ताजा अपडेट »

तराईमा रोपिँदैछ गुर्जाे

शुक्रबार, ०८ साउन २०७८, १२ : ५८
2 Shares

काठमाडौँ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले पहाडी जिल्लामा तराईको गुर्जो रोपिएको हो । तराईका जिल्लामा भने पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । वाग्मती प्रदेशका काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानमा अभियानका रुपमा गुर्जो रोपेका अभियानकर्मी राजलवटले यो हप्ता तराईका जिल्लामा रोपण शुरु गरेका छन् ।

सिन्धुली, धनुषा, महोत्तरी, सिराहालगायतका जिल्लामा गुर्जो रोपण अभियान जारी रहेको उनले सुनाए । बिहीबार बर्दिवास नगरपालिका–४ का विभिन्न स्थानमा गरी ५०० बोट गुर्जो रोपिएको छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिलगायतको सक्रिय सहभागिता थियो । सो अवसरमा गुर्जोबाट बनेको चिया र धुलो पनि वितरण गरियो ।

आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जोको नर्सरी उत्पादन गरी विसं २०७६ चैतदेखिदेखि उनले रोप्ने अभियान शुरु गरे । कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलो औषधी वितरणलाई पनि राजलवटले अभियानका रुपमा अघि बढाए । कोरोना लागेकालाई नियमित गुर्जोबाट बनेको चिया र धुलोको सेवनले राम्रो गरेको सेवनकर्ताको अनुभव छ ।

गत वर्ष एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा रोप्ने अभियानको नेतृत्व गरेका राजलवटले त्यति नै सङ्ख्यामा चिया र धुलोका पोका वितरण गरे । यस वर्ष पनि १५ हजारभन्दा बढी गुर्जोका बिरुवा रोपण गरिएको जनाइको छ । करिब २० गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो यस वर्ष वितरण गरिएको छ । अभियानकर्मी राजलवटले आन्तरिक राजस्व कार्यालय धुलिखेलमा सरुवा भई आएपछि पनि गुर्जोका बिरुवा रोपण एवं चिया र धुलो वितरणलाई निरन्तरता दिए ।

आयुर्वेद शास्त्रले मानिस जुन स्थानमा जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँको प्रकृतिमा हुन्छ भन्ने मान्यता राख्छ । यसैगरी प्रत्येक वनस्पतिमा औषधीय गुण हुन्छ तर चिन्ने र संयोजन गर्ने गुण मानिसमा हराउँदै गएकाले विदेशबाट महँगो औषधि किन्न बाध्य हुनुपरेको छ । हाल कौडीको भाउमा जडीबुटीको कच्चा पदार्थ बाहिरिने र महँगोमा वार्षिक अर्बौंको औषधि आयात हुने गरेको छ । यसलाई रोक्न गुर्जोजस्ता जडीबुटीको प्रवद्र्दन गर्ने अभियानमा लागिएको राजलवटले सुनाए ।

रासस
लेखकको बारेमा
रासस