ताजा अपडेट »

गैडहवामा ५१ छात्रालाई साईकल, शिक्षाप्रति छात्राहरुको आकर्षण बढ्ने अपेक्षा

शुक्रबार, ०८ साउन २०७८, १३ : ३६
2 Shares

भैरहवा । छात्राहरुलाई अध्ययनमा रुचि जगाउन र विद्यालयमै टिकाउन गैडहवा गाउँपालिकाले प्रोत्साहन स्वरुप ५१ जना छात्रालाई साईकल वितरण गरेको छ । गैडहवा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत् कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ५१ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

८ कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने गाउँपालिका भरिका १७ वटा सामुदायिक विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीलाई साईकल वितरण गरिएको गैडहवा गाउँपालिकाका अध्यक्ष बछुलाल केवटले जानकारी दिए । ‘गाउँपालिका स्तरीय परीक्षा हुने भएकोले कक्षा ८ मा उत्कृष्ट ल्याउने छात्रालाई मात्र प्रोत्साहन स्वरुप साईकल प्रदान गरेका हौ ।’–केवटले भने, यसले विशेष गरि मधेश क्षेत्रमा छात्राहरुले विद्यालय आगमनमा निरन्तरता हुने अपेक्षा राखेका छौ ।

ग्रामीण क्षेत्रमा कतिपय छात्राहरु घरमा अभिभावकलाई सघाउने र त्यसपछि पैदल विद्यालय जाने गरेका कारण समयमै विद्यालय पुग्न नसकेको अवश्था रहेको बताउँदै उनले बितरित साईकलले थोरै भए पनि समस्या समाधान गर्ने बताए । अघिल्ला वर्षदेखी नै यो योजना ल्याउन खोजे पनि केही कठिनाईका कारण वितरण गर्न नसकेको उनले जनाए । साईकल पाएपछि छात्राहरुले पनि अब आफ्नो दैनिकी केही सहज हुने बताएका छन् ।

विद्यार्थी सन्ध्या यादवले अब समयमै विद्यालय पुग्न सकिनेमा ढुक्क भएको प्रतिक्रिया दिईन । “घरबाट हिडे देखी नै बिद्यालय समयमा पुग्ने नपुग्ने तनाव हुने गरेको थियो, अब ढुक्क भएर बिद्यालय पुग्ने भए ।” सन्ध्याले भनिन् । अहिले ८ कक्षामा उत्कृष्टले साईकल पाएपछि यसले अरु छात्राहरुलाई पनि पढाईमा मेहनत गर्न हौस्याउने उनको भनाई छ । गाउँपालिकाले आफ्नो नियमित बजेटभन्दा पनि शिक्षा शाखा मार्फत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले साईकल वितरण गरेको हो । गैडहवा गाउँपालिकाले यस अघि देखी नै “बेटी बचाओ बेटी बढाओ” अभियान सञ्चालन गरि रहेको छ । सोही अभियानलाई सहयोग हुने गरि यो कार्यक्रम गरिएको गाउँपालिका अध्यक्षको भनाई छ ।

गैडहवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भुवन राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरे, वडा नम्बर ३ का अध्यक्ष राम अजोर यादव, शिक्षा शाखा प्रमुख माधव राज पौडेल लगायतले बोलेको थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा