ताजा अपडेट »

कोभिड-१९ उत्पत्तिबारे थप अनुसन्धान प्रस्ताब चीनलाई अमान्य : अधिकारी

शुक्रबार, ०८ साउन २०७८, १२ : ३५
2 Shares

बेइजिङ । कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेको भएपनि यसलाई चीनले अनुमति नदिने बताएको हो ।

चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले उक्त प्रस्तावले ‘सहज बुद्धिको अनादर गरेको तथा विज्ञानसँग अभिमान’ गरेको टिप्पणी गरेका छन् । उक्त योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै जङले त्यसलाई चीनले स्वीकार्न नसक्ने बताए। सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस पत्ता लागेको चीनको वुहान सहरमा यस वर्षको जनवरीमा डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगी अनुसन्धान गरेको थियो । उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुनसक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।

बिहीवार एउटा पत्रकार सम्मेलनमा बोल्दै जङले डब्ल्यूएचओको प्रस्तावप्रति आश्चर्य प्रकट गर्दै त्यो प्रयोगशालासम्बन्धी चिनियाँ नियम उल्लङ्घन गरिएको दाबीमा केन्द्रित भएको बताए । चीनले त्यस्ता सर्तहरू मान्न ‘असम्भव’ भएको भन्दै जङले आफ्नो देशले कोरोनाभाइरस उत्पत्ति पत्ता लगाउने सन्दर्भमा छुट्टै विवरण बुझाइ सकेको बताए ।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ । वुहान इन्स्टिट्यूट अफ भाइरलजीको प्रयोगशालाका निर्देशक पनि उक्त पत्रकार सम्मेलनमा उपस्थित थिए । उनले कोरोनाभाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको तर्क गरे । सन् २०१८ मा उक्त प्रयोगशाला स्थापित भएदेखि त्यहाँबाट कुनै भाइरस पनि नचुहिएको अनि कुनै कर्मचारी पनि सङ्क्रमित नभएको उनको दाबी रहेको छ ।

कोरोनाभाइरसबारे थप अनुसन्धान गर्न र त्यसको उत्पत्ति पत्ता लगाउने विषयमा यूरोप अमेरिका लगायतका केही विकशित मूलुकले डब्ल्यूएचओलाई चर्को अन्तर्राष्ट्रिय दबाव दिइराखेका छन् । केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचरहरूलाई महामारीबारेको अनुसन्धान अझ राम्ररी गर्न निर्देशन दिएका थिए ।

रासस
लेखकको बारेमा
रासस