५ लाख खर्च पाउने गरि सिलिङ दिने र तोकिएको समयमा गाउँसभा गर्ने सहमति भएको बताए । यस्तै गाउँसभा आगमाी १३ गते हुने भनेर आधिकारीक पत्र र एसएमएस समेत पाएको यादवले बताए ।

निर्धारित समयमा गाउँसभा नहुदा गाउँपालिका सञ्चालनको बिषयमा अन्यौलता छाएको थियो । विकास बजेट मात्र हैन, बजेट नै पारीत नभए पनि गाउँपालिकाले कुन आधारमा राजस्व उठाउने भन्ने बिषयमा समेत स्पष्ट नहुदा मंगलबार सम्म कुनै पनि राजस्व नउठाएको यादवले बताए । पछि स्थानीयको सेवा अवरुद्ध हुन थाले पछि गत बर्षको राजस्व अनुसार नै रसिद काट्न थालेको उनले बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले गाउँपालिकाले बनाएको “आर्थिक ऐन २०७७” अनुसार गत बर्षकै आधारमा राजस्व असुली भै रहेको जानकारी गराए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा